समाचारमा बालबालिका

राष्ट्रपतिको स्वागत गर्न बालबालिकालाई घन्टौं लाइनमा उभ्याइयो

बैतडीको पाटन नगरपालिकामा बिहीबार आयोजित राष्ट्रपति विद्यादेवी भण्डारीको स्वागत कार्यक्रममा बालबालिकालाई प्रयोग गरिएको छ । कार्यक्रमको शोभा बढाउन भन्दै उनीहरूलाई घन्टौंसम्म लाममा उभ्याइएको थियो । पाटन क्षेत्रका ६ वटा विद्यालयका सयौं बालबालिकालाई राष्ट्रपतिको स्वागतका लागि दिउँसो १२ बजेदेखि र्‍यालीमा सहभागी गराइएको थियो । त्यसपछि राष्ट्रपतिको फोटो राखेको ब्यानर र नेपालको झन्डा बोकाएर लाममा उभ्याइयो । राष्ट्रपतिको आगमन पौने ३ बजे भयो । साना स्कुले बालबालिकालार्ई कार्यक्रममा घन्टौं उभ्याएर दुःख दिइएको पाटन नगरपालिकाका बासिन्दा लोकेश चन्दले बताए । ‘कलिला नानी–बाबुलाई स्वागतका लागि घन्टौं हिँडाउनु र उभ्याउनु बालअधिकारको हनन हो,’ उनले भने, ‘नगरपालिकाले विद्यालय बन्द गरेर कार्यक्रममा सहभागी गराउँदा उनीहरूले पीडा खेप्नुपरेको छ ।

दार्चुलामा खेल प्रतियोगिता स्थगित

राष्ट्रपति दार्चुलाको मालिकार्जुन मन्दिरमा पूजाआजामा आउने भएपछि मालिकार्जुन गाउँपालिकास्तरीय राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिता स्थगित गरिएको छ । प्रतियोगिता रोकेर विद्यार्थीलाई स्वागतका लागि लगिएको थियो । प्रतियोगितामा ११ विद्यालयका विद्यार्थी सहभागी थिए । शैल्यशिखर नगरपालिका र मालिकार्जुन गाउँपालिकाका अधिकांश विद्यालयका विद्यार्थी बिहानैदेखि मालिकार्जुन मन्दिर परिसर पुगेका थिए । विद्यार्थीलाई सादा पोसाकमा स्वागतमा सहभागी गराइएको राष्ट्रिय माध्यमिक विद्यालय ठिङका शिक्षक शेरसिंह सामन्तले बताए । बिहीबार गाउँपालिकाले सार्वजनिक बिदा गर्ने निर्णय गरेको थियो ।

‘राष्ट्रपतिलाई हेर्नै पाइएनॅ
टाढाटाढाबाट कार्यक्रममा सहभागी सर्वसाधारणले राष्ट्रपतिलाई नजिकबाट हेर्न नपाएको गुनासो गरेका छन् । ‘बिहानदेखि खानासमेत नखाई पर्खियौं,’ दार्चुलाको शंकरपुर माध्यमिक विद्यालयमा अध्ययनरत सरस्वती पन्तले भनिन्, ‘नजिकबाट हेर्न पाइएन । धेरै टाढाबाट दर्शन गरियो ।’यसैगरी बैतडीको पाटनमा राष्ट्रपतिलाई भेट्न आएको तर देख्नसम्म नपाएको भन्दै कार्यक्रममा पुगेकाहरू गुनासो गरिरहेका थिए । कतिपय सर्वसाधारण निराश भएर फर्किएका देखिन्थे । बैतडीको पाटन र दशरथचन्द नगरपालिका तथा दार्चुलाको शैल्य शिखर र मालिकार्जुन गाउँपालिकाले राष्ट्रपतिलाई नागरिक अभिनन्दन गरेका छन् । मालिकार्जुन मन्दिर परिसर, त्रिपुरासुन्दरी र पाटनमा अभिनन्दन गरिएको हो । पाटनका लोकेश चन्दले नागरिक अभिनन्दनको नाममा गरिएको कार्यक्रमले राजतन्त्रको झल्को दिएको महसुस भएको बताए । ‘भ्रमणमा भएको तामझामले राजतन्त्रको गएको छैन भन्ने महसुस भयो,’ उनले भने, ‘यति धेरै तामझामको औचित्य थिएन ।’राष्ट्रपति आउने भएपछि बिहीबार बैतडी सदरमुकामको दशरथचन्द नगरपालिका र पाटन नगरपालिकाको माहोल नै बेग्लै थियो । सुरक्षाकर्मीको बाक्लो उपस्थिति थियो । त्रिपुरासुन्दरी मन्दिर सरसफाइ गरेर चिटिक्क बनाइएको थियो । मन्दिरको गेटदेखि रातो कार्पेट बिछ्याइएको थियो । कलश, फूलमालाले मन्दिर परिसर झकिझकाउ बनाइएको थियो । नागरिक अभिनन्दन गरेकामा भण्डारीले जिल्लावासीलाई धन्यवाद दिएकी थिइन् । उनी दार्चुला हुँदै बैतडी पुगेकी हुन् । राष्ट्रपति आउने भएकाले पालिकाहरूले सार्वजनिक बिदा दिएका थिए ।पाटन नगरका शिक्षा शाखा प्रमुख गणेशदत्त पन्तले राष्ट्रपतिको स्वागतमा विद्यार्थी सहभागी देखिए पनि कसले बोलाएको हो भन्नेबारे आफूलाई जानकारी नभएको बताए । राष्ट्रप्रमुख नै आउने र संघीय सांसद पनि स्थानीय भएकाले समारोहमा विद्यार्थी आएको हुन सक्ने उनले जनाए । ‘नगरले बिहीबार बिदा दिएको थियो । विद्यार्थीलाई बोलाइएकोबारे थाहा भएन,’ पन्तले भने, ‘बिदाको दिन कार्यक्रमस्थल नजिकका विद्यार्थी आएका हुन सक्छन् ।

२०७६ फागुन १६ गते ९:२६ मा प्रकाशित