समाचारमा बालबालिका

नाङ्गो खुट्टामै स्कुल

मकवानपुरको विकट बस्तीमा अवस्थित एक विद्यालयका छात्रछात्राहरू नाङ्गो खुट्टाले घण्टौं हिँडेर स्कुलमा आउजाउ गर्छन् । जिल्लाको पश्चिमी क्षेत्रमा पर्ने कैलाश गाउँपालिका—७ साबिकको भार्ता गाविस—४ डोकोटारस्थित सरस्वती प्राथमिक विद्यालयका बालबालिका यसरी हिँड्न बाध्य छन् । तिखा ढुंगा र काँडाहरू कुल्चँदै उनीहरू पढ्न आउने–जाने गर्छन् । हातका हत्केला जस्तै कलिला पैतालाहरू दैनिक खियाउँदै आवतजावत गरेकाले उनीहरूको पैतालाका छाला वयस्कका जस्ता छिप्पिइसकेका भइसकेका छन् । ‘अधिकांश विद्यार्थीहरू गरिबीको कारणले नाङ्गै खुट्टाले स्कुलमा पढ्न आउने गर्छन्,’ प्रधानाध्यापक रमिला हिमडुङले भनिन्, ‘जुत्ता–चप्पल लगाएर स्कुल आउने यहाँका बालबालिकाको आर्थिक हैसियत नै छैन । ‘उक्त स्कुलमा पढ्न आउने बालबालिकाहरू दैनिक आधा घण्टादेखि २ घण्टासम्म नाङ्गै खुट्टा हिँडेर आउँछन् । कैलाश गापाको छिमेकी गाउँपालिका राक्सिराङ गापा ४ जोङसिराङका २ कक्षामा अध्ययन गर्ने विवेक चेपाङलाई स्कुलमा पढ्न आउन एक घण्टा हिँड्नुपर्छ । दैनिक उनी २ घण्टा नाङ्गै खुट्टाले हिँडेर आउँछन् । जोङसिंराङबाट १ कक्षादेखि ३ कक्षासम्म अध्ययन गर्ने बालबालिकाको संख्या १५ छ । उनीहरू सबै कलिला पैताला खियाउँदै स्कुल आउँछन् । ८७ बालबालिका अध्ययन गर्ने उक्त विद्यालयमा रतुवा, ताम्लाङ, डोकाटारका आउने गर्छन् । ‘स्कुलमा पढ्न आउने ५ जना विद्यार्थी बाहेकका ८२ जना छात्रछात्राहरू जुत्ता र चप्पलविहीन आउने गरेका छन्,’ शिक्षक शुक्रबहादुर चेपाङले भने, ‘नाङ्गै खुट्टा स्कुलमा आउने भएकाले कलिला पैतालाहरू पनि पट्पट् फुटेका छन् ।

२०६३ सालमा स्थापना भएको उक्त विद्यालयमा ८७ छात्रछात्रामध्ये ८३ जना चेपाङ समुदायका बालबालिका छन् । टाढारटाढाबाट उक्त विद्यालयमा बालबालिकाहरू नियमित ढंगले पढ्न आउनुमा दिवाखाजा कारण छ । स्कुलले विद्यार्थीलाई दिउँसो नियमित ढंगले खाजा खुवाउने गरेको छ । ‘खाजा खान पाउने भएकाले उनीहरू नियमित ढंगले स्कुल आउने गरेका हुन्,’ प्रअ हिमडुङले भनिन्, ‘स्कुलमा खाजाको व्यवस्था नगरेको भए उनीहरू पढ्न आउने थिएनन् । उक्त स्कुलमा पढ्न आउने अधिकांश विद्यार्थीहरू नाङ्गो खुट्टामात्र होइन, घरबाट भोकै आउने गरेका छन् । घरमा खानेकुरा केही नभएकाले उनीहरू भोकै आउने गरेका हुन् । ‘स्कुलमा खाजाको व्यवस्था नगरेको भए अधिकांश बालबालिकाहरू पढ्न आउने थिएनन्,’ शिक्षक चेपाङले भने । विद्यालयले स्कुलमा बारै पिच्छे चिउरा,तरकारी, हलुवा, रोटी, मकै भटमास र फुलौरा पकाएर खुवाउने गरेको छ । चेपाङ समुदायका बालबालिकालाई दिवा खाजास्वरूप सरकारले प्रतिविद्यार्थी दैनिक १५ रुपैयाँ उपलब्ध गराउने गरेको छ । उक्त विद्यालयले सरकारले दिएको रकमको स्कुलमा खाजा खुवाउने गरिएकाले विद्यार्थी स्कुलमा पढ्न आउन आकर्षित भएका हुन् । चेपाङ समुदायका बालबालिका अध्ययन गर्ने अधिकांश विद्यालयका शिक्षकहरूले दिवाखाजास्वरूप सरकारले दिने १५ रुपैयाँ सम्बन्धित अभिभावकलाई रकमै उपलब्ध गराउने गरेका छन् । अभिभावकलाई उक्त रकम दिएका कारणले दुरुपयोग हुने गरेको छ । अभिभावकलाई रकम उपलब्ध गराएकाले उक्त रकमको प्रभावकारिता न्यून देखिएको छ । अधिकांश अभिभावकहरूले छोराछोरीलाई दिएको खाजाको रकम मादक पदार्थ र धूमपानमा खर्च गरेका छन् । चेपाङ बस्तीको माझमा रहेको उक्त विद्यालयका छात्रछात्राहरू अर्धनग्न भएर स्कुलमा पढ्न आउने गर्थे । यो वर्ष शिक्षा कार्यालयले चेपाङ विद्यार्थीहरूलाई दिएको छात्रावृत्तिको रकममा स्कुलले थप गरेर विद्यालय पोसाक हालिदिएको छ । सरकारले उनीहरूलाई छात्रावृत्तिस्वरूप ५ सय रुपैया दिने गरेको छ । विगतमा स्कुलले अभिभावकलाई उक्त रकम दिने गरेको थियो । अभिभावलाई यो वर्षको छात्रावृत्तिको रकम नदिएर त्यस्मा स्कुलले पैसा थपेर पोसाक हालिदिएकाले अर्धनग्न देखिएका छैनन्, प्रअ डिमडुङले भनिन् । यसैगरी जाडो महिना सुरु भएकाले उक्त विद्यालयका विद्यार्थीलाई शुक्रबार मिस नेपाल शृङ्खला खतिवडाले न्यानो कपडा वितरण गरेकी थिइन् । कपडा तथा तयारी पोसाक संघले उक्त गाउँका छात्रछात्राहरूलाई न्यानो कपडाको व्यवस्था गरेको थियो ।

२०७५ कार्तिक ११ गते ८:२९ मा प्रकाशित