समाचारमा बालबालिका

डोम समुदायका बालबालिका शिक्षाबाट वञ्चित

जनकपुर उपमहानगरपालिका १५, कुवा रामपुरको दलित बस्ती ढल्के टोलमा ८ वर्षीया आरती मल्लिक र ६ वर्षीय राजेश मल्लिक सुँगुर धपाउँदै घरतर्फ जाँदै थिए । घरछेउ बाजाको आवाज उनीहरूले सुने । सोमबार यहाँका बालबालिका विद्यालयमा सरस्वती पूजा गरी मनोरञ्जन गरिरहेका बेला आरती र राजेश सुँगुर चराएर घर फर्किंदै थिए । घरछेउको सलहेश मन्दिरमा पूजासँगै नाचगान पनि भइरहेको थियो । तर, उनीहरू भने पूजा स्थलसम्म जान पाएनन् । डोमका छोराछोरी पूजास्थल आए अन्यलाई असहज हुने भएकाले २७ वर्षीया आमा आशा मल्लिकले आरती र राजेशलाई घरमै बस्न भनिन् । उनीहरू विद्यालय पढन नगएकै कारण पूजामा पनि सहभागी हुन पाएनन् ।

जिल्ला शिक्षा कार्यालय र माध्यमिक विद्यालय कुवा रामपुर सँगै रहेको ढल्के टोलका ४ डोम परिवारका १० बालबालिका विद्यालय जाने उमेरका छन् । तर, जन्मदर्ता नभएकै कारण उनीहरू सुँगुर चराएर दैनिकी बिताउन बाध्य रहेको स्थानीय नगन्दिर मल्लिक बताउँछन् । ‘छोराछोरीलाई विद्यालय पठाउने इच्छ भएर भर्ना गर्न स्कुल गएको थिएँ,’ ३ सन्तानकी आशाले भनिन्, ‘जन्मदर्ता नहुँदा भर्ना हुन पाएनन् । तीनै छोराछोरीले पढन पाएनन् ।’ उनका पतिको नागरिकता नहुँदा विवाह भएको १६ वर्ष बित्दा पनि विवाह दर्ता हुन नसकेको उनले सुनाइन् । धुमधाम साथ सरस्वती पूजा गरिरहदा पढनबाट वञ्चित डोम समुदायका बालबालिकाले भने प्रसादसमेत चाख्न पाएनन् । ढल्केटोलका आरती र राजेश जस्तै दलित बस्तीका बालबालिका जन्म दर्ता र आर्थिक स्थिति कमजोर भएका कारण विद्यालय जानबाट वञ्चित छन् । विद्यालय बाहिरका बालबालिकालाई विद्यालय भर्ना गराउन सरकारी तथा गैरसरकारी संस्था सक्रिय भएपनि सामाजिक कुरीतिका कारण दलित बालबालिका पढाइबाट वञ्चित भएको शिक्षक राजदेव दास तत्मा बताउँछन् ।

‘आर्थिक स्थिति कमजोर भएकाले दलितका छोराछोरी विद्यालय आउँदैनन्,’ उनले भने, ‘मधेसमा डोम, हलखोर, मुसहर, खत्वे, दुसाद र तत्मा पिछडिएका जातिमा पर्छन् । अन्य जात विद्यालयसम्म पुगे पनि डोम, हलखोरका छोराछोरी कमै आउँछन् ।’ चेतना अभावले बालबालिका विद्यालय बाहिर रहेको स्रोत व्यक्ति धनेश्वर यादव बताउँछन् । शिक्षा मन्त्रालयको तथ्यांकअनुसार धनुषामा प्राथमिक तहमा २ हजार २४ जना र आधारभूत तहमा अध्ययन गर्ने २५ हजार २ सय ५३ जना विद्यालय बाहिर छन् । अभिवाक सचेत नहुँदा गरिब र बिपन्न परिवारका बालाबालिका विद्यालय बाहिर रहेको धनुषामा किशोरी शिक्षा सञ्चालन गर्दे आएका सामुदायिक परिवार संघका नित्यानन्द मण्डल बताउँछन् । सीमांकृत समुदायका बालबालिका अन्य समुदायभन्दा बढी विद्यालय बाहिर रहेको जिल्ला शिक्षा कार्यालय धनुषाका सहायक जिल्ला शिक्षा अधिकारी दानिकान्त झाको भनाइ छ । ‘गरिब, विपन्न र दलित विद्यार्थीलाई विद्यलाय ल्याउन प्रदान गरिने छात्रवृत्तिको प्रभाव न्यून छ,’ उनले भने, ‘मजदुरी गरी जीविका चलाउने भएकाले विद्यालय जाने उमेरका बालबालिका शिक्षाबाट वञ्चित भएका छन् ।

२०७४ माघ ९ गते ७:३९ मा प्रकाशित