समाचारमा बालबालिका

छात्रावासमा बसेकी छात्राको मृत्यु

https://www.onlinekhabar.com/2021/04/948272 २०७८ वैशाख ११

११ वैशाख, बुटवल । रुपन्देहीको एक निजी विद्यालयको छात्रावासमा बस्दै आएकी एक छात्राको उपचारका क्रममा मृत्यु भएको छ । तिलोत्तमाको नयाँमिलस्थित प्यारामाउन्ट बोर्डिङ स्कुलमा कक्षा १० मा अध्ययनरत १५ वर्षीया प्रतिमा सापकोटाको मृत्यु भएको हो ।

ज्वरो र पेट दुख्ने समस्या देखिएकी उनलाई शनिबार परिवारका सदस्यले मणिग्रामस्थित क्रिमसन अस्पतालमा उपचारका लागि लगेका थिए । तर अस्पताल पुर्‍याएलगत्तै उनको मृत्यु भयो ।

मृतकका दाजु प्रकाश सापकोटाले बहिनीलाई दुईदिनदेखि ज्वरो आएपनि समयमै उपचार नगराउँदा मृत्यु भएको दाबी गरे । ‘हामीलाई कोभिड–१९ संक्रमणकै कारण मृत्यु भएको शंका छ,’ प्रकाशले भने ।

छात्राको मृत्युपछि विद्यालयले होस्टेलमा रहेका विद्यार्थीहरुको पीसीआर परीक्षणका लागि स्वाब संकलन गराएको छ । तर रिपोर्ट आइनसकेको विद्यालयका सहायक प्रिन्सिपल एलडी किराँतले बताए । उनका अनुसार छात्रावासमा प्रतिमासँगै ५० जनाभन्दा बढी विद्यार्थी थिए ।

प्रतिमाको मृत्युपछि केही विद्यार्थी र अभिभावकले विद्यालय घेराउ गर्दै नाराबाजीसमेत गरेका थिए ।