समाचारमा बालबालिका

पाल्पामा घटेन बाल मृत्युदर

रैनादेवी छहरा–२, सोमादी ताङसियल गाउँका चन्द्रबहादुर र लक्ष्मी नेपालीका छोरा प्रेमबहादुरको जन्मेको ४९ दिनमै मृत्यु भयो । मंसिर १३ मा उनको मृत्यु भएको हो ।पहिलो खोप लगाई पोलियो थोपा खुवाएर घर ल्याएको राति नै छोराको मृत्यु भएको आमा लक्ष्मीले बताइन् । लक्ष्मीले सात महिना नपुग्दै मिसन अस्पतालमा छोरा जन्माएकी थिइन् ।२८ दिनसम्म एनआईसीयूमै राखिएको थियो । ‘खोप लगाउन लैजाँदासम्म मेरो बच्चा ठिक थियो,’ लक्ष्मीले भनिन्, ‘सुई लगाएर र पोलियो थोपा खुवाएर ल्याउँदा रोइरहेको थियो ।’ आफू अनपढ भएको र श्रीमान् कान नसुन्ने भएकाले बच्चाको समयमै उपचार गर्न नसकेको उनले बताइन् । उनले सात छोरीपछि छोरा जन्माएकी थिइन् । बच्चालाई गाउँघर क्लिनिकमा चार सुई र पोलियो थोपा खुवाइएको थियो । बीसीजीलगायत पीसीभी, एफआईपीयू, डीपीटी सुई लगाइएको र पोलियो थोपासमेत खुवाएको आमा लक्ष्मीले बताइन् । सोमादी स्वास्थ्य चौकीप्रमुख दिलीपप्रसाद महतोले यसलाई अनौठो घटनाका रूपमा लिएका छन् । उनका अनुसार स्वास्थ्य चौकीमा शिशुको मृत्यु भएको जानकारी आएपछि यस विषयमा गहन अनुसन्धान गरेको उनले बताए । ‘खोप लगाउँदा २४ घण्टाभित्र घटना हुन पनि सक्छ,’ उनले भने, ‘महिना नपुग्दै जन्मिएको शिशुको भित्री अंगमा अन्य रोग हुन सक्छ ।’यो प्रतिनिधि घटना मात्र हो । जिल्लामा आमा सुरक्षा र पोषणका नाममा बर्सेनि लाखौं बजेट खर्च भए पनि बाल मृत्युदरमा कमी आएको छैन । जन्मेको २८ दिन, २९ देखि ५९ महिना र ५ वर्षभित्र मृत्यु हुने बालबालिका घट्नुका साटो बढेका छन् । स्वास्थ्य कार्यालयका अनुसार ०७३र७४ मा जन्मेको २८ दिनभित्र १९ शिशुको मृत्यु भएको थियो । यस्तै ५९ दिनभित्र आठ शिशुको मृत्यु भएको छ भने ५९ दिनदेखि पाँच वर्षभित्रका १७ जना बालबालिकाको मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ । आव ०७४/७५ मा जन्मेको २८ दिनभित्र २२ शिशुको मृत्यु भएको छ । २९ देखि ५९ दिनभित्र पाँच, ५९ दिनदेखि पाँच वर्षभित्र आठ शिशुले ज्यान गुमाएका छन् । आव ०७५र७६ मा जन्मेको २८ दिनभित्र नौ, २९ देखि ५९ दिनभित्र एक शिशुको मृत्यु भएको छ । यस्तै, ५९ दिनदेखि पाँच वर्षभित्र पाँच शिशुले ज्यान गुमाएका छन् । चालु आवको साउनदेखि असोज मसान्तसम्ममा तीन महिनामा मात्रै २८ दिनभित्रका नौ शिशुको मृत्यु भएको छ । २९ देखि ५९ दिनभित्रका एक र ५९ देखि पाँच वर्षभित्रका दुई शिशुको मृत्यु भएको खोप अधिकृत ओमप्रकाश पन्थीले बताए । उनका अनुसार श्वासप्रश्वास, निमोनिया, मुटुको समस्या, कुपोषण, रक्तअल्पता, झाडापखालालगायत कारणबाट बच्चाको मृत्यु हुने गरेको छ । ‘खोप लगाउनु भनेको रोगबाट लड्ने क्षमता बढाउनु हो,’ उनले भने, ‘बाहिर नदेखिने तर भित्री अर्गानमा विभिन्न समस्या हुन सक्छन् । मृत्युको कारण त्यो पनि हो ।

२०७६ पुष ३ गते १०:३७ मा प्रकाशित