समाचारमा बालबालिका

कोठाभित्र कोइला बालेर सुतेका एकै परिवारका चार जनाको मृत्यु

https://ratopati.com/story/216537/2022/1/17/death-od-family माघ ३, २०७८

सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१० स्थिति बुदबुदीमा एकै परीवारका चार जनाको मृत्यु भएको छ । कोइला बालेर कोठाभित्र सुतेका आमासहित तीन जना बालकको मृत्यु भएको हो । 

प्रहरीका अनुसार मृत्यु हुनेमा ३५ वर्षीया कल्पा बुढा (बिसी), ९ वर्षीय छोरा निरज बुढा, ८ वर्षीय छोरा चिरञ्जीवी बुढा र ५ वर्षीय सोमराज बुढाको मृत्यु भएको हो । कल्पाका श्रीमान् कृष्णबहादुर विसी जाजरकोटको शिवालय गाउँपालिकामा कार्यरत छन् । मृतक सोमराज कृष्णका दाईका छोरा हुन् । 

जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी एवंम प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीका अनुसार उनीहरु शुक्रबार राति साढे नौ बजेतिर कोइला बालेर कोठामा सुतेका थिए । ‘ हामीले शनिबार राति साढे सात बजेतिरमात्रै घटना बारे जानकारी पाएका थियौं,’उनले भने,‘ त्यसपछि प्रहरी घटनास्थलमा गयर अनुसन्धान गरेको थियो ।

घरका कल्पनाका ससुरा वीरबहादुर बुढा पनि थिए । तर उनी शनिबार विहानै वृद्धातिर गएको र बेलुका छ बजेतिर फर्केर आउँदा बुहारी र नातिहरुलाई नदेखेपछि खोजी गरेको थिए,’ वीरबहादुर बुढाको भनाई उदृत गर्दै डीएसपी घर्तीले रातोपाटीसँग भने,‘ वीरबहादुर त्यसपछि बुहारी र नातिहरु सुतिराखेको कोठामा गए । ढोका लगाएको भित्रबाट आवाज नआएपछि वीरबहादुरले प्रहरीलाई खबर गरेका थिए ।’ 

शनिबार बेलुकी साढे ७ बजेतिर घटनास्थल पुगेको प्रहरीले जनप्रतिनिधि र स्थानीयको रोहबरमा घरको ढोका फोडेको उनले जानकारी दिए । 
उनले भने,‘कोठाभित्र खाटमुनि कोइला बालेको मात्र देखियो। मृतक चारै जनाको मुखमा फिज देखिन्छ ।’ 

कल्पाका श्रीमान कृष्णबहादुर जाजरकोट भएकाले आइतबारमात्र प्रहरीले मुचुल्का उठाई अनुसन्धान अघि बढाएको छ । मृतकहरुलाई पोष्टमार्टमका लागि प्रदेश अस्पताल कालागाउँ लगिएको घर्ती बताउँछन् । उनले भने,‘कोठाभित्र तलासमा कोइला बालेको बाहेक अन्य केही देखिदैन् । तर अहिले नै कोइलाकै कारण मृत्यु भएको भनेर भन्न सकिँदैन् । पोष्टमार्टम रिपोर्ट अहिलेसम्म आईसकेको अबस्था छैन् ।’