समाचारमा बालबालिका

इँटाभट्टाका बालबालिका विद्यालय जानबाट वञ्चित

सुर्खेत धारापानीकी ३१ वर्षीया वसन्ती पुनमगर चाँगुनारायण नगरपालिका ताथलीस्थित एक इँटाभट्टामा काम गर्छिन् । उनी पतिसहित १० र १६ वर्षीय दुई छोरासँगै आएकी छन् । १३ वर्षमै विवाह गरी १५ वर्षमै उनले छोरा जन्माएकी हुन् । उनका जेठा छोरा ओमप्रकाश पनि कक्षा ७ को पढाइ छाडेर आमाबाबुसँगै इँटा बनाउँछन् । वसन्तीका १० वर्षीय कान्छा छोरा अशोक कक्षा ३ को पढाइ छोडेर अभिभावकसँगै छन् । ‘छोरा पढाइमा लगनशील थियो, गाउँमा गरी खाने स्रोत छैन,’ उनले भनिन्, ‘आफैंसँग ल्याउँदा विद्यालय जानबाट वञ्चित भयो ।’ इँटाभट्टा नजिक विद्यालय नभएको र वैशाखपछि गाउँमै पढाउने उनले सुनाइन् । धारापानीकै नन्दीकला बुढामगरले १२ वर्षीया छोरी हरिदेवी र ७ वर्षीया तिलसरीलाई साथै ल्याएकी छन् । कक्षा ४ को पढाइ छाडेर आमासँगै आएकी हरिदेवी खाना पकाउने, इँटा बनाउने काममा सघाउँछिन् । ‘श्रीमान् बित्नुभएको ६ वर्ष भयो, बालबच्चा हुर्काउनैपर्‍यो,’ नन्दीकलाले भनिन्, ‘६ महिनापछि काम सकेर पुनस् छोरीलाई विद्यालय पठाउँछु ।’ झयाउलीको बसाइ मध्यरातिबाट इँटा बनाउने काम गर्दा छोरीले नै सघाउने गरेको उनी बताउँछिन् । ६ महिनायता ६ महिनाउता पढ्ने बच्चालाई विद्यालयले लिन नमान्ने उनले बताइन् । आँपचौर सल्यानका कर्णबहादुर बुढामगरको पीडा पनि उस्तै छ । परिवारसँगै कक्षा ८ मा अध्ययनरत १५ वर्षीय छोरा प्रकाशलाई उनले पनि साथै ल्याएका छन् । ‘अभिभावक हिँडेपछि छोरा घर बस्न मानेन, पढाइ छुटायो,’ उनले भने, ‘यताको विद्यालयले भर्ना गर्न मानेन, अब उतै गएर पढाउँछु । प्रत्येक वर्ष विभिन्न संघसंस्थाले भट्टाका बालबालिकाका लागि छात्रवृत्ति दिएको, पढाएको भन्दै करोडौंको हिसाब देखाए पनि यी बालबालिका भने पढाइबाट वञ्चित छन् । एक इँटाभट्टामा करिब १ सय २० देखि ३र४ सयसम्म मजदुर काम गर्छन् । इँटा भट्टा व्यवसायी संघका अध्यक्ष नातिभाइ हेम्बा भने उद्योगको पायक पर्ने स्थानमा मजदुरका बालबालिका लक्षित गरी शिशु कक्षा र अनौपचारिक शिक्षाको व्यवस्था गरेको दाबी गर्छन् । मजदुरहरू आउने प्रक्रिया जारी रहेकाले पनि कतिपय स्थानमा कक्षा सञ्चालनमा ढिलाइ भएको उनले सुनाए । जिल्लामा ६२ इँटा भट्टा सञ्चालनमा छन् ।

२०७४ पुस १० गते ८ :२२ मा प्रकाशित