समाचारमा बालबालिका

८ हजार बालबालिका क्लबमा समेटिँदै

साना बालबालिका लामबद्ध थिए । उनीहरू आफ्ना नेतृत्व चयन गर्न उत्साही देखिन्थे । ‘कोभन्दा को कम’ भने झैं बालबालिकाबीच नेतृत्वको होडबाजी नै चलिरहेको थियो । धनकुटा नगरपालिका ४ छारागाउँस्थित चौरमा भेला भएका बालबालिकाहरू आफ्नो बालक्लबको नेतृत्वका लागि यसरी जुटिरहेका थिए । स्थानीय छारागाउँ बालक्लबको गठन गर्ने क्रममा देखिएको दृश्य हो यो । त्यसो त धनकुटा नगरपालिकाले टोलबस्ती स्तरमा गठन गर्दै आएको अधिकांश बालक्लबको नेतृत्व चयनका लागि यस्तै प्रतिस्पर्धा हुने गरेको छ । गत वर्षदेखि थालिएको बालक्लबको पुनर्गठनका क्रममा मुख्य पदका लागि धेरै जना आकांक्षी हुँदा होडबाजी हुने गरेको सहभागी निर्देशिका थापाले बताइन् । ‘बालक्लबले हामीबीच नेतृत्व सीप, अनुशासन, जिम्मेवारीपन बढाउने गरेको छ’,उनले भनिन्, ‘साथीभाइबीच स्वास्थ्य प्रतिस्पर्दा हुने भएकाले क्लब गठनपछि हामी मिलेर गतिविधि गर्छौं । क्लबको नेतृत्वमा भएको प्रतिस्पर्धामा थापाले उक्त क्लबको अध्यक्षमा चयन भएकी छन् । उनले संगठित भएर भित्ते पत्रिकादेखि अन्य रचनात्मक कामका लागि बालक्लब फलदायी भएको बताइन् । यस्तै अध्यक्षको पदकी दावेदार रहेकी दिलकुमारी श्रेष्ठले सचिव पदमा चित्त बुझाउनु परेको बताइन् । उनले अब मिलेर काम गर्ने बताइन् ।

एकापसमा मिलेर विभिन्न गतिविधि गर्न पाउनु सबैभन्दा राम्रो पक्ष हो’, उनले भनिन्, बालअधिकारकाबारे हामीलाई चनाखो बनाउन मद्दत मिलेको छ । थापा र श्रेष्ठबीच अध्यक्ष र सचिव पदमा गोलाप्रथाबाट पदको छिनोफानो गरिएको थियो । थापाले अध्यक्ष र श्रेष्ठले सचिव पदको गोला प्राप्त गरेका थिए । निर्वाचनको सामान्य प्रक्रियामा गएर गठन गरिए पनि आफूहरू एकजुट भएर काम गर्ने दुवैले बताए । कतिपय क्लब गठनका बेला चुनाव समेत हुने गरेको सामाजिक परिचालक रेनु पौड्यालले बताइन् । कतिपय स्थानमा निर्वाचन पद्धतिअनुसार मतदान गरिने कतिपयमा गोला प्रथाबाट समेत नेतृत्व चयन गरिने गरिएको पौड्यालले जानकारी दिइन् । स्थानीय गणेशधार टोलमा समेत बाल क्लब गठन गर्दा बालबालिकाबीच नेतृत्वका लागि होडबाजी चलेको छ । त्यहाँ आइतबार गठन गरिएको नमुना बालक्लबको अध्यक्षमा दुई जना आकांक्षी देखिए । अन्य पदमा पनि तँछाडमछाड अवस्था देखिन्थ्यो । सहभागी बालबालिका, स्थानीय अभिभावक, सामाजिक परिचालक लगायतको पहलमा पद व्यवस्थापन गरिएको थियो । धनकुटा नगरपालिकाले नगरका प्रत्येक वडाका १० विभिन्न टोलमा बालक्लब गठन थालेको छ । यसअन्तर्गत कम्तीमा आठ हजार बालबालिका क्लबमा समेटिने लक्ष्य लिएको बालमैत्री स्थानीय शासन कार्यविधि २०६८ अनुसार सम्पर्क व्यक्ति तथा नगरपालिकाका प्रबन्धक नुषराज श्रेष्ठले जानकारी दिए । यस्तै साढे ५ सय बालबालिका क्लबको विभिन्न जिम्मेवारी पदमा समेटिँदै छन् । बालमैत्री स्थानीय शासन कार्यविधिमा नगरपालिका प्रमुख चिन्तन तामाङ अध्यक्ष रहेका छन् । उनले बालबालिकाको व्यक्तित्व विकासका लागि बालक्लब गठन गरिएको बताए । बालमैत्री स्थानीय शासन २०६८ अनुसार बालबालिकाको भेलाबाट नै आफ्ना अधिकारका सवालमा सम्बन्धित निकायहरूमा माग राख्ने गरिएकाले बालक्लबको महत्त्व रहने उनले जानकारी दिए । २०७६ सालभित्र धनकुटा नगरपालिकालाई बालमैत्री नगर घोषणा गरिने भएको छ । जसअनुसार १० देखि १८ वर्ष उमेर समूहका बालबालिका समेटेर विद्यालय र टोलबस्तीमा बालक्लब गठन गरिँदै आएको प्रबन्धक श्रेष्ठले बताए ।

 २०७५ जेठ १६ गते  १०:०८ मा प्रकाशित