समाचारमा बालबालिका

बूढीऔँलाले भात, चोरऔँलाले दाल

सिठी बज्छ । ४ सय ५० जना लाम लाग्छन् । लामभन्दा अगाडि थालको चाङ छ । पालैपालो थालमा खाना थाप्छन् । त्यसपछि सबै जना खान थाल्छन् । केही थप्नुपर्दा कसैको आवाज सुनिँदैन । भीडबाट कसैले बूढीऔँला त कसैले चोरऔँला उठाउँछन् । बूढीऔँला उठाउनेलाई भात र चोरऔँलाले संकेत गर्नेलाई दाल थपिन्छ । संकेतका आधारमा खाना खानपिन सकिन्छ । तरकारी पहिल्यै ठिक्क हालिदिएकाले थप्ने व्यवस्था छैन । पानी आफैँले बोतलमा व्यवस्था गर्नुपर्छ या खानापछि लिनुपर्छ । तुलसीपुर उपमहानगरपालिका १७ वनकट्टीस्थित सहिद स्मृति आवासीय माविमा पुग्दा यस्तो अनौठो र सिर्जनशील खाना खाने उपाय देखिन्छ । बोलेर खाना थप्दा होहल्ला, भद्रगोल हुने र भनेको ठाउँमा खाना पुर्‍याउन समस्या हुने भएकाले संकेत गरिएको हो । त्यस आधारमा खुवाउने गरिएको विद्यालयका प्रधानाध्यापक नारायण पौडेलले बताए । ‘आवाज निकाल्दा यति ठूलो संख्यामा हल्ला भएर काम गर्न सकिँदैन,’ उनले भने, ‘यस्तो तरिकाले व्यवस्थित बनाएको छ । अनुशासन कायम भएको छ । हलभरि विद्यार्थी हुन्छन् । तर आवाज पटक्कै आउँदैन ।’खाना थप्ने पनि पालो लगाइएको छ । थप्ने पालोमा परेका विद्यार्थी छेउछेउमा उभिएर हेरिरहेका हुन्छन् । हात उठ्नेबित्तिकै तत्काल पुगेर आवश्यक परिकार थपिदिन्छन् । ‘कसलाई के चाहियो पनि भन्नुपर्दैन । औँलाको संकेतका आधारमा दाल या भात थाहा भइहाल्छ,’ उनले भने, ‘थप कुरा नआउँदासम्म हात उठाइरहनुपर्छ । सुरुमा नौलो र अप्ठ्यारो लागे पनि अहिले सामान्य भइसक्यो ।’ विद्यार्थी पनि इमानदारीसाथ नियम पालना गर्छन् । धेरैबेरसम्म हात उठाउँदा खानेकुरा आइपुगेन भने पनि उठाइरहन्छन् । तर आवाज निकाल्दैनन् । ‘यो हाम्रो नियम हो । थप खाना दिने साथी छेउमै हुने भएकाले समस्या हुन्न,’ कक्षा ५ मा अध्ययनरत जुम्लाका विश्वराज बुढाले भने, ‘नयाँ मानिस आए भने अचम्म मान्छन् । खाने बेला यति धेरैले किन हात उठाएका होलान् भन्ने ठान्छन् ।’कक्षा ६ मा अध्ययनरत कालीकोटकी नविता बराललाई पनि नियममा रहेर खाना खाँदा रमाइलै लाग्छ । सुरुमा उनलाई बोल्न नपाउँदाअप्ठ्यारो लागेको थियो । अहिले सहज भइसक्यो । ‘केही चाहियो भने आफैँ औँला उठिहाल्छ । झुक्किएर पनि आवाज आउँदैन,’ उनले भनिन्, ‘सबै शान्त हुने भएकाले झन् राम्रो भएको छ । आरामले खान पाइन्छ ।’सशस्त्र द्वन्द्वमा अभिभावक गुमाएका साविक मध्यपश्चिमका १६ जिल्लाका २ सय ६१ बालक र १ सय ८९ बालिका आवासीय अध्ययनमा छन् । सबै छात्रावासमा बस्छन् । धेरैजसोका बाआमामध्ये एकको सशस्त्र द्वन्द्वमा मृत्यु भएको छ । घरमा स्याहार गर्ने कोही नभएपछि उनीहरूलाई ०६६ सालमा सहिद स्मृति आवासीय विद्यालय स्थापना गरेर खाने, बस्ने सुविधासहित पढाउने गरिएको हो । तत्कालीन माओवादीको पहलमा विद्यालय स्थापना गरिए पनि अहिले सबै खर्च सरकारले बेहोर्दै आएको छ । एउटै पीडा बोकेका विभिन्न क्षेत्रका बालबालिका रातदिन एकै थलोमा बसेर खाँदा, बस्दा र पढदा निकै रमाइरहेका देखिन्छन् । छात्रावासमा सबैको जिम्मेवारी तोकिएको हुन्छ । सबैले तोकिएअनुसारकै काम गर्छन् ।

२०७६ जेठ गते १०:१७ मा प्रकाशित