समाचारमा बालबालिका

बलात्कार आरोपमा ललितपुरका एक शिक्षक पक्राउ

https://ekantipur.com/news/2021/03/16/161586073557062325.html  चैत्र ३, २०७७

काठमाडौँ — १५ वर्षीया किशोरीलाई बलात्कारको आरोपमा ललितपुरस्थित एक सरकारी विद्यालयका शिक्षक पक्राउ परेका छन् । माध्यमिक तहकी छात्रालाई जबर्जस्ती करणी गरेको आरोपमा पारिवारिक नातासमेत पर्ने शिक्षक रवि केप्छाकीलाई ललितपुर प्रहरीले गत फागुन २६ मा पक्राउ गरेको हो । 

मजदुरीका क्रममा भारत गएका बुबाआमासँग उतै रहेकी किशोरी तीन वर्षअघि नेपाल फर्केर आफन्तकहाँ बस्दै आएकी थिइन् । ललितपुर प्रहरीका अनुसार किशोरीको प्रेग्नेन्सी रिपोर्ट ‘पोजिटिभ’ देखिएको छ । तर केप्छाकीले आरोप अस्वीकार गरेकाले प्रहरीले डीएनए परीक्षणको तयारी गरेको छ ।

 

सोधपुछका क्रममा किशोरीले दुई महिनादेखि महिनावारी रोकिएको बताएकी थिइन् । किशोरीले प्रहरीसँग सुरुमा आफूमाथि आफन्तबाटै यौनहिंसा भएको बताए पनि केप्छाकी पक्राउ परेपछि फरक बयान दिएकी छन् । ललितपुर प्रहरी प्रमुख एसएसपी किरण वज्राचार्यले पीडितले बयान फेरेका कारण सुरुमै जबर्जस्ती करणीको कसुरमा मुद्दा दर्ता गर्न नसकिएको बताइन् ।

बलात्कार आरोपबारे सोधपुछमा जाँदा केप्छाकीले प्रहरीमाथि अभद्र व्यवहार गरेका थिए । त्यसबेलासम्म प्रहरीमा जाहेरी पनि दर्ता भएको थिएन । जाहेरी दर्ता गरेपछि पक्राउ गर्दा आरोपित भाग्ने आशंकामा प्रहरीले अभद्र व्यवहारको कसुरमा जिल्ला प्रशासन कार्यालयबाट म्याद थप गरेर केप्छाकीविरुद्ध मुद्दा चलायो । अभद्रको कसुरमा हिरासतमा राख्ने सुरुको म्याद मंगलबार सकिँदै छ । पीडितलाई आश्रय दिइरहेको संस्थाले केप्छाकीविरुद्ध जबर्जस्ती करणीको आरोपमा आइतबार प्रहरीमा जाहेरी दिएको छ । करणीको जाहेरी परेपछि वृत्तले जिल्ला अदालत ललितपुरबाटै अनुमति लिएर थप अनुसन्धान अघि बढाउन लागेको हो ।

किशोरीको नियमित महिनावारी रोकिएपछि सहपाठी र वरपरकाले घटना कसरी भयो भन्नेबारे सोधपुछ गरेका थिए । त्यसपछि घटनाबारे शिक्षक केप्छाकी शंकाको घेरामा तानिएका हुन् । किशोरीसँग प्रहरीले सोधपुछ गर्दा कुरामा तालमेल नमिल्ने, हडबडाउने, अनुसन्धान नगर्न आग्रह गर्ने र अनुसन्धान गरेमा मर्छु भन्नेजस्ता अस्वाभाविक स्वभाव देखाएको एसएसपी वज्राचार्यले बताइन् ।

बालिका बलात्कार आरोपमा पक्राउ

स्याङ्जा– १३ वर्षीया बालिका बलात्कार आरोपमा प्रहरीले ३३ वर्षीय पुरुषलाई पक्राउ गरेको छ । पीडितले प्रहरीमा दिएको जाहेरीका अनुसार बालिकालाई गत कात्तिक १२ को साँझ ललाइफकाइ बलात्कार गर्ने हरिनास गाउँपालिका–७ अर्गलीका भेलबहादुर थापा पक्राउ परेका हुन् । बालिका गर्भवती भएपछि मात्रै घटना बाहिर आएको हो । आइतबार पक्राउ परेका थापालाई जिल्ला अदालतबाट ५ दिनको म्याद थप गराई अनुसन्धान चलिरहेको स्याङ्जा प्रहरी प्रमुख एसपी होविन्द्र बोगटीले बताए ।