समाचारमा बालबालिका

बालबालिकाले हाँस चोरेको आरोपमा आमाबाबु सामाजिक बहिष्कारमा

बालबालिकाले हाँस चोरी गरेको आरोपमा कटहरी गाउँपालिका–७ रुडिया गाउँका ६ घरपरिवार सामाजिक बहिष्कारमा परेका छन् । गत २३ भदौमा रुडिया गाउँका ६ बालबालिकाले लट्याङ सरदारका तीनवटा हाँस चोरी गरेका थिए । सोही आरोपमा उनीहरूका परिवार सामाजिक बहिष्कारमा परेका हुन् । हाँस चोरेको आरोपमा गाउँको सामाजिक कानुन भन्दै सरदार समाजले बालबालिकाको परिवारलाई जनही पाँच हजार जरिवाना गरेको थियो । तर, समाजले गरेको जरिवाना तिर्न इन्कार गरेपछि ललिता यादव, बुजिया सरदार, टिकवा सरदार, गीता सरदार, राजकुमारी सरदार, लगनी सरदार र मञ्जादेवी सरदारको परिवार बहिष्करणमा परेको छ ।

गाउँका घरमा प्रवेश र आवतजावतमै रोक
समाजको उर्दीअनुसार जरिवाना नतिरेको भन्दै २८ असोजमा बसेको सरदार समाजको भेलाले ६ परिवारलाई गाउँका ९३ घरमा प्रवेश गर्न र आवतजावत गर्न रोक लगाएको पीडितहरूको गुनासो छ । समाजले तोकेको जरिवाना नतिरेसम्म ६ परिवारले टोलको कुनै घरमा जान नपाउने, घरआँगनको बाटो हिँड्न नपाउने, गाउँको दोकान, मिल र सार्वजनिक धारामा नजान उर्दी जारी गरिएको छ । समाजको नियम उल्लंंघन गरेमा अगुवाहरूले ९३ घरका कुनै पनि सदस्य जरिवनाको भागीदार हुनुपर्ने चेतावनीसमेत दिएका छन् । सरदार समाजका अगुवाहरू सत्यनारायण सरदार, दलकुमार ठाकुर, वेचन सरदारले सामाजिक नियम नमानेसम्म सामाजिक बहिष्कारको निर्णय फुकुवा नहुने बताए ।

बालबालिकामाथि निर्घात कुटपिट
स्थानीयका अनुसार हाँस चोरेको आरोपमा सरदार अगुवाहरूले अन्दाजी १५ वर्षीय बोल्न नसक्ने एकजना र १३–१४ वर्षका पाँचजना बालबालिकालाई नियन्त्रणमा लिई हात बाँधेर निर्घात कुटपिट गरेका थिए । थलाहा प्रहरी चौकीका इन्चार्ज असइ चूडामणि खतिवडाले बालबालिकाले हाँस चोरी गरेको भए प्रहरीमा उजुरी दिन आग्रह गरे पनि अझै नदिएको र पीडितहरूले सामाजिक बहिष्कार भयो भनेर किटानी नगरेकाले कारबाहीका लागि माथिल्लो निकायमा जाहेर गर्न समस्या भइरहेको बताए । ‘कानुन हातमा लिने छुट कसैलाई हुँदैन, गाउँपालिका अध्यक्ष आएपछि छलफल हुन्छ,’ उनले भने । आफूहरू सुकुमबासी परिवार भएको र बालबालिकाले गरेको बिज्याइँमा कानुनविपरीत आफूहरूलाई जरिवाना लगाएको र तिर्न नसक्दा सामाजिक बहिष्कार गरेको भन्दै पीडितहरू २९ असोजमा गाउँपालिकामा गुहार माग्न पुगेका थिए । तर, गाउँपालिका अध्यक्ष राजकुमार कामत तथा उपाध्यक्ष मञ्जिताकुमारी सरदारले आफूहरू दुई दिनका लागि काठमाडौं जानुपर्ने भएकाले फर्केर आएपछि छलफल राख्ने बताए । उपाध्यक्ष सरदारले हाँस चोरेको निहुँमा कुटपिट भएको विषयमा पहिले पनि उजुरी आएको र आफूहरूले छलफल राखेर पठाएको, तर मिलापत्र हुन नसकेको बताइन् । ‘कसैले पनि मनमौजी जरिवाना तिराउन र सामाजिक बहिष्कार गर्न पाइँदैन, हामी काठमाडौंबाट फर्केपछि निर्णय लिन्छौँ,’ उनले भनिन्।

२०७६ कात्तिक १ गते ७:०३ मा प्रकाशित