छोराको पर्खाइमा छोरीलाई गर्भमै ‘त्याग’
छोरा पर्खंदापर्खंदै उनले ९ वटी छोरी जन्माइन् । ४५ वर्षको उमेरमा उनी १६ पटक गर्भवती भइसकिन् । भन्छिन्, ‘भिडियो एक्सरे गर्दा छोरी भन्ने थाहा पाएपछि कति गर्भ अस्पतालमा तुहाएँ, कति खानपान र आराम नपुगेर खेर गए ।’ उनी हुन्, कञ्चनपुरकी एक मध्यमवर्गीय महिला । छोराको चाहनामा उनले गर्भमा आएका पाँचवटी छोरी त्यागिन्, प्राविधिक भाषामा भन्दा पाँचपटक ‘गर्भपतन’ गराइन् । परिवारको दबाबमा उनले भारत गएर गर्भपतन गराएको सुनाइन् । धेरैपटकको असुरक्षित गर्भपतनका कारण अहिले उनी रक्तश्राव भइरहने, कमजोरी हुनेजस्ता स्वास्थ्य समस्या भोगिरहेकी छन् । भारत गएर लिंग पहिचान गरी पाँचपटक गर्भपतन गराउँदा उनले एक लाख खर्च गरेको सुनाइन् । ‘ऋणको पैसा लिएर भारत पुगेँ, भएको पैसा छोरी जन्मनै नदिन खर्च गरेँ, जन्मिएकालाई पढाउन पैसा छैन,’ उनले भनिन् ।
समाजमा छोरीलाई भन्दा छोरालाई प्राथमिकता दिने चलन व्याप्त हुँदा छोराको पर्खाइमा गर्भमै छोरी तुहाउने प्रवृत्ति बढ्दो छ । अस्पतालहरूको जन्मदर तथ्यांक हेर्दा बालक र बालिकाबीच जन्मदर अन्तर फराकिलो हुँदै गइरहेको छ । यसले भ्रूणको लिंग पहिचान गरी गर्भपतन गराउने प्रवृत्ति बढेको संकेत गर्छ । धेरैले भारतमा गई भ्रूणको लिंग पहिचान गर्छन् र नेपालमा आएर डाक्टरको सल्लाहबिनै गर्भपतनका औषधि किनेर खाने गरेका छन् । डेढ दशकअघिदेखि नेपालमा गर्भपतनले कानुनी मान्यता पाएको छ । कानुनअनुसार महिलाको मञ्जुरीमा १२ सातासम्म, जबरजस्ती वा हाडनाता करणीबाट रहन गएको १८ सातासम्मको गर्भलाई पतन गराउन मिल्छ । यस्तै, गर्भमा रहेको बच्चाका कारण महिलाको जीवन खतरामा पर्ने सक्ने अवस्थामा पनि कानुनले गर्भपतन गर्ने स्वीकृति दिएको छ । गर्भमा छोरी भएकै आधारमा गर्भपतन गर्ने हुँदा देशमा अझै ५८ प्रतिशत महिला असुरक्षित गर्भपतन गराइरहेको परिवार स्वास्थ्य महाशाखाका पूर्वनिर्देशक डा। नरेशप्रताव केसीले बताए ।
‘गर्भपतन महिलाको प्रजनन अधिकारका लागि ल्याइएको हो, छोरी त्याग्नका लागि प्रयोग भइरहेको छ, यस्ता काम सरकारले मान्यता नदिएको स्वास्थ्य संस्था र व्यक्तिबाट लुकीछिपी भइरहेका छन्,’ उनले भने । विश्व स्वास्थ्य संगठनका अनुसार हरेक वर्ष विश्वमा ४७ हजार महिलाको मृत्यु असुरक्षित गर्भपतनकै कारण हुन्छ । भ्रूण पहिचानपछिको गर्भपतन यसको मुख्य कारण भएको स्त्रीरोग विशेषज्ञहरू बताउँछन् । लिंग छनोटपछिको गर्भपतनलाई भने कानुनले दण्डनीय घोषित गरेको छ । गर्भपतन गर्ने र गराउनेलाई ६ महिनादेखि दुई वर्षसम्म कैद सजाय हुने कानुनी व्यवस्था छ । तर अहिलेसम्म एक जना पनि कानुनको दायरामा नआएको कानुनी आयोगका अधिवक्ता हिमालचन्द्र अर्याल बताउँछन् । ‘गर्भपतन गर्ने र गराउनेको मिलेमतोमा गोप्य ढंगले यस्ता काम हुने भएकाले घटनाहरू बाहिर आउँदैनन्, कानुनले लिंग छनोटपछिको गर्भपतन बालबालिकाको जन्मन पाउने अधिकारको हनन हो,’ उनले भने । २०६८ को जनगणनाअनुसार पाँच वर्षमुनिका बालबालिकाको अनुपात १०४ (छोरा) र ९४ (छोरी) छ । विश्व स्वास्थ्य संगठनले बालबालिकाको जन्म अनुपात १ सयको हाराहारीलाई प्राकृतिक मानेको छ । संगठनले बालबालिकाको जन्म अनुपात बढ्नुमा लिंग छनोटपछिको गर्भपतनलाई प्रमुख कारण मानेको छ । संगठनका अनुसार यो समस्या विश्वव्यापी बन्दै गइरहेको छ । केन्द्रीय बालकल्याण समितिले गरेको एक सर्वेक्षणअनुसार गर्भधारणपछि भ्रूणको पहिचान गरी गर्भपतन गराउनेमा पढेलेखेकादेखि निरक्षर र सम्पन्नदेखि विपन्नसम्म तथा समाजमा प्रतिष्ठित भनिएकादेखि आमनागरिकसम्मका व्यक्तिहरू छन् । समितिका कार्यकारी निर्देशक तारक धिताल भन्छन्, ‘छोरा नै चाहिन्छ भन्ने पारिवारिक र सामाजिक दबाबले लिंग छनोटपछिको गर्भपतनलाई बढावा दिएको छ, स्वास्थ्यकर्मी र संस्थाहरूबाटै यस्तो काम भइरहेको छ ।
२०७४ माघ १० गते ७:२८ मा प्रकाशित