समाचारमा बालबालिका

स्कुल जाँदैनन् बादी बालबालिका

आठबीसकोट नगरपालिका ९, राडी बजार तथा ठूलीभेरी नदीकिनारमै बादी बस्ती छ । बस्तीकी १३ वर्षीया सुशीला बादीले अहिलेसम्म विद्यालय जान पाएकी छैनन् । आफ्नै उमेरका साथीभाइ ६र७ कक्षामा पढ्छन् । उनलाई पनि पढ्ने रहर छ । तर, आर्थिक अभावले चाहेर पनि पढ्न पाएकी छैनन् । सुशीला मात्र होइन, उनका ३ बहिनी १० वर्षकी सरिता, ७ वर्षकी सपना र ४ वर्षकी सम्झना पनि विद्यालय जाँदैनन् । पढ्ने रहर हुँदाहुँदै पनि आर्थिक अभावले उनीहरू पढ्नेरलेख्ने मौलिक हकबाट वञ्चित छन् । बाबुको मृत्यु भइसकेको घरमा आम्दानीको स्रोत केही नभएकाले विद्यालय जान सक्ने उनीहरूको अवस्था छैन । यसअघि नगरपालिका ६, को गोतामकोट बस्दै आएका उनीहरू अहिले राडीमा अर्कैको घरमा बसिरहेका छन् । कापी, कलम र विद्यालय पोसाक किन्न सक्ने अवस्था नभएपछि आफूहरू विद्यालय जान नपाएको सुशीला बताउँछिन् । आमा मनकुमारी बिहानबेलुकाको छाक टार्न धौ भईरहेका बेला छोरीहरूलाई पढाउन नसकिएको बताउँछिन् । पति हुँदा पनि छोरीलाई विद्यालय पठाउन नसकेको उल्लेख गर्दै उनी भन्छिन्, ‘श्रीमानको मृत्युपछि झन् बिहान–बेलुकाकै छाक टार्न मुस्किल भयो । कहाँबाट पैसा जुटाएर पढाउने ?

आर्थिक अवस्था कमजोर भएर विद्यालय जान नपाएका उक्त बस्तीका यी चार दिदी–बहिनी मात्र हैनन् । उक्त बस्तीका अरू बालबालिका पनि विद्यालय पोसाक, कापीकलम लगायतका शैक्षिक सामग्री जुटाउन नसकेर विद्यालय जानबाट वञ्चित छन् । बादीहरूको परम्परागत पेसा मादल, सुल्पा बनाउने, माछा मारेर बिक्री गर्ने हो । तर, पछिल्लो समय परम्परागत पेसा संकटमा परेकाले आफूहरू समेत संकटमा परिरहेको स्थानीय तारा बादीले बताइन् । ‘हामीले बनाएका मादल बिक्री हुँदैनन् । बजारकै मादल खोज्ने बेला आइसक्यो,’ उनले भनिन्, ‘माछा पनि हामीले मात्र मार्न पाउने होइन । अरूले नै लैजान्छन् । आम्दानीको कुनै बाटो छैन ।’ आम्दानी गर्ने ठाउँ नभएपछि पढाइभन्दा पेट भर्नु पहिलो प्राथमिकता भएको उनले बताइन् । आम्दानी घरखर्चमै नपुग्ने भएपछि बालबालिकालाई विद्यालयसम्म पठाउन नसकिएको टीका बादीले बतााइन् । उनकी छोरी पनि ७ वर्ष पूरा भइसकिन् । तर, हालसम्म पनि विद्यालय भर्ना भएकी छैनन् । आर्थिक अभावकै कारण छोरीलाई विद्यालय पठाउन नसकिएको टीकाले बताइन् । ‘आफैं त परिवार कसरी पाल्ने भन्ने चिन्ताको विषय छ,’ उनले भनिन्, ‘पेट पाल्नै धौधौ भइरहेका बेला पढाइ ठूलो नहुने रहेछ ।’ टीकाले प्लस टु पास गरेकी छन् । आफूले पढदासम्म मादल बिक्री हुने तथा माछा पनि प्रशस्त लाग्ने भएकाले बाबुआमाले पढाउन सकेको उनले बताइन् । प्लस टु सम्म पढे पनि आफूले केही गर्न नसकेकोप्रति पछुतो लागेको उल्लेख गर्दै भनिन्, ‘बादीकी छोरी भनेर हो कि, जागिर कतै पाइँदैन । आर्थिक अवस्था कमजोर हुँदा छोरीलाई स्कुल हाल्न सकिनँ ।

२०७४ माघ १८ गते ०८:३९ मा प्रकाशित