समाचारमा बालबालिका

माघदेखि नवजात शिशुको बिमा

प्रदेश २ सरकारले माघ १ गतेदेखि जन्मिने नवजात शिशुको जीवन बिमा गरिदिने भएको छ । प्रदेशको ८ जिल्लाबाट एक एक गाउँपालिका, नगरपालिका, उपमहानगरपालिका, महानगरपालिका गरी ८ वटा स्थानीय तहको सबै वडाका हरेक शिशुलाई जन्मिएपछि बिमा गरिदिने जनाएको छ । तराईमा छोरीलाई गर्भमै ‘भ्रुण हत्या’ गरी जन्मिनुबाटै रोक्ने कुप्रथाको अन्त्य गरी छोरी भएर जन्मिन पाउने प्राकृतिक अधिकार प्रत्याभूति दिलाउन जीवन बिमा गरिदिन लागेको मुख्यमन्त्रीको कार्यालयले जनाएको छ । मुख्यमन्त्री मोहम्मद लालबाबु राउतले ‘बेटी बचाऊ, बेटी पढाऊ’ नीति तथा कार्यक्रमअन्तर्गत प्रदेश २ को ८ जिल्ला सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, बारा, रौतहत र पर्साको ८ वटा स्थानीय तहको सबै वडामाजन्मिने नवजात शिशुको नाममा जीवनबिमा गरिदिन लागेको बताए । ‘यहाँ वेटी शिशुले जन्मिनै पाउँदैनन्, कैयौंको गर्भमै हत्या हुन्छ,’ मुख्यमन्त्री कार्यालयमा उनले भेटको क्रममा भने, ‘कम्तीमा नवजात शिशुले जन्मिन पाउन्, त्यसपछि हुर्किसक्दा उनको नाममा बैंक बचत हुन्छ । प्रदेश २ सरकारले घोषणा गरेको ‘बेटी बचाऊ, बेटी पढाऊ’ नीति तथा कार्यक्रम कार्यान्वयन गर्दै पहिलो चरणमा माघ १ गतेदेखि जन्मिने हरेक शिशुको नाममा एक लाख २५ हजार बराबरको बिमा गरिदिन लागेको मुख्यमन्त्री राउतले बताए । उनले बिमाको रकम शिशु वयस्क भएर नागरिकता प्रमाण–पत्र प्राप्त गरेपछि बैंकमा खाता खोलेर उसैको नाममा जम्मा गरिदिने व्यावस्था गर्न लागेको बताए । ‘बिमा योजना कार्यान्वयन भएपछि नवजात शिशु जन्मिने वित्तिकै लखपति हुन्छन्,’ मुख्यमन्त्री राउतले भने, ‘शिशु हुर्किएपछि पठनपाठनको लागि खर्चको अभाव हुँदैन । पहिलो चरणमा ८ जिल्लाको ८ वटा स्थानीय तहमा लागू गरे पनि दोस्रो र तेस्रो हुँदै चरणबद्ध रूपमा बजेट तर्जुमा गरी ८ वटै जिल्लाको सबै स्थानीय तहको वडा तहसम्म घरघरसम्म विस्तार गर्ने लक्ष्य रहेको मुख्यमन्त्री राउतले बताए । यसबाहेक मुख्यमन्त्री राउतले मुख्यमन्त्री स्वच्छन्दता अभियान, दलित सशक्तीकरण ऐन निर्माण, मदरसा बोर्ड गठन लगायत सामाजिक परिवर्तनमा भूमिका निर्बाह गरेको बताए।

२०७५ पुस १७ गते ९:४८ मा प्रकाशित