समाचारमा बालबालिका

बालविवाहविरुद्ध अभियान

तमानखोला ५ की सेमला सेन्चुरी पेटको समस्याले नियमित स्वास्थ्य संस्थामा जान बाध्य छिन् । उनको १३ वर्षको उमेरमा बिहे भएको थियो । २१ पुग्दा तीन सन्तानकी आमा भइसकेकी उनलाई बल्ल बालविवाहको बेफाइदा थाहा भएको छ । बालबालिकाको स्याहार सुसारसँगै दैनिक घाँसदाउरा गर्नुपर्ने बाध्यता छ । बिरामी परिरहँदा उपचार खर्च बढ्दो छ । घरको काममा पनि समस्या परिरहेको उनले गुनासो गरिन् । सानो उमेरमा विवाह गर्दाको यो समस्या बुझेपछि सेन्चुरीले छोराछोरीलाई सम्झाउने काम थालेकी छन् । उनले प्राथमिक तहको पढाइ मात्र सकेकी हुन् । नजिकमा विद्यालय नहुनु, बालविवाहको जोखिमबारे जानकारी नपाउनु र अभिभावकको बेवास्ताले समस्या भोगेको उनको अनुभव छ । यहाँका धेरै महिलाले पनि चेतना अभावले शिक्षा र स्वास्थ्यको अवसर गुमाइरहेका छन् । सेन्चुरीजस्तै यहाँका धेरैले बालविवाह गर्दा स्वास्थ्य अवस्था जटिल भएको बुझेपछि छोराछोरीलाई सम्झाउने अभियान थालेका छन् । गाउँपालिकाले कार्यक्रम बनाएर बालविवाहविरुद्ध जागरण अभियान सञ्चालन गरेको हो । 

भौगोलिक विकट भएकाले सबैलाई घाँसदाउरा गर्नुपर्ने बाध्यता छ । ‘बालविवाह गर्नु हुँदैन भनेर धेरै सम्झाउने काम सुरु भएको छ,स्थानीय महिला स्वयंसेविका ज्ञानकुमारी छन्त्यालले भनिन्, ‘पहिला–पहिला हामीले मात्र सम्झाउँथ्यौं, अहिले गाउँपालिकाले पनि टोलटोलमा शिक्षा दिन थालेको छ । धेरै बालबालिका जन्माउने र आराम नपाउने समस्याले ३० वर्ष नपुग्दै धेरै महिलाले पाठेघरको समस्या भोगेका उदाहरण गाउँघरमा छन् । स्वास्थ्य चेतनाका लागि गाउँपालिकाले कार्यक्रम बनाएर अभियान सञ्चालन गरेको अध्यक्ष जोकलाल बुढाले बताए । बालविवाह भएमा बदर गर्ने नीति पनि लिइएको छ । केही केसमा हामीले बदर पनि गराएका छौं,’ उनले भने, ‘विवाह भनेको २० वर्ष काटेपछि मात्र गर्नुपर्छ भन्ने सन्देश दिनका लागि पहल भएको छ । विद्यालय तहमा पनि चेतना विकासका अभियान चलाउन शिक्षकलाई पनि भनेको उनले बताए । गाउँपालिकाले बालविवाहविरुद्ध डकुमेन्ट्रीसमेत बनाएर प्रदर्शन गर्न थालेको छ । ‘लैंगिक हिंसा तथा जातीय छुवाछूत अन्त्य गर्ने चुनौती पूरा गर्न सबैको सहयोग चाहिएको छ,उनले भने, भौतिक विकास जस्तै सामाजिक विकासको जागरण चलाउनुपर्ने बाध्यता छ ।सामाजिक विकासबिना भौतिक विकासले मात्र अगाडि बढ्न नसकिने पनि उनले बताए । उमेर नै नपुगी भएका विवाहबाट खुंखानी, बुंगादोभान र खुंगालगायतका गाउँमा धेरै समस्या आउने गरेको स्वास्थ्यकर्मीहरू बताउँछन् । अभिभावकले बालबालिकाको शिक्षा र स्वास्थ्यमा ध्यानै नदिएकाले सानै उमेरमा आमा बन्नेहरूमा तल्लो पेटको समस्या धेरै छ,अहेव दीपक पौडेलले भने, ‘सुत्केरी गराउन स्वास्थ्य संस्थामा आउने पनि धेरै कम छन् । विवाह भएपछि पढाइ छाड्ने क्रम सबै विद्यालयमा रोग बनेको शिक्षक बताउँछन् । यो क्षेत्रमा दलित र जनजाति बस्ती धेरै छ । दलित बस्तीमा बालविवाह बढी छ । सानो उमेरमा विवाह गर्नेहरू त गनिसाध्य छैनन्, नानी च्यापेरै आउने पनि केही छन्, शान्ति मावि खुंखानीका शिक्षक लालबहादुर छन्त्यालले भने,बिहेले पढाइ बिटमार्ने त्यसपछि मजदुरीमा लाग्ने चलन छ । एकरदुई वर्षमा न्यूनीकरणको प्रभाव पर्नेगरी जागरण चलाएको उनले बताए । 

२०७५ कार्तिक १६ गते ९:०९ मा प्रकाशित