समाचारमा बालबालिका

छोरी जन्मिए बैंक खाता

वीरेन्द्रनगर–६, बुद्धपथकी सुशीला थापाले असोज पहिलो साता छोरी प्रतिज्ञालाई जन्म दिइन् । परिवारले जन्म दर्ता गरिदिएको सातामै नगरपालिकाले प्रतिज्ञाको नाममा बैंक खाता खोलिदियो । परिवारले अन्नप्राशनमा जम्मा भएको ७ हजार रुपैयाँ पनि खातामै जम्मा गरिदिए। नगरपालिकाले खाता खोलिदिएपछि छोरीका लागि बचत गर्ने प्रेरणा मिल्यो,आमा सुशीलाले भनिन्,छोरी विद्यालय जाँदासम्म ५० हजार रकम जम्मा गरिदिने लक्ष्य छ । प्रतिज्ञाको मात्र होइन, वीरेन्द्रनगरभित्र जन्मिएका एक सय ५६ बालिकाको नाममा गत आर्थिक वर्षमा खाता खोलिएको नगरपालिकाले जनाएको छ । जनप्रतिनिधि निर्वाचित भएपछि एक सय दिनको प्राथमिकताभित्र छोरी जन्म बचत खाता कार्यक्रम समावेश गरी निरन्तरता दिएका छन् । कार्यक्रमले किशोरीमैत्री नगर निर्माण योजनालाई सघाउ पुर्‍याएको नगरप्रमुख देवकुमार सुवेदीले बताए । लैंगिक विभेद घटाउन बचत खाता सञ्चालन गरिएको उनको भनाइ छ । ‘नीति तथा कार्यक्रममै समावेश गरेर कार्यक्रम निरन्तर सञ्चालन गरिनेछ, यसले राज्यले छोरीलाई सम्झिएको सन्देश दिएको छ, उनले भने, कार्यक्रमले छोरीलाई सम्मान र माया गर्न पनि प्रेरणा दिन्छ । भ्रूण हत्या र लैंगिक विभेद न्यूनीकरणका लागि बैंक खाता कार्यक्रम सुरु गरिएको नगरपालिकाले जनाएको छ । छोरी जन्माउँदा अभिभावकले गर्व गर्ने वातावरण बनाउन खोजिएको छ । यो अभियानले बैंकिङ पहुँच बढाउन समेत मद्दत गरेको छ,नगरप्रमुख सुवेदीले भने, छोरीलाई हामीले खोलिदिएको खातामा थप रकम जम्मा गरेर अभिभावकले उनको शिक्षा, स्वास्थ्यलगायत आधारभूत आवश्यकता पूरा गराउन सक्छन् । नगरले खातालाई आधूनिक खुत्रुकेका रूपमा विकसित गर्न खोजेको जनाएको छ । वीरेन्द्रनगरले ज्येष्ठ नागरिकको सम्मानका लागि बा–आमा चौतारी’ कार्यक्रमलाई पनि निरन्तता दिएको छ । प्रत्येक वडामा गएर ज्येष्ठ नागरिकसँग भेटघाट र छलफल गर्दै आएको छ ।

यस्तै गुर्भाकोट नगरपालिकाले पनि दुई साताभित्रै बचत खाता सञ्चालन गर्ने गरी ‘बालिका जन्म प्रोत्साहन कार्यक्रम सञ्चालन गर्न थालेको छ । गत आर्थिक वर्षमै सञ्चालन गर्न खोजिए पनि विभिन्न समस्याका कारण कार्यक्रम रोकिएको थियो । सबै वडाबाट बालिका जन्मको तथ्यांक आइसकेको गुर्भाकोटका नगरप्रमुख हस्त पुनले बताए । नयाँ प्रमुख प्रशासकीय अधिकृत आउनेबित्तिकै पहिलो काम बालिकाको खाता खोल्ने हुनेछ, उनले भने, वडाबाट पायक पर्ने बैंक, वित्तीय संस्था र सहकारीमा एक हजार जम्मा गरेर नगरपालिकाले खाता खोलिदिनेछ । नगरपालिकाले खोलिदिएको खातामा अभिभावकलाई थप रकम जम्मा गर्न आग्रह गर्ने प्रमुख पुनले बताए । लैंगिक विभेद हटाउन कार्यक्रमले दीर्घकालीन सन्देश दिने उनको भनाइ छ । गुर्भाकोटमा छोराछोरी जन्मिए दुई बिरुवा रोप्नुपर्ने नियम पनि बनाइएको छ । करिब एक हजार ५ सय बिरुवा वितरण गरेको छ । पर्यावरणमा सहयोग पुर्‍याउन कार्यक्रम सुरु गरिएको हो, नगरप्रमुख पुनले भने,अभिभावकले दुई बिरुवा लैजानुपर्ने अनिवार्य नियम बनाइएको छ, तर आवश्यक परे बढी पनि वितरण गरेका छौं । नगरपालिकाले सञ्चालन गरेको नर्सरीबाट गतवर्ष करिब १८ हजार बिरुवा वितरण गरिएको थियो । वातावरण संरक्षणमा बालबालिकाको दायित्व बढाउन कार्यक्रम प्रभावकारी हुने उनी बताउँछन् । दुवै नगरपालिकाले यसका लागि जन्मदर्ता हुनैपर्ने जनाएका छन् । अधिवक्ता दुर्गाप्रसाद सापकोटाले लैंगिक समानताका लागि यो कार्यक्रम प्रभावकारी हुने बताए । यसले पुरुषप्रधान सोचाइ निरुत्साहित गर्न सहयोग पुर्‍याएको छ, उनले भने,छोरी जन्मदा अभिभावकमा उत्साह ल्याउन कार्यक्रम प्रभावकारी भएको छ ।

२०७५ भदौ ८ गते ७:२९ मा प्रकाशित