समाचारमा बालबालिका

४ वर्षीया बालिका बलात्कृत

पुनर्वास नगरपालिकाको (ख) गाउँमा ४ वर्षीया बालिका बलात्कृत भएकी छन् । प्रहरीले बलात्कार आरोपमा पुनर्वास नगरपालिका–८ (क) गाउँका ३६ वर्षीय भीमबहादुर श्रीमाललाई पक्राउ गरेको छ । कृष्णपुर नगरपालिका–४ मौरीफाँटामा १३ वर्षीया किशोरी बलात्कृत भएको ६ दिन नबित्दै फेरि अर्को बलात्कारको घटना सार्वजनिक भएपछि स्थानीय आक्रोशित छन् । पुनर्वासमा हजुरआमासँगै सुतेकी बालिकालाई युवकले बाहिर लगेर बलात्कार गरी फेरि सोही ठाउँमा छाडेर गएको प्रहरीले जनाएको छ । श्रीमाललाई प्रहरीले मंगलबार पुनर्वास नगरपालिका–९(ख) गाउँबाट पक्राउ गरेको हो । घटनाका विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी प्रमुख एसपी दिल्लीराज विष्टले बताए । ‘घटनाको दोस्रो दिन पीडकले नै पीडितका आफन्तलाई धम्काएपछि घटना बाहिर आएको हो,’ उनले भने, ‘बालिकाका आफन्तले श्रीमाललाई राति घरबाट बाहिर निस्किरहेको अवस्थामा देखेपछि संलग्नता खुलेको हो । बालिकाको अवस्था अहिले सामान्य छ । उनकी आमाले छोरीलाई भित्र राखेर फर्किने बेला श्रीमाललाई देखेको बताइन् । ‘त्यो बेला छोरी बेहोस थिइन् । बिहान दिसापिसाब गर्दा रुन थालेपछि बलात्कार भएको हुन सक्ने ठानेर प्रहरीलाई खबर गर्‍यौं,’ आमाले भनिन्, ‘त्यही दिन श्रीमाल फेरि आएर आफूले बलात्कार गरेको र कुरा सार्वजनिक भएमा यो भन्दा झन् ठूलो घटना गराइदिने धम्की दिएर गयो ।’ बिहीबार पनि कृष्णपुर नगरपालिकामा स्कुल गइरहेकी १३ वर्षीया किशोरीलाई बीच बाटोबाट लगेर बलात्कार गरिएको थियो । प्रहरीले बलात्कार आरोपमा कृष्णपुर ४ ढैयाका विनोद चौधरीलाई पक्राउ गरेर मुद्दा चलाइसकेको छ । ‘अहिले बयान लिने काम भइरहेको छ,’ एसपी विष्टले भने ।

 २०७४ फागुन १० गते ६:५८ मा प्रकाशित