समाचारमा बालबालिका

फुट प्रिन्ट’ पछ्याउँदै शौचालय

भेरीगंगा नगरपालिका ४ स्थित सूर्यज्योति आधारभूत विद्यालयका प्रधानाध्यापक हेमन्तप्रकाश ओलीलाई सुरुसुरुमा बालबालिकालाई शौचालय पठाउनै मुस्किल पर्योय । घरमा शौचालय प्रयोग गर्ने बानी भएका बालबालिकासमेत स्कुलमा लजाउने समस्या देखियो ।

खानेपानी सुविधासहित पक्की शौचालय बनिसक्यो । तैपनि थुपै्र बालबालिका खुला स्थानमा दिसापिसाब गर्न थाले । अनेक डरत्रास देखाउँदा पनि प्रअ ओली र अन्य शिक्षकको केही लागेन । भेरीगंगाको तत्कालीन छिन्चु गाविस पूर्ण सरसफाइयुक्त घोषणा भइसक्दासमेत विद्यालय पूर्ण सरसफाइ बन्न सकेन । त्यहाँ कार्यरत सुन्दर नेपाल संस्थाद्वारा सञ्चालित सबैका लागि दिगो सरसफाइ तथा स्वच्छता कार्यक्रमले एउटा उपाय रच्यो, कलात्मक शैलीको ‘फुट प्रिन्ट’ निर्माण । जसले साना नानीहरूलाई शौचालय जान आकर्षित गरोस् । यसका लागि कार्यक्रमले आवश्यक आर्थिक तथा प्राविधिक सहयोग उपलब्ध गरायो । जीर्ण शौचालय मर्मत भयो । ‘बालबालिकालाई शौचालय प्रयोगमा बानी पार्न निकै मिहनत गरियो,’ ओलीले भने, ‘जब शौचालय परिसरमा कलात्मक ‘फुट प्रिन्ट’ बन्यो । त्यसपछि धेरै सहज भयो । आफैं हाँसीखुसी जान थाले ।’ शिक्षक, अभिभावकमात्र होइन विद्यार्थी पनि विद्यालयको पूर्ण सरसफाइको वातावरणबाट औधी आकर्षित छन् । यसले आफूहरूलाई विगतका आफ्ना नराम्रो प्रवृत्तिलाई सुधार गर्न मद्दत पुगेको उनीहरूको भनाइ छ । ८ कक्षाकी छात्रा कमला ओलीले फुट प्रिन्टसहितको शौचालय र खानेपानी धारा बन्दा आफूहरूलाई सजिलो भएको बताइन् । ‘पहिला सबै केटी शौचालय प्रयोग गर्थेनन् । अहिले सबै बानी परिसकेका छन्,’ उनले भनिन् । विद्यालयकी लैंगिक समता फोकल पर्सन चन्द्रा थापाले बालबालिकालाई फुट प्रिन्ट पछ्याउँदै शौचालय जान सजिलो भएको बताइन् । ‘महिनावारी हुँदा छात्रा विद्यालय गयल हुने समस्या थियो । सेनेटरी प्याडको व्यवस्था गर्यौं्,’ चन्द्राले भनिन्, ‘यसले गर्दा छात्राको पढाइमा सुधार आएको छ ।’ सरसफाइको वातावरणले उनीहरू जाँगरिला बनेका छन् । जिल्लाका चौकुने गाउँपालिकाका लगाम, बेतान पञ्चपुरी नगरपालिकाको छाप्रे, बराहताल गाउँपालिकाको तरंगा, भेरीगंगा नगरपालिकाको लेखपराजुल, छिन्चु, चिंगाड गाउँपालिकाको मटेला, पाम्का, गुर्भाकोट नगरपालिकाको धारापानी र सिम्ता गाउँपालिकाको घोरेटा, काफलकोट, बजेडीचौर र डाँडाखालीमा एसएनभीरडीएफआईडीको सहयोगमा सबैका लागि दिगो सरसफाइ तथा स्वच्छता कार्यक्रम सञ्चालन भइरहेको छ । पञ्चपुरी ७ स्थित मालिका माविका शिक्षक नरबहादुर सावदले शौचालयमा हातधुने स्टेसन, फुट प्रिन्ट व्यवस्थापनले बालबालिकाहरू पूर्ण सरसफाइतर्फ अग्रसर हुन पुगेको बताए । विद्यालयले सरसफाइलाई अतिरिक्त विषयका रूपमा पढाउने गरेको उनले जनाइन् । 

२०७४ पुस ५ गते ०९:०० मा प्रकाशित