समाचारमा बालबालिका

४ वर्षपछि भेटिएका बालक बाबुआमा खोज्दै

४ वर्षअघि हराएका बालक सुनिल विक कपिलवस्तु जिल्लामा भेटिएका छन्। झापा जिल्ला सुरुङ्गास्थित तामाङ गाउँका १४ वर्षका विकले ४ वर्षअघि घर छाडेका थिए। २०७० सालमा सुनिल नाताले मामा पर्नेसँग भारतको पंजाब घुम्न गएका थिए। मामाले पंजाबमा आफ्नै पसलमा काममा लगाएको भए पनि पछि मामाले पसल बन्द गरी जानकारी नदिई भागेको बालक सुनिलले बताए। सुनिलका अनुसार झापा जिल्ला सुरुङ्गा बस्ने तारामान विक र रमा विक उनका बुबाआमा हुन्। उनले आफ्ना बुबाआमा र आफन्त भेट्न आतुर रहेको बताएका छन्। भारतीय प्रहरीको सहयोगमा सुनिललाई नेपाल पठाइएको थियो। जिल्ला बालकल्याण समितिमार्फत कपिलवस्तु बालगृहमा ल्याइएको बालगृहका संयोजक रामप्रसाद अर्यालले बताए। उनी यही पुस २६ गते जिल्ला बालकल्याण समितिमार्फत बालगृहमा आएको उनले बताए। बालकका बुबाआमा पत्ता लगाई परिवारको जिम्मा लगाउन जिल्ला बालकल्याण समिति झापासँग समन्वय गरिने र छिट्टै उनलाई झापा पठाइने जिल्ला बालकल्याण समितिका संयोजक एवम् प्रमुख जिल्ला अधिकारी मदन भुजेलले जानकारी दिए।

२०७४ माघ २५ गते प्रकाशित