समाचारमा बालबालिका

प्रदेश ७ मा शिशु मृत्युदर बढी

नवजात शिशु मृत्युदर मुलुकमा सबैभन्दा बढी प्रदेश ७ मा रहेको एक सर्वेक्षणले देखाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नेतृत्वमा न्यु एराले गरेको जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०१६ मा यस्तो देखिएको हो । उक्त प्रदेशमा जन्मिएको २८ दिनभित्र मृत्यु हुने शिशुको संख्या प्रतिएक हजारमा ४१ छ भने जन्मेको एक वर्षभित्र मृत्यु हुने शिशु प्रतिहजारमा ५८ छ । पाँच वर्ष नपुग्दै हुने मृत्युदर अझ बढी अर्थात् ६९ छ । प्रदेश ७ मा दार्चुला, बझाङ, बाजुरा, बैतडी, कैलाली, कञ्चनपुर, डडेलधुरा, अछाम र डोटी छन् । ‘प्रदेश ७ मा भौगोलिक विकटता छ,’ स्वाथ्य सेवा विभागका वरिष्ठ डेमोग्राफर डा।शरद शर्माले भने, ‘स्वास्थ्यकर्मी पनि कम हुन्छन् ।’सर्वेक्षणअनुसार सबभन्दा कम शिशु मृत्युदर प्रदेश ४ मा छ । यहाँ प्रति हजारमा १५ नवजात शिशुको मृत्यु हुने गरेको छ । १ वर्षभित्रका शिशु मृत्युदर २३ र पाँच वर्ष नपुग्दै हुने बाल मृत्युदर २७ छ । प्रदेश २ र ५ मा पनि शिशु मृत्युदर उस्तै छ । जहाँ प्रतिहजारमा ३०र३० नवजात शिशुको मृत्यु हुने गरेको पाइएको छ । त्यस्तै ५ वर्ष नपुग्दै हुने बाल मृत्युदर प्रदेश ६ मा ५८ र २ मा ५२ छ । ‘२ नम्बर प्रदेशमा जनशक्ति भएर पनि सुविधा कम छ,’ शर्माले भने, ‘जनचेतनाको कमी भएजस्तो देखिएको छ ।’ उनका अनुसार यो प्रदेशमा स्वास्थ्य क्षेत्रमा लगानी बढी भए पनि उपलब्धि कम छ । हरेक पाँच वर्षमा यो सर्वेक्षण हुने गरेको छ ।

आमाको शिक्षा र परिवारको आर्थिक अवस्थाको पनि ५ वर्षमुनिका बच्चाहरूको मृत्युदरमा प्रभाव देखिएको छ । एसईई ९एसएलसी० वा योभन्दा माथिको शिक्षा हासिल गरेका आमाबाट जन्मेका बच्चाहरू प्रतिहजारमा २१ जनाको मृत्यु हुने गरेको सर्वेक्षणले देखाएको छ । शिक्षा नपाएका आमाबाट जन्मिएका बच्चाहरूको मृत्युदर भने बढी देखिएको छ । सर्वेक्षणअनुसार अशिक्षित महिलाबाट जन्मिएका बच्चामा प्रतिहजारमा ६० को मृत्यु हुने गरेको पाइएको छ । सबभन्दा गरिब परिवारका ५ वर्षमुनिका बच्चाको मृत्युदर प्रति १ हजारमा ६२ छ । सम्पन्न परिवारमा भने प्रतिहजार २१ को मृत्यु हुने गरेको छ । ‘तथ्यांकगत रूपमा बाल मृत्युदरमा ७ नम्बर प्रदेश अघि होला,’ स्वाथ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा।श्रीकृष्ण गिरीले भने, ‘तर समग्र विकासको इन्डिकेटरमा हेर्ने हो भने २ र ६ प्रदेश कमजोर छन् ।’ उनले २ र ६ मा खानेपानीको व्यवस्था राम्रो नभएको, गरिबी र अशिक्षाले तल परेको बताए । ‘समग्रमा ६ भन्दा प्रदेश ७ राम्रो छ,’ गिरीले भने । ‘प्रदेश २ कर्णालीकै हाराहारीमा छ,’ प्रवक्ता गिरीले भने, ‘जहाँ स्वाथ्यसँग सम्बन्धित जनचेतनाको अझै कमी छ ।’ स्वास्थ्य क्षेत्रमा लगानी बढी छ । तर पनि सुधार सोचेभन्दा कम हुने गरेको पाइएको छ । यसअघि सन् २०११ मा यस्तो सर्वेक्षण गरिएको थियो । त्यसबेलाभन्दा अहिले बाल मृत्युदरमा सुधार भएको मन्त्रालयले जनाएको छ । प्रदेश ७ मा बाल मृत्यु बढी हुनुका कारणबारे अध्ययन नभएको र समग्रमा छाउपडीलगायतका प्रथाको पनि प्रभाव हुन सक्ने शर्माको बुझाइ छ । स्वास्थ्य सेवा विभागकी स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा।पुण्या पौडेल भौगोलिक बनावटले गर्दा ७ नम्बर प्रदेशमा समस्या भएको बताउँछिन् । ‘सुदूरपश्चिममा सेवा दुरुस्त छैन, जनचेतनाको पनि कमी छ,’ उनले भनिन्, ‘त्यही भएर अपेक्षाअनुसार बाल मृत्युदर घट्न सकेको छैन। उनले स्वास्थ्य सेवालाई गुणस्तरीय बनाउने, जनचेतना फैलाउने र मानव संसाधन व्यवस्थित गर्न सकिए उक्त क्षेत्रको स्वास्थ्यमा सुधार आउने दाबी गरिन् ।

 २०७४ फागुन २५ गते ६:५९ मा प्रकाशित