समाचारमा बालबालिका

गुल्मीमा आठ महिनामा ९८ महिला तथा बालबालिका हराए

रेसुंगा नगरपालिका १२ की २७ वर्षीया सकुन्तला घर्तीका श्रीमान् रोजगारीका लागि विदेशमा छन् । घरको जिम्मेवारी सम्हालेर बसेकी सकुन्तला १४ फागुनबाट परिवारको सम्पर्कमा छैनन् । एउटा छोरा घरमै छाडेर हिँडेकी सकुन्तलाको अहिलेसम्म अत्तोपत्तो छैन । उनी फर्केर आउँछिन् कि भनेर परिवारका सदस्यले लामो प्रतीक्षा गरे । सम्भावित ठाउँमा खोजतलास पनि गरे । तर, कुनै खबर नपाएपछि सुकन्तलाका देवर रामबहादुर घर्तीले भाउजू हराएको भन्दै प्रहरीमा उजुरी गरेका छन् । रुरु गाउँपालिका ५, बम्घाकी २७ वर्षीया हेमा राना १ चैतमा कपडा धुन भन्दै घरबाट हिँडिन् । घरनजिकैको पँधेरामा गएकी हेमा अझै घर फर्किएकी छैनन् । सोधीखोजी गर्दा पत्तो नलागेपछि सासूआमा यममाया रानाले ५ चैतमा जिल्ला प्रहरी कार्यालयमा बुहारी हराएको उजुरी दिएकी छिन् । रेसुंगा नगरपालिका ८ का १५ वर्षीय दीपक खनाल गएको २५ पुसमा घरबाट हराए । आमा पार्वती खनालले स्थानीय प्रहरीलाई छोरा खोजी गरिदिन भन्दै उजुरी दिएकी छिन् । तर, तीन महिना बित्न लाग्दा पनि दीपकको अत्तोपत्तो छैन । यी त केही उदाहरण मात्र हुन् । यस्ता समस्या गुल्मीमा प्रत्येक वर्ष बढ्दै छन् ।

प्रत्येक वर्ष हराउनेको संख्या बढ्दो
जिल्ला प्रहरी कार्यालय गुल्मीको तथ्यांकअनुसार आर्थिक वर्ष ०७२/७३ मा ७९ जना मानिस हराएका थिए । जसमध्ये महिला ६२, बालक ११ जना र बालिका ६ जना थिए । हराएकामध्ये महिला २५, बालक र बालिका ५–५ जना गरी ३५ जना मात्रै सम्पर्कमा आए । अहिलेसम्म ४४ जना सम्पर्कबाहिर छन् । आर्थिक वर्ष ०७३/७४ मा ९८ जना हराएका थिए । जसमा महिला ७०, बालिका ११ र बालक ९ थिए । जसमध्ये अहिलेसम्म महिला १२, बालिका ५ र बालक ४ जना मात्रै भेटिएका छन् । बाँकी ७९ जना अझै पनि सम्पर्कबाहिर रहेका जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक डाक्टरप्रसाद चौधरीले जानकारी दिए । आर्थिक वर्ष ०७४/०७५ को आठ महिनामै ९८ मानिस हराइसकेका छन् ।

भेटिए प्रहरीमा खबर गर्दैनन्
परिवारको सदस्य हराए पीडितले तुरुन्त प्रहरीलाई खबर गर्छन् । खोजी गरिदिन भन्दै ताकेता गर्छन् । तर, हराएका मानिस भेटिए प्रहरीलाई कमैले मात्र जानकारी दिने गरेका प्रहरी निरीक्षक चौधरीले बताए । हराएका कतिपय भेटिए पनि प्रहरीलाई खबर नगर्दा हराउनेको सूची लामो भएको हुन सक्ने चौधरीको भनाइ छ । ‘कतिपय महिला र किशोरकिशोरीले भागी विवाह गर्ने, तर परिवारलाई खबर नगर्नाले पनि हराउनेको संख्या बढी देखिएको हुन सक्छ,’ चौधरीले भने 

किन हराउँछन् मानिस ?
हराउनेमध्ये १६ देखि २५ वर्ष उमेर समूहका महिला बढी छन् । पछिल्लो समय पति विदेशमा भएका महिलाहरू हराउने क्रम बढेको छ । कतिपयले पतिले विदेशबाट पठाएको रुपैयाँसमेत लिएर भागेका छन् । शारीरिक अपांगता, मानसिक असन्तुलन, परिवारमा हुने झै–झगडा, सामाजिक अवहेलनाजस्ता कारणले गर्दा पनि मानिसहरू बेपत्ता हुने गरेका प्रहरी सहायक निरीक्षक सत्यनारायण यादवले बताए । रेसुंगा बहुमुखी क्याम्पसका क्याम्पसप्रमुख हरिबहादुर खत्रीले महिला तथा बालबालिका हराउने संख्या बढ्दै जानु गम्भीर भएको बताए । हराउने क्रम बढ्नुमा प्रहरीले दिएको कारणबाहेक अरू पनि हुन सक्ने भन्दै खत्रीले त्यसको खोजी हुनुपर्नेमा जोड दिए । मानव अधिकारकर्मी गणेश श्रेष्ठले जिल्लाबाट मानिस हराउने क्रम बढ्दै जानु प्रहरी संगठन र जिल्लाकै लागि चुनौतीको विषय भएको बताए ।

हराउनेमा महिला धेरै

जिल्ला प्रहरी कार्यालय गुल्मीको तथ्यांकअनुसार जिल्लाबाट हराएका महिला र बालिकाको संख्या धेरै छ । आर्थिक वर्ष ०७४/७५ को पछिल्लो आठ महिनामा मात्रै गुल्मीबाट हराएका ९८ मध्ये ६८ महिला छन् । त्यस्तै, १५ बालिका र ७ बालक पनि हराएको उजुरी दर्ता भएको जिल्ला प्रहरी कार्यालय महिला तथा बालबालिका सेलकी झरना परियारले जानकारी दिइन् । यस अवधिमा जिल्लाबाट ९ पुरुष बेपत्ता भएका छन् । हराएकामध्ये केही फेला परेका छन् । ९८ मध्ये २० जना फेला परेको प्रहरीको तथ्यांकमा उल्लेख छ । हराएका ६८ महिलामध्ये १२ जना फेला परेका छन् । ५४ महिलाको अझै अत्तोपत्तो छैन । त्यस्तै, साउनदेखि फागुनसम्म सातजना बालक हराएका छन् । जसमध्ये एकजना फेला परेका छन् भने ६ जना सम्पर्कमा आउन सकेका छैनन् । बालिका पनि १५ जना हराएको तथ्यांक प्रहरी कार्यालयमा छ । जसमध्ये पाँचजना भेटिएका र १० जना सम्पर्कबाहिर रहेको प्रहरीले जनाएको छ । गत साउनमा सबैभन्दा धेरै १९ जना हराएका थिए । जसमध्ये ९ महिला, ३ बालिका, ४ बालक र ३ पुरुष छन् । भदौ महिनामा १०, असोजमा १३, कात्तिकमा ११, मंसिरमा ९, पुसमा ६, माघमा १५ र फागनुमा १४ जना हराएका छन् ।

२०७४ चैत्र १३ गते प्रकाशित