समाचारमा बालबालिका

बोर्डिङ छाडेर सरकारीमा

बौद्ध महांकालस्थित जनकल्याण माविमा विद्यार्थी बोर्डिङ छाडेर भर्ना हुन आएका छन् । प्रधानाध्यापक कुमारीकमला राईका अनुसार वैशाख पहिलो साता पहिलो प्रवेश परीक्षा लिएर १ सय १८ विद्यार्थी नयाँ भर्ना भइसकेका छन् ।गत वर्षभन्दा अहिले चाप बढेको छ,’ राईले भनिन्, ‘यसपटक नयाँरपुराना गरी एक हजारभन्दा बढी विद्यार्थी होलान् जस्तो छ ।’ उक्त विद्यालयमा गत वर्ष १० कक्षासम्म ९ सय ८१ भर्ना भएकामा करिब सय जनाले बीचैमा पढाइ छाडेका थिए ।विद्यालयले शिशुदेखि कक्षा ३ सम्म निःशुल्क दिवा खाजाको व्यवस्था गरेको छ । गणित, विज्ञान, नेपाली र अंग्रेजीमा कमजोर विद्यार्थीलाई साँझ निःशुल्क कक्षा पनि सञ्चालन गरेको छ । चीन सरकारको सहयोगमा भर्खरै १९ कोठे भवन बनेको छ । ‘निरन्तर पढ्ने विद्यार्थी छँदै छन्, अब विद्यालयको क्षमताभन्दा बढी लिन सकिँदैन, त्यसैले भर्ना चाँडै बन्द गर्नुपर्ने स्थिति छ,’ प्रधानाध्यापक राईले भनिन् । त्रिपुरेश्वरस्थित विश्व निकेतन मावि महानगरपालिकाको नमुना विद्यालयमा पर्छ । ‘हामीले नयाँ सत्रका निम्ति चैत २९ गते चार सय जनाको प्रवेश परीक्षा लिइसक्यौं,’ प्रधानाध्यापक हेरम्बराज कँडेलले भने, ‘अब फेरि दोस्रो पटक वैशाख ९ गते प्रवेश परीक्षा लिएर विद्यार्थी छान्ने छौं ।’ गत वर्ष शिशु कक्षादेखि १२ सम्म २ हजार ६ सय ३० विद्यार्थी भर्ना भएका थिए । कक्षा १० सम्म १ हजार ३ सयभन्दा बढी थिए । कुल विद्यार्थीमध्ये १० प्रतिशत स्थानीयका छोराछोरी छन् । ‘यो वर्ष कक्षा १० सम्म करिब १४ सय जना पढाउन सक्छौं,’ कँडेलले भने । अंग्रेजी माध्यमबाट पढाइ, शिक्षक–कर्मचारीले छोराछोरीलाई यहीं पढाउनु, चुस्त व्यवस्थापन यसका सबल पक्ष मानिएका छन् । यहाँ ९५ शिक्षक र १५ कर्मचारी कार्यरत छन् । छात्र र छात्रामैत्री शौचालय छन् । खाजापानीका निम्ति क्यान्टिनको व्यवस्था छ । टीटी, बास्केट बल कोर्ट छन् । विद्यालय हातासँगै वाग्मती किनारमा फुटबल मैदान छ । भूकम्पपछि विद्यालयको २४ कोठे नयाँ भवन बनेको छ । भक्तपुरको दरबार स्क्वायर हातामा रहेको पद्म मावि अब्बल मानिन्छ । भूकम्पले यसका संरचना ध्वस्त भएर पुनर्निर्माणमा ढिलाइ भएको छ तर विद्यार्थीको चाप बढ्दो छ । कक्षा ८ र ९ का लागि लिइने प्रवेश परीक्षामा पहिलो दिन आइतबार डेढ सय नयाँ विद्यार्थी सहभागी भएका छन् । वैशाखभरि अब २ पटक प्रवेश परीक्षा लिइने विद्यालयले जनाएको छ । ‘हामीले सरकारी विद्यालय छानौं, सबै साक्षर बनौं नारासहित चैतमै सहरभरि शुभकामना र्‍याली प्रदर्शन गर्‍यौं,’ प्रधानाध्यापक राम हाडाले भने, ‘अहिले नतिजा ८५ प्रतिशत छ भने अब पाँच वर्षभित्र शतप्रतिशत पुर्‍याउने लक्ष्य राखेका छौं । कक्षा १२ सम्म साधारण र प्राविधिक धारको पढाइ हुन्छ । करिब १ हजार ७ सय विद्यार्थीमध्ये आधाजसो स्थानीय छन् । ललितपुरको आदर्श शौल माविले यो वर्ष बढीमा दुई सय विद्यार्थी भर्ना गर्ने जनाएको छ । यहाँ शिशु कक्षा, नर्सरी र केजीदेखि १२ कक्षासम्म पढाइ हुन्छ । प्राविधिक धारतर्फ कम्प्युटर इन्जिनियरिङ विषय छ । भर्ना अभियानको चौथो दिनसम्म १ सय ३० विद्यार्थीको प्रवेश परीक्षा लिइसकेका छौं,’ प्रधानाध्यापक सरोजभक्त आचार्य भन्छन्, तीनदेखि पाँचवटा सेक्सन छुट्याएर पढाएका छौं । अब सेक्सन बढाउने र विद्यालयको भवन थप्ने ठाउँ छैन।

२०७६ बैशाख ९ गते ८:१३ मा प्रकाशित