समाचारमा बालबालिका

गाउँबाट पढाउने भन्दै ल्याएर किशोरीलाई बन्धक र बलात्कार, दुई जना पक्राउ

https://ratopati.com/story/172981/2021/3/24/rape-news- चैत ११, २०७७

बुटवल । गाउँबाट पढाउने भन्दै ल्याएर बन्धक बनाइ दुई किशोरीलाई बलात्कार गरेको आरोपमा रुकुम पूर्वमा दुईजना युवक पक्राउ परका छन् । उनीहरुले जिल्लाको विकट क्षेत्र मानिने भूमि गाउँबाट  १४ र १५ वर्षका दुई किशोरीलाई रूकुमकोट बजारमा ल्याएर बन्धक बनाई करणी गरेको प्रहरीले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका प्रहरी नायव उपरीक्षक गणेश बहादुर श्रेष्ठले बन्धक बनाउने कार्यमा संलग्न रुकुम पूर्वका २३ र १४ वर्षका युवक पक्राउ परेको रातोपाटीलाई बताए । पकाउ पर्ने २३ वर्षीय युवक एम्बुलेन्स चालक हुन् । श्रेष्ठले भने, ‘उनीहरुले गाउँबाट पढाइदिन्छु भन्दै ल्याएर बन्धक बनाएका रहेछन्, हामी थप अनुसन्धान गर्दैछौँ ।’  

कसरी बन्धक बनाए  ?
चैत १ गते जिल्लाको भूमिगाउँबाट किशोरीहरुलाई एम्बुलेन्स चालक र अर्का युवकले  पढाइदिने भन्दै रूकुमकोट बजारमा ल्याए। उता घरतिर कुनै खवर नगरी युवतीहरू हराएपछि परिवारमा हल्लीखल्ली भयो । घरबाट हराएका ती किशोरीहरु ९ दिनसम्म पनि परिवारको सम्पर्कमा नआएपछि सोमबारमात्र प्रहरीमा आफन्तको निवेदन परेको थियो ।  लगत्तै खोजतलास गर्दा रूकुमकोटबाट अभियुक्त पक्राउ परेका थिए ।  किशोरीलाई २३ वर्षीय युवकको कोठामा बन्धक बनाएर जबरजस्ती करणी गरेको अवस्थामा फेला पारी उद्दार गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

ल्याएपछि पढाउने व्यवस्थाको साटो बन्धक बनाएर करणी गर्न थालिएको पीडित किशोरीले प्रहरी सामु बयान दिएका छन् । 
चैत १ गते अपहरण गरेर कोठामा बन्धक बनाएर राखेको दिनबाटै किशोरीहरूमाथि करणी हुँदै आएको अनुसन्धानबाट खुल्न आएको डीएसपी श्रेष्ठले बताए ।

किशोरीहरुको स्वास्थ्य परीक्षण गरी प्रहरीको संरक्षणमा राखिएको छ । उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको र छिट्टै आफन्तको जिम्मा लगाउने डीएसपी श्रेष्ठले बताए । अभियुक्तहरूले किशोरीलाई कोठामा थुनेर राख्ने र विहान

बेलुका दिशा पिशाव गर्नको लागि मात्र बाहिर निकाल्ने गरेको पीडितले प्रहरीलाई बताएका छन् । 
बालिकाहरू रुने, चिच्याउने गरेमा विभिन्न धम्की दिने गरेको पनि प्रहरीले जनाएको छ। अभियुक्तमाथि अपहरण, शरीर बन्धक र जबरजस्ती करणीको मुद्धा दर्ता गरिएको छ ।