विद्यालयमा घट्दो उपस्थिति :छात्रालाई घाँसदाउरा, छात्र मजदुरी गर्न भारत
अभिभावकमा छोरीलाई पनि विद्यालय पठाउनुपर्छ भन्ने सोच कम छ । यसमा सामाजिक परम्परा र अन्धविश्वास, विद्यालयको पहुँच, गुणस्तरीय अध्ययन, आर्थिक अवस्थालगायत विभिन्न कारणहरू जोडिएर आउँछन् । पढ्न पाउने छात्राहरूले पनि घरको काम सकाएर मात्रै विद्यालय जान पाउँछन् । आर्थिक अवस्था बलियो हुनेले सदरमुकाम मंगलसैन तथा विभिन्न सहरमा बोर्डिङ स्कुलमा पढाउन छोरालाई मात्रै भर्ना गर्ने गरेका छन् । आर्थिक अवस्था कमजोर हुने छात्रका लागि भने कामका लागि भारत जानुपर्ने बाध्यता छ । शिक्षा विकास तथा समन्वय इकाइको तथ्यांकले पनि गाउँका सामुदायिक विद्यालयमा छात्रको संख्या कम रहेको देखाउँछ तर जति छन्, उनीहरू छात्राभन्दा अब्बल रहने गरेका छन् । यसरी हेर्दा अछाममा शिक्षाको पहुँच र स्तर एकसमान छैन । मेलापात, घाँसदाउरा, पानीपँधेरो, खेतबारीको काम सकेपछि मात्रै विद्यालय जान पाउँछिन् ढकारी गाउँपलिका–१ कि राधिका रिमाल । कालिका मावि, हिच्मामा कक्षा ११ मा अध्ययनरत राधिका भन्छिन्, ‘काम समयमै नभ्याएको दिन स्कुल छुट्छ । केही वर्ष पहिले छोरीलाई विद्यालय पठाउने, लेखपढ गर्न नदिने चलन थियो । अहिले विद्यालय पठाउनुपर्छ भन्ने मानसिकता सबैमा बढेको भए पनि औपचारिकतामा मात्रै सिमित छ ।’ उनका अनुसार यहाँ अझै पनि छोरीहरूलाई आफ्नो अधिकार के हो भन्ने थाहा छैन । ‘छोरीलाई विद्यालय पठाउनु पर्छ भन्ने बुझेका अभिभावकले पनि छोरालाई बोर्डिङ पढाउनु पर्छ भन्ने बुझे,’ उनी भन्छिन्, ‘छोरालाई छोरीभन्दा बढी महत्व दिनुपर्छ भन्ने सोचाइ भएकाले हामीले राम्रो शिक्षा हासिल गर्न पाएका छैनौं ।’ढकारी–३ कि कल्पना शाही बिहानै घाँसदाउरा ल्याएपछि मात्र विद्यालय जान पाउँछिन् । सानै उमेरदेखि उनलाई उक्त जिम्मेवारी पूरा गर्नुपर्ने सिकाइएको छ । आफू छोरी भएकाले सबै काम आफैंले गर्नुपर्ने मात्र उनले बुझेकी छन् । ‘दाइ काठमाडौँमा पढ्छन् । घरमा आमालाई सघाउनु पर्छ । बिहान घाँसदाउरा ल्याएपछि मात्रै स्कुल जान पाउँछु,’ उनले भनिन्, ‘म जस्ता धेरै साथीहरू बिहानभरि घरको काम गरेर मात्रै स्कुल आउँछन् ।’कालिका माविमै ८ कक्षामा पढ्ने कल्पनाको पढाइ औसत छ । आफू पढ्ने स्कुलमा प्रथम, द्वितीय, तृतीय सबै केटा साथीहरू मात्र हुने गरेको उनले बताइन् । ‘७४ जना विद्यार्थीमा २५ जना मात्रै केटाहरू छन् तर पढाइ राम्रो उनीहरूकै छ । हामी नियमित स्कुल आउनै पाउँदैनौं । यसैले पछाडि परेका हौं ।’सोही ठाउँकी मैना साउद भुवनेश्वरी आधारभूत विद्यालयमा ५ कक्षामा पढ्छिन् । कक्षामा सबैले उनलाई दिदी भन्छन् । उनको कान्छो भाइ त्यही विद्यालयमा कक्षा ७ मा पढ्छन् । ‘भाइ ७ कक्षामा पढ्ने, दिदी ५ कक्षामा पढ्ने भनेर साथीहरूले जिस्क्याउँदा चित्त दुख्छ,’ उनले भनिन्, ‘तर पनि घरको सबै काम गरेर विद्यालय पुग्छु ।’ भाइलाई समयमै विद्यालय पठाएका भए पनि अभिभावकले आफूलाई ढिलो गरी पढाएको उनले दुखेसो पोखिन् । ‘उतिखेर म पनि जान्छु भन्दा बाआमा सबैले तिमी छोरी मान्छे स्कुल जानु पर्दैन भने,’ उनले सुनाइन्, ‘गाउँमा विद्यालय भर्ना अभियान सुरु भएपछि २ वर्षअघि सिधै ३ कक्षामा भर्ना भएँ र त्यहीं अक्षर चिनेकी हुँ ।’हिच्माकी धर्ती साउँद पनि पहिले घरकै कामलाई प्राथमिकता दिन्छिन् । उनी औपचारिकता निभाउन मात्र स्कुल जाने गर्छिन् । ‘छोरी भएर जन्मेपछि काम गर्नै पर्यो,’ उनले भनिन्, ‘आमा, भाउजू, बज्यैले सिकेको काम छोरीले पनि गर्नैपर्छ भन्ने चलन छ । जे समाजमा चलन छ त्यसलाई मान्नै पर्यो ।’ उनका अनुसार कतिपयले त घरकै काममा फुर्सद नपाएर विद्यालय जान पाएका छैनन् ।दलित समुदायका छोरीहरू त अझै पनि विद्यालयको पहुँचसम्म पुग्न सकेका छैनन् । मंगलसैन नगरपालिका–५ की पवन विक सधैं घरको काम र खेतीबारीमा व्यस्त हुन्छिन् । उनका बुवा, आमा, दाजु भारतको मुम्बईमा काम गर्छन् । घरमा पवन र उनकी दिदी सीता मात्र छन् । दिदी सीताले १७ वर्षको उमेरमा विवाह गरिन् । अहिले घरको सबै काम पवन एक्लैले गर्छिन् । ‘गाई, भैंसी, एक हल गोरु र सात वटा बाख्रा छन् । तिनैलाई घाँसपात, स्याउलासोत्तर गर्दै दिन बित्छ,’ उनले भनिन्, ‘सकिनसकि काम गरिरहेकी छु । स्कुल जान्छु भन्दा घरबाट दिएनन् । अब यसैगरी जिन्दगी चलाउनु छ ।’हाल अछाममा विद्यालय बाहिर रहेका साढे तीन प्रतिशत विद्यार्थीलाई आगामी शैक्षिक सत्रमा विद्यालयको पहुँचमा ल्याउने योजना शिक्षा विकास तथा समन्वय इकाइको छ । विद्यालयमा छात्रभन्दा छात्राको संख्या धेरै छ । तर छात्राहरू पढाइमा कमजोर हुने र छात्रहरू अग्रस्थानमा आउने गरेको शिक्षा विकास तथा समन्वय विकास अधिकारी लक्ष्मण गिरीले पनि स्विकारे । ‘विद्यालय भर्ना गरे पनि छात्राहरूले घरको काम गर्न र पढाइभन्दा कामलाई प्राथमिकता दिने परम्परा छ,’ उनले भने, ‘अभिभावकले छोरीलाई हेर्ने दृष्टिकोण फरक भएको छैन । यसकारण पनि छात्राहरू विद्यालय नियमित जानै पाउँदैनन् । यसो हुँदा उनीहरू पढाइमा कमजोर भएका हुन् ।’स्थानीय तहको निवार्चनताका मत माग्न आउने महिला उम्मेदवारले छोरीलाई १२ कक्षासम्म अनिवार्य शिक्षा, महिनावारी भएका बेला सुरक्षित बस्ने व्यवस्थालगायत प्रतिबद्धता जनाएका थिए तर अहिले ती कुरा सबैले बिर्सिसकेको किशोरीहरूको गुनासो छ । ढकारी गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी साउदले भनिन्, ‘छोरीलाई विद्यालय भर्ना गर्ने तर नियमित विद्यालय जान नदिने अभिभावकलाई विशेष कक्षाको व्यवस्था गर्ने तयारीमा छौं ।’ मंगलसैन नगरपालिकाकी उपप्रमुख सरिता उपाध्यायले महिला आत्मनिर्भर र आर्थिक रुपमा सशक्त भएमात्रै उनीहरूको स्तर र सोंच फराकिलो हुने बताइन् । ‘महिलाहरू अभाव, दबाब र प्रभावबाट ग्रस्त छन्,’ उनले भनिन्, ‘यसको अन्त्यका लागि छोरीको शिक्षामा लगानी बढाउने प्रयास गरिरहेका छौं ।
छात्रहरू पढाइ छोडेर भारत
तुर्माखाँद गाउँपालिका–८ का रवि बुढा उमेरले १८ वर्ष पुगे । अहिलेसम्म उनी पाँचपटक भारत गइसके । केही समय बिदामा घर फर्केका उनले पढाइ छोडेर कामको खोजीमा भारत जानु बाध्यता भएको सुनाए । ‘बुबाको उहिल्यै मृत्यु भयो । मभन्दा पछाडिका चार भाइबहिनीलाई मैले नै हेर्नुपर्नेछ । आमा अपांग हुनुहुन्छ,’ उनले भने, गाउँका मान्छेले अब तिमी कमाउने भइसक्यौ । भारत जाऊ भनेपछि १३ वर्षको उमेरदेखि बम्बै जान थालेको हुँ ।’ सिद्धेश्वरी माविमा सात कक्षामा पढ्दापढ्दै उनी त्यता लागेका हुन् । सोही गाउँका मोहन बुढा ११ वर्षको उमेरदेखि मजदूरीका गर्न भारत जान थालेका हुन् । १७ वर्षका उनी यसबीचमा ६ पटक भारत पुगिसकेका छन् । अहिले पनि उनी वर्षमा ६ महिना उतै काम गर्न पुग्छन् । त्यहाँ कमाएको रकमले परिवारको खर्च टार्छन् । ‘भारतमा गएर होटलमा काम गर्छु । बिहान उज्यालो हुनासाथ सुरु हुने काम बेलुका ग्राहक आउने क्रम नरोकिएसम्म चल्छ । त्यसबापत मासिक ५ हजार रुपैयाँ पाउँछु,’ उनले भने, ‘सबै खर्च त्यही कमाइबाट पुर्याउनु पर्ने अवस्था छ ।’ रवि र मोहनजस्तै अछामका गरिबीको कारण पढाइ छोडेर किशोरावस्थामै भारत जानेको संख्या धेरै छ ।यही कारण सामुदायिक विद्यालयमा छात्रभन्दा छात्रा धेरै हुने गरेका छन् । राष्ट्रिय जनगणना २०६८ अनुसार अछामका १२ प्रतिशत जनसंख्या गणनामा अनुपस्थित भएका थिए । अनुपस्थितमध्ये सबैभन्दा बढी ३५ प्रतिशत १५ देखि २४ वर्ष उमेर समूहका थिए । यसमध्ये करिब ९८ प्रतिशत भारतमा आश्रित रहेको बताइन्छ ।
कक्षा छोड्ने अधिक
२०६२ वैशाखको तथ्यांकअनुसार जिल्लाभर कक्षा १ मा जम्मा ३० हजार आठ सय ७३ विद्यार्थी भर्ना भए । २०७१ मा एसएलसी परीक्षा दिनेको संख्या हेर्दा १० वर्षको बीचमा करिब २६ हजार विद्यार्थी बीचमै हराएको देखिन्छ । यो अवस्था हालसम्म पनि कायम रहेको शिक्षा विकास तथा समन्वय विकास अधिकारी गिरीले बताए । इकाइको गत वर्षको तथ्यांकअनुसार कक्षा दोहोर्याउने विद्यार्थीको संख्या २२ दशमलब १३ प्रतिशत छ । कक्षा छोड्ने दर १९ दशमलब सात प्रतिशत छ । उर्त्तीण भएर माथिल्लो कक्षामा जाने विद्यार्थीको संख्या ५८ प्रतिशत मात्र छ ।अर्को तथ्यांकअनुसार कक्षा १–५ सम्म पढेका कुल विद्यार्थीमध्ये ३६ दशमलब ५३ प्रतिशत विद्यार्थीले मात्र माथिल्लो तह पढ्ने गरेका छन् । कक्षा ६–८ सम्म पढेका सबै विद्यार्थीले एसइई दिँदैनन् । आधारभूत तहमै करिब ४५ प्रतिशत विद्यार्थी हराएर मावि तहमा जम्मा ५५ प्रतिशत विद्यार्थी मात्र पुग्ने गिरी बताउँछन् । अभिभावकमध्ये पुरुषहरू कामका लागि भारत जाने र घरमा महिलालाई कामको बोझ धेरै पर्ने भएकाले छोराछोरीले पनि घरायसी काममा सहयोग गर्नुपर्दा पढाइ छोड्ने समस्या रहेको स्थानीय बताउँछन् । ‘एकपटक भारतमा पैसा कमाउन गएको विद्यार्थी फर्केर पढाइ सूचारु गर्ने सम्भावना ज्यादै कम हुन्छ,’ स्थानीय राजेन्द्र नेपालीले भने ।धेरै विद्यार्थीको घरायसी कामको बोझले नियमित विद्यालय नआउनु, मौसमी रूपमा भारतमा पैसा कमाउन जाँदा परीक्षा दिन मात्र आउनु जस्ता कारणले जिल्लामा पढाइको स्तरसमेत कमजोर भएको छ । नियमित पढ्न नपाउँदा उत्तीर्ण हुन नसकेर पनि धेरैले पढाइ छोड्ने गरेका छन् ।
२०७६ फागुन १७ गते ९:४२ मा प्रकाशित