समाचारमा बालबालिका

पाँच बाल विवाह रोकियो

पर्सामा अभियन्ता र प्रहरी सक्रियतामा दुुई महिनामा पाँचवटा बाल विवाह रोकिएका छन् । जिल्ला प्रहरी कार्यालय पर्साको महिला तथा बालबालिका सेवा केन्द्र (महिला सेल) का अनुसार वैशाख अन्तिम सातादेखि असार २५ गतेसम्म उमेर नपुग्दै गर्न लागिएका पाँच बाल विवाह रोकिएका हुन् । प्रहरीले अभियन्ताको सहयोगमा आइतबार मात्र वीरगन्ज महानगरपालिका वडा नम्बर १८ इनर्वा मनियारीमा बाल विवाह रोकेको छ । स्थानीय परदेशी साह कानुकी छोरी १६ वर्षीया सन्ध्या कुमारी र पर्सागढी नगरपालिका वडा नम्बर ५ जिंना हरपुरका हरिनारायण साह कानुका छोरा अजयकुमारबीच सोमबार बिहे हुने तय भएको थियो । तर, बाल विवाह र दाइजोविरुद्धको अभियानमा लागेकाहरूले सोमबार हुन लागेको विवाहबारे आइतबार प्रहरीलाई खबर गरेका थिए । प्रहरीले आइतबार साँझ बालिकाका बुवालाई नियन्त्रणमा लिएपछि विवाह रोकिएको जनाइएको छ । ‘बालिकाका बुवालाई प्रहरीले नियन्त्रणमा लिएपछि बाल विवाह रोकिएको छ’, पर्साका प्रहरी उपरीक्षक रेवती ढकालले भने, ‘बालिकाका बुवालाई प्रहरी हिरासतमा राखिएको छ ।’ उनीविरुद्ध बाल विवाह उद्योगमा मुद्दा दर्ता गरी कारबाही प्रक्रिया अघि बढाइएको छ । उनलाई कारबाहीबाट जोगाउन सोमबार वडा नम्बर १८ का अध्यक्ष ब्रम्हदेव पटेल, २६ का वडाध्यक्ष शम्भु मि श्रसहित कांग्रेस, राजपा, परिवार दललगायत दलका नेता प्रहरी कार्यालय पुगेका थिए । प्रहरी उपरीक्षक ढकालले भने बाल विवाह गर्नु र गराउनु अपराध भएको भन्दै मुद्दा दर्ता गरी अदालतबाट म्यादसमेत थप गराइसकेको जवाफ दिएपछि उनीहरू फर्किएका थिए । गत वैशाख २८ गते पनि बाल विवाह रोकिएको थियो । वीरगन्ज–१७ अलौं कोन्हिया टोलका सत्यनारायण मुखियाकी छोरी १४ वर्षीया गायत्रीकुमारीको बाराको नकटुवाका परमा मुखियासँग बिहे हुने तय भएको थियो । वैशाख २९ गते विन्दवासिनी गाउँपालिकामा १३ वर्षीय बालक र १५ वर्षीया बालिकाबीच हुँदै गरेको बिहे प्रहरी पुगेपछि रोकिएको थियो । अभियन्ता वृजेश्वर चौधरीले बाल विवाहमा संलग्नलाई प्रहरीले पक्राउ गर्न थालेपछि यसले समाजमा सकारात्मक सन्देश प्रवाह भएको बताए । ‘हामीले सुरुमा अभिभावकलाई सम्झाइबुझाइ गरी बिहे रोक्न आग्रह गर्छौं’, उनले भने, ‘अटेर गरे मात्र प्रहरीलाइ जानकारी गराएर बाल विवाह रोक्न लगाउँछौं ।

२०७५ असार २६ गते १२:०२ मा प्रकाशित