समाचारमा बालबालिका

सीमाका बालबालिका पढ्न भारत

कैलालीको मोहना नदीपारिको हौसलपुरका बालबालिका भारतको सीमावर्ती गाउँको विद्यालयमा पढ्न जान्छन् । गाउँमा विद्यालय नभएकोले यहाँका बालबालिकाले शिक्षाको आरम्भ भारतीय स्कुलबाटै गर्नुपर्ने बाध्यता छ । जनगण मन अधिनायक जय हे, भारत भाग्य विधाता’ भारतको यही राष्ट्रिय गीत हौसलपुरका स्कुले बालबालिकाको ओठ–ओठमा झुन्डिएको छ । भारतको इतिहास र भूगोलबारे पढ्नुपर्ने बालबालिकालाई आफ्नै देश नेपालको नक्सा कस्तो छ भन्नेसम्म थाहा छैन । उनीहरू नेपाली भाषामा बोल्न पनि जान्दैनन् । भारतको सिमावर्ती गाउँ बेलापरसुवाको स्कुलमा कक्षा ८ मा पढ्ने छात्रा निलम चौधरीले नेपालको बारेमा कुनै जानकारी नभएको बताईन । नेपाली हुँ भन्ने थाहा छ’ उनले भनिन्, तर नेपालको बारेमा थाहा छैन । नेपाली शिक्षाको अभावमा आफनो देशलाई चिन्न अवसर पाउन नसकेको गाउँका मुखिया रबिन्द्र चौधरीले बताए । उनी गाउँमा एउटा प्राथमिक विद्यालय स्थापनाको माग गर्दै आएको बताउँछन् । बालबिकास केन्द्र पनि पाउन नसकेको उनको गुनासो छ । यस गाउँवासीले स्वास्थ्य उपचारका लागि पनि भारतका सिमावर्ती स्वास्थ्य चौकीबाटै सेवा लिनु परेको छ । हसौलपुर कैलारी गाउँपालिका ७ मा पर्छ । थारुको २८ घरपरिवारको यो बस्ती भारतको दुदुवा नेशनल पार्कसँग सटेको छ । वडा नम्वर ७ मै पर्ने रामपुरको विद्यालय टाढा भएकोले नदी वारपारको समस्या छ । त्यही समस्याले भारतको सिमावर्ती गाउँ बेलापुरसुवामा पढ्न पठाउनु परेको गाउँका अर्का सोहनलाल चौधरी बताउँछन् । भारतको लखिमपुर जिल्लामा पर्ने बेलापरसुवा पनि दुदुवा नेशनल पार्कसँग जोडिएको भारतीय सिमावर्ती बस्ती हो । हसौलापुरबाट बेलापरसुवाको सरस्वती शिक्षा मन्दिरमा शिसुदेखि ८ कक्षासम्म ४५ बिद्यार्थी पढ्छन् । उच्च शिक्षाका लागि लखिमपुरमा जाने गरेका छन् । उनले हाल लखिमपुरको गान्धी इन्टर कलेजमा गाउँ २०र२५ जना बिद्यार्थीहरू पढ्दै गरेको बताए । लखिमपुरबाट अर्थशास्त्रमा स्नातकोत्तर गरेका गाउँका रामबहादुर चौधरीले भने हामीले भारतमै पढ्न र भारतमै जागिर खोज्नु परेको बताए । नेपाली नागरिक भएकाले भारतमा निजी कम्पनीमा जागरि खानु परेको बताए । उनले नेपालमा भारतको शैक्षिक प्रमाणपत्रको महत्व पनि कम गर्ने, सम्वन्ध र पहुँच पनि नहुने भएकोले यतै पढ्यो, यतै जागिर खोज्नु पर्ने बताए । उनी नेपाल सरकारले हसौलपुरलाई राष्ट्रियतासंग जोडनै नसकेको बताउँछन् । उनकाअनुसार मोहना नदीमा झुलंगे पुल हालेर हसौलपुरलाई नेपालसँग जोडनु पर्छ । स्कुल, स्वास्थ्य चौकी, सुरक्षा पोष्ट सबै दिनुपर्ने उनको माग छ । हाल सरकारी कामकाजबाहेक हौसलपुरवासीको सम्वन्ध भारतसंग मात्र रहेको उनी बताउँछन्।

२०७६ बैशाख ३० गते १०:४५ मा प्रकाशित