समाचारमा बालबालिका

बलात्कार प्रयास घटना मिलाउन खोज्‍ने दुई पक्राउ

https://ekantipur.com/pradesh-1/2021/02/27/161439107753427315.html  फाल्गुन १५, २०७७

मोरङ — बलात्कार प्रयासको घटना गाउँमै मिलाउन खोजेको आरोपमा जहदा गाउँपालिकाका दुई जना पक्राउ परेका छन् । घटना मिलाउन दबाब दिनेमध्येका पर्शुराम सरवरिया र सानदेव सरवरिया पक्राउ परेका हुन् ।

इलाका प्रहरी रानीका प्रमुख प्रहरी निरीक्षक दीपक थापाले पीडित ११ वर्षीया बालिकाका परिवारले घटनाको सातौं दिन बिहीबार जाहेरी दिएका थिए । स्थानीय ४५ वर्षीय राजेन्द्र सरवरियाले फागुन ६ गते दिउँसो ४ बजेतिर बालिकालाई घरबाट मावली घर जाने क्रममा फकाइफुल्याइ मकै बारीमा लगेर बलात्कार प्रयास गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरी निरीक्षक थापाले बताए ।

‘पहिलो दिन सरवरियाले लुगा खोल्न लागेपछि बालिका भाग्न सफल भएकी थिइन्,’ उनले भने, ‘त्यसको दुई दिनपछि दोस्रोपटक पुनः बलात्कारप्रयास गरेपछि मात्रै बालिकाले घटनाबारे परिवारजनलाई जानकारी गराएको पाइयो ।’

सानैमा आमाको मृत्यु र बुबा बेपत्ता भएदेखि मावली हजुरआमाले बालिकाको पालनपोषण गर्दै आएको थापाले बताए । ‘अगुवा भनाउँदाहरूले गाउँमै छलफल गरेर घटना मिलाउने प्रयास गरेको पाइयो,’ उनले भने, ‘पैसा लिएर मिल्नुपर्छ भन्ने प्रस्ताव राखेर पीडित पक्षलाई घटना मिलाउन दबाब दिएको खुलेको छ ।’ ढिलो गरी जाहेरी आउँदा आरोपित सरवरिया फरार भएकाले खोजी भइरहेको प्रहरी निरीक्षक थापाले बताए ।