समाचारमा बालबालिका

भारतमा अलपत्र ७ बालबालिकाको उद्धार

बुबाले सानैमा घर छाडे । ३ महिनापछि आमाले अर्को विवाह गरिन् । सुरुमा उनलाई पनि आमाले सँगै राखिन् । पछि, आमाले पहिलाकै श्रीमानको घरमा फर्काइदिइन् । ‘यता हजुरआमाले पोइला गएकी आमाकी छोरी भनेर हेलाँ गर्न थालिन्,’ भारत, बिहारबाट साताअघि उद्धार गरी नेपाल फर्काइएकी जनकपुरकी ११ वर्षीयाले सुनाइन्, ‘२ वर्षअघि घरबाट भागेर बिहार पुगें । आफू सुरुमा मुजफ्फरपुरस्थित एक घरमा काम गरेर बसेको उनले सुनाइन् । ‘पछि साहुनीले अर्को घरमा पठाइदिइन् । त्यहाँकी साहुनीले धेरै कुटपिट गर्थिन्,’ ती बालिकाले सम्झिइन्, ‘सहन नसकेर भागें, रेलवे स्टेसन पुगेपछि प्रहरीले समातेर चिल्ड्रेन होम पठाइदियो ।’ बिहारमा पटक–पटक बेचिएकी वीरगन्जकी ९ वर्षीयाले पहिल्यै आमा गुमाइन् । बुबा कामको सिलसिलामा भारत बस्थे । उनी हजुरआमासँग बस्थिन् । अस्पतालमा कार्यरत हजुरआमाले डेढ वर्षअघि एक भारतीय डाक्टरको घरमा काम गर्न भनी उनलाई पठाइदिइन् । बिहारबाट उद्धार गरी फर्काइएकी अर्की बालिकाले सुनाइन्, ‘डाक्टरको घर सफा गर्ने क्रममा झुम्का भेट्टाएँ । डाक्टरकी श्रीमतीले चोरी गरेको आरोप लगाएर अर्कैको घरमा काम गर्न पठाइदिइन् । 

नयाँ घरमा झन् धेरै काम गर्नुपरेको उनले सुनाइन् । ‘तैपनि काम नगरेको भन्दै साहुनीले बेलाबेला कुटथिन्,’ उनले भनिन्, ‘घरबेटीकी कान्छी छोरीलाई धकेलेर घाइते बनाएको भन्दै अर्कैको घरमा काम गर्न पठाइदिए ।’ उनले घरेलु कामदारका रूपमा यातना बेहोर्ने सिलसिला रोकिएन । त्यो घरका मालिकले पनि उनलाई दुव्र्यवहार गर्दै निकालिदिए । ‘म भौंतारिरहेकी थिएँ । एक जनाले घरमा काम गर्न लगे,’ उनले सुनाइन्, ‘पहिलाका साहुजी आएर फिर्ता लैजान खोजे । मैले मानिनँ । पछि ती व्यक्तिले प्रहरीलाई जिम्मा लगाइदिए । उद्धार गरी ल्याइएकी अर्की बालिकाको कथा पनि कम्ती कारुणिक छैन । रौतहटकी ९ वर्षीया ती बालिकाका बुबा कारागारमा छन् । कर्तव्यज्यान मुद्दामा बुबा जेल परेपछि आमा छोराछोरीसहित माइत पुगिन् । पछि अर्कै केटासँग विवाह गरिन् र छोरी लिएर उसैसँग बस्न थालिन् । ‘सुरुमा ठिकै चल्दै थियो,’ ती बालिकाले सुनाइन्, ‘पछि कान्छाबुबाले रक्सी खाएर आमालाई पिट्न सुरु गरे । हामीलाई पनि बाँकी राखेनन् । दिनहुँको पीडा सहन नसकेर उनी ३ वर्षअघि दाइसँग भागेर भारत पुगेकी थिइन् । बिहारको जेलवे स्टेसनमा प्रहरीले दुवै जनालाई पक्राउ गर्योर । ‘पछि दाइ भागे,’ उनले भनिन्, ‘मलाई चिल्डेन होममा पठाइदियो । दरभंगाबाट ५ महिनाअघि दाइ पनि पक्राउ पर्योे, अहिले चिल्ड्रेन होममा छ रे ।’ दाइलाई पनि फर्काउन सहयोगका लागि उनले याचना गरिन् । केन्द्रीय बालकल्याण समितिको समन्वयमा ‘छोराछोरी नेपाल’ नामक संस्थाले भारत, बिहारबाट ७ बालबालिकालाई उद्धार गरी काठमाडौं ल्याएको हो । समितिका निर्देशक तारक धिताल भन्छन्, ‘अझै पनि बिहारमा धेरै बालबालिका घरायसी काममा छन् । तर अध्ययन नभएकाले यति नै छन् भनेर यकिन गर्न सकिने अवस्था छैन ।’ उनले कतिपय बालबालिकालाई बुबाआमा आफैं भारत पुगेर फिर्ता ल्याउने गरेको पनि सुनाए । उद्धार गरिएका ११ देखि १५ वर्ष उमेरसमूहका अन्य ४ बालक सर्लाही, हरिवनका हुन् । दिल्ली गएर काम गर्न भनी घरबाट भागेका यी बालकलाई बिहारको छपरा रेलवे स्टेसनबाट प्रहरीले नियन्त्रणमा लिएको थियो । प्रहरीले उनीहरूलाई बिहारको बालगृहमा बुझाएको सूचनाका आधारमा उद्धार गरी ल्याइएको छोराछोरी नेपालका कार्यक्रम संयोजक अनिला डंगोलले जानकारी दिइन् । ‘तीन बालिकामध्ये दुई जना घरायसी काममा बेचिएको थिइन्,’ उनले भनिन्, ‘एक जना दाजुसँगै घरबाट भाग्दा छुट्टिएर अलपत्र परेकी रहिछन् । केही बालबालिकालाई परिवारको जिम्मा लगाउने क्रममा छौं ।’उद्धार गरिएका बालबालिकालाई गोदावरी, टौखेलस्थित छोराछोरी नेपालकै बालगृहमा राखिएको छ । गत वर्ष पनि यो संस्था छोराछोरी नेपालले केन्द्रीय बालकल्याण समितिको समन्वयमा भारत दरभंगा र मुजफ्फरपुरस्थित बालगृहबाट ३३ बालबालिकालाई उद्धार गरिएको थियो । संस्थाले हालसम्म १ सय २२ बालबालिकाको उद्धार गरिसकेको जनाएको छ ।

२०७५ जेठ ३ गते ९:२० मा प्रकाशित