समाचारमा बालबालिका

वडामा बालमैत्री स्वयंसेवक

पश्चिम नवलपरासीको सुनवल नगरपालिकाले महिला स्वयंसेविकासँगै हरेक वडामा बालमैत्री स्वयंसेवक राखेको छ । बालवालिकाको चौतर्फी विकास, उनीहरूको अवस्था र नीति निर्माणतहमा बालबालिकाको नेतृत्व पहुँचका लागि नगरले यस्तो व्यवस्था गरेको हो । आठ वर्षदेखि १८ वर्ष उमेर समूहका बालबालिकाको मनौवैज्ञानिक, शारीरिक,शिक्षा, स्वास्थ्यको अवस्थाबारे तथ्यांक संकलन गर्ने, आमा समूहलाई बालअधिकार र यसका फाइदाबारे जानकारी गराइन्छ । विद्यालय जान छाडेका बालबालिकालाई विद्यालयको पहुँचमा पुर्‍याउने, वडाका हरेक निकायको नेतृत्वमा बालसहभागिता सुनिश्चित गराइरहेका छन् । नगरले आफ्नो नीति तथा कार्यक्रममा बालबालिकाको प्रत्यक्ष सहभागिता गराएर योजना तर्जुमा गर्ने गरेको छ । सुनवल–१३ की रीता भुषालको दैनिकी बालबालिकाको समस्या, बालअधिकार स्थानीय शासनको बारेमा वडालाई जानकारी गराउनमै बित्ने गर्छ । ‘बालश्रम, शिक्षाबाट वञ्चित रहेका बालबालिका र समग्र बालअधिकारको विषयमा वडावासीलाई जानकारी गराउने हाम्रो काम हो,’बालमैत्री स्वयंसेवक भुषालले भनिन्, ‘बालक्लबमार्फत जनचेतना र सन्देश पुर्‍याउँदा अभिभावकको पनि जनचेतनाको स्तर माथि उठेको छ । २०७१ सालदेखि नगरपालिकाले स्वयंसेवक राख्न सुरु गरेको हो । सुरुका दिनमा मासिक १५ सय सञ्चार खर्च दिएर सुरु गरेको यो अभियानमा अहिले हरेक स्वयंसेवकलाई मासिक ४ हजार ५ सय खाजा खर्चबापत उपलब्ध हुन्छ । बालबालिकाको क्षेत्रमा समयमा नै लगानी गरेमा भविष्यमा दक्ष र सिर्जनात्मक जनशक्ति तयार हुने भएकाले बालबालिकालाई पहिलो प्राथमिकतामा राखेर लगानी गरिएको नगर प्रमुख भीमबहादुर थापाले बताए । ‘हामीले विकास निर्माणमा करोडौं खर्च गर्छौं तर भविष्यका कर्णधार बालबालिकाको पक्षमा लगानी गर्दैनौं, उनले भने, त्यसैले हामीले बालमैक्री स्वयंसेवकदेखि नगरका सार्वजनिक संरचनालाई बालमैत्री, बालश्रम मुत्त र पूर्ण साक्षर गराएका छौं । नगरपालिकाभित्र रहेका विद्यालय व्यवस्थापन समितिमा बालबालिकाको सहभागितालाई अनिवार्य गरिएको छ । साथै सार्वजनिक समारोह र औपचारिक कार्यक्रममा पनि बालक्लबका प्रतिनिधिलाई आफ्ना कुरा राख्नेअवसर दिइन्छ । नगरभित्रका १९ संस्थागत र ३५ सामुदायिक विद्यालयका व्यवस्थापन समितिमा एकजना छात्र र एकजना छात्रालाई अनिवार्यरूपमा राखेर निर्णायक तहमा समावेश गरिएको बालमैक्री स्रोत व्यत्ति रेशम शर्माले बताए । नगरपालिका ०७२ सालमा बालमैत्री नगरपालिका घोषणा भएको थियो।

२०७५ फागुन २५ गते १०:०८ मा प्रकाशित