समाचारमा बालबालिका

विद्यार्थीले गर्छन् शिक्षकको हाजिरी

विद्यालयमा विद्यार्थीको हाजिरी शिक्षकले गर्छन् । यहाँको एक विद्यालयमा भने विद्यार्थीले शिक्षकको हाजिरी गर्छन् । उनीहरूले शिक्षक कति बजे विद्यालय आए, कक्षाकोठामा कति बजे प्रवेश गरे, कति समयसम्म पढाए, कति समयपछि कक्षाकोठाबाट निस्किए भनेरसमेत विवरण राख्छन् । दार्मा गाउँपालिका–१ स्थित जनकल्याण प्राथमिक विद्यालयमा विद्यार्थीमैत्री वातावरण बनाउन विद्यार्थीलाई शिक्षकको हाजिरी गर्न लगाइएको हो । यसले शिक्षक र विद्यार्थी दुवैलाई सक्रिय बनाएको छ । शिक्षकका विषयमा राखेको अभिलेखको रिपोर्ट विद्यार्थीले नियमित रूपमा प्रधानाध्यापकलाई बुझाउँछन् । ‘विद्यार्थी जागरुक भएपछि शिक्षकहरू समयमै विद्यालय आउन र जिम्मेवारीपूर्वक पढाउन थालेका छन्,’ प्रधानाध्यापक कुमार देवकोटालेभने, ‘यसले शैक्षिक गुणस्तर सुधारमा सहयोग पुर्‍याएको छ ।’विद्यार्थीले व्यवस्थापन समितिका पदाधिकारी र अभिभावकको समेत निगरानी गर्छन् । ‘अभिभावक आफ्ना बालबालिकाको शिक्षाप्रति कति सचेत र उत्तरदायी छन् भन्नेबारे स्वयं विद्यार्थीले नै अभिलेख राख्छन्,’ प्रअ देवकोटाले भने, ‘विद्यार्थी र विद्यालयको अभिलेखका आधारमा नियमित चासो राख्ने अभिभावकलाई पुरस्कृत गर्ने गरिएको छ ।’विद्यालयको शैक्षिक स्तर सुध्रिएपछि जनकल्याणमा अभिभावक र विद्यार्थीको आकर्षण बढेको छ ।पछिल्लो शैक्षिक सत्रमा निजी विद्यालय छाडेर २५ जना विद्यार्थी जनकल्याणमा आएका छन् । विद्यालयमा १ सय ८३ विद्यार्थी छन्। स्थानीय अभिभावक हर्कबहादुर ओलीले शिक्षक, विद्यार्थी र अभिभावक सक्रिय हुन थालेपछि विद्यालयको पठनपाठनमा सुधार भएको बताए।

२०७६ भदौ २२ गते ८:४२ मा प्रकाशित