समाचारमा बालबालिका

रुपन्देहीका पाँच विद्यालयमा सैन्य तालिम

रूपन्देहीका पाँचवटा सामुदायिक विद्यालयका विद्यार्थीलाई नेपाली सेनाले सैन्य (राष्ट्रिय सेवा दल) तालिम प्रदान गरेको छ । बुटवलको कालिका माध्यमिक विद्यालय, कान्ति माध्यमिक विद्यालय, तिलोत्तमाको दुर्गादत्त माध्यमिक विद्यालय, जनजागृति माध्यमिक विद्यालय र सिद्धार्थनगरको भैरहवा नमुना माध्यमिक विद्यालयका विद्यार्थीलाई नेपाली सेनाले सैन्य तालिम प्रदान गरेको हो । राष्ट्र विकासको अभियानमा युवालाई स्वतःस्फूर्त सहभागी गराउने उद्देश्यले २०२२ सालमा राष्ट्रिय सेवा दल स्थापना भएको थियो । सोहीअनुसार नेपाली सेनाले राष्ट्रिय सेवा दल ऐन २०२७ मा आधारित भएर सिनियर तथा जुनियर डिभिजनका सैन्य तालिम सञ्चालन गर्दै आएको छ । जिल्लाका पाँच विद्यालयमा सञ्चालन गरिएको तालिम जुनियर डिभिजनको हो । उक्त तालिममा १४ देखि १६ वर्ष उमेर समूहका ९० जना छात्र र ९० जना छात्रा गरी १ सय ८० विद्यार्थी सहभागी छन् । सिनियरतर्फ १८ देखि २२ वर्ष उमेर समूहका हुनेछन् । बुटवलको कालिमा मावि, कान्ति मावि र तिलोत्तमाको दुर्गादत्त मावि तथा जनजागृति माविमा रामनगर ब्यारेक जबरजंग गणले तालिम प्रदान गरेको तथा भैरहवाको भैरहवा नमुना माविमा नं। २ चण्डीप्रसाद गणले तालिम प्रदान गरेको तालिमका संयोजक नेपाली सेनाका जमदार भरत अधिकारीले जानकारी दिए । युवामा सैन्य तालिमको बढ्दो मागका कारण गत आर्थिक वर्षदेखि नेपाल सरकारले तालिमलाई विशेष प्राथमिकतामा राखेको कालिका माध्यमिक विद्यालयका शिक्षक राजु शर्मा भुसालले बताए । जुनियर तहको सैन्य तालिममा डिल, खुकुरी डिल, मास पिटी, टाइगन्टु, डान्स, पब्लिक स्पिलिङ, अनुशासनलगायत कुरा सिकाएर देशमा स्वयं सेवक तयार पारेर पठाउने उद्देश्य लिइएको छ । एक विद्यालयबाट ३६ जना छात्रछात्रालाई तालिम प्रदान गर्ने गरी रूपन्देहीका पाँच विद्यालयलाई स्वीकृति माग भएबमोजिम तालिम प्रदानका लागि स्वीकृति प्रदान गरिएको रूपन्देहीका जिल्ला शिक्षा अधिकारी रामचन्द्र खनियाँले जानकारी दिए ।

२०७४ पुस १७ गते प्रकाशित