समाचारमा बालबालिका

जब बुबाले नै जबर्जस्ती गरे...

https://ekantipur.com/pradesh-5/2021/02/05/161249239471423748.html  माघ २३, २०७७

तिलोत्तमा — घरको एउटा कोठामा सानी बालिका टोलाइरहेकी थिइन् । छेवैमा साथी र दिदी पनि थिए । आँखाभरि आँसु लिएकी उनी बेलाबेलामा रुने र डराउने गर्थिन् । ११ वर्षीया ती बालिका बुटवल उपमहानगरपालिका–११ की हुन्, जो आफ्नै बुबाबाट जबर्जस्ती करणीको सिकार भएकी छन् ।

माघ ७ गते बिहान विद्यालय गएकी ती बालिका पछिपछि गइरहेका बुबासँग डराइरहेकी थिइन् । शिक्षिकाले उनी डराउनुको कारण सोधिन् । बालिकाले रुँदै आफूमाथि भएको कुकर्मबारे बेलीविस्तार लगाइन् । आफूलाई धेरैपटक बुबाले ‘फोहोरी काम’ गरेको उनले बताएकी थिइन् । ‘१० मिनेट परको आफन्तको घर छँदासम्म सुरक्षित हुन्थें तर घर पुगेपछि हरेक दिनजसो मलाई फोहोरी काम गर्नुहुन्थ्यो,’ उनले भनिन्, ‘गाह्रो भएपछि मिसलाई भनें ।’

मजदुरी गर्ने बुबाले कहिले होटलबाट खानेकुरा ल्याइदिने त कहिले कोठामै भात पकाएर खुवाउने गरेको उनले सुनाइन् । बालिकाका अनुसार बुबाले मादक पदार्थ सेवन गरेर आमालाई कुट्ने गरेपछि अन्तै विवाह गरेकी छन् । भाइहरूदेखि तर्काएर आफूलाई अलग्गै कोठामा लगी जबर्जस्ती गरेको उनले बताइन् । बालिकाका अनुसार धेरै पहिलेदेखि नै बुबाले आफ्नो शरीरका विभिन्न अंग छुने, सुमसुम्याउने गर्थे । ‘चिच्याउन खोज्दा मुख थुनिदिने, घाँटी च्यापिदिने गर्थे,’ उनले भनिन्, ‘दुख्यो भन्दा समेत अब एकपटक भन्थे ।’ घटनाबारे बालिकाले आफन्तलाई समेत भन्न सकेकी थिइनन् । बालिकाले मुख खोली हाल्छे कि भन्ने सोचले पछिल्लो समय उनका बुबा पछिपछि लागिरहन्थे ।

घटना थाहा पाएपछि विद्यालयले बुटवल उपमहानगरपालिकास्थित जिल्ला बाल संगठनमा घटनाबारे जानकारी गराएको थियो । पिताबाटै बलात्कृत बालिकाको संरक्षणका लागि विद्यालयले आग्रह गरेपछि यहाँस्थित एक संस्थालाई घटनाको जानकारी गराइयो । बालिकालाई उपमहानगरपालिकाकी उपप्रमुख गुमादेवी आचार्य र संस्थाका अध्यक्षको समन्वयमा संरक्षण गरी राखिएको छ । उनी विद्यालयमा अध्ययन गरिरहेकी छन् । उनी आश्रित संस्थामा अन्य बालिका पनि छन् । बिहान विद्यालय जाने, साँझ फर्किई गृहकार्य गर्ने र साथी, दिदीबहिनीसँग खेल्ने गरेर उनको समय बितेको छ ।

संरक्षित संस्थाका प्रतिनिधिले बालिका मानसिक रूपमा अझै पनि डराइरहेकाले उनलाई सहज बनाउन एक्लै र शान्त वातावरणमा राख्ने गरेको बताइन् । ‘बालिका पटक–पटक रुने गरेकी छन्,’ उनले भनिन्, ‘भाइहरू र घर सम्झिएर रोएको भन्ने जवाफ दिन्छिन् ।’ बालिकालाई सानैदेखि आमाको मायासमेत प्राप्त नभएको पीडासमेत अहिलेको रुवाइमा झल्काउने र भन्ने गरेको उनले बताइन् ।

उनका बुबालाई हाडनातामा जबर्जस्ती करणीसम्बन्धी मुद्दा दर्ता गरी प्रहरी कार्यालयमा थुनामा राखेर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक सत्यनारायण थापाले बताए ।