लोकसेवाको सर्भर ह्याक गरेर ९ हजार एसएमएस पठाउने ३ जना पक्राउ
https://www.ratopati.com/story/157966/2020/12/7/arrest-?fbclid=IwAR2aYNlN-zqI9qy8CL-YSaA1ftLXzi4jeO_cKHrbzuX2A4Cvs57UKfefthk मंसिर २२, २०७७
काठमाडौं । लोकसेवा आयोगको सर्भर ह्याक गरेर ९ हजार एसएमएस पठाउने ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । साइबर व्यूरोबाट खटिएको टोलीले पोखराबाट २ जना र ललितपुरबाट १ जनालाई पक्राउ गरेको ब्यूरोका प्रवक्ता (एसएसपी) नवीन्द अर्यालले रातोपाटीलाई जानकारी दिए ।
पक्राउ पर्नेमा ललितपुरको सानागाउँ बस्ने २५ वर्षीय विवेक महर्जन, कास्कीको पोखरा बस्ने १७ वर्षीय किशोर र घारीपाटन बस्ने १५ वर्षीय किशोर छन् । उमेर नपुगेको हुनाले प्रहरीले दुईजनाको नाम गोप्य राखेको छ ।
उनीहरुले लोकसेवा आयोगको प्लेटफर्म प्रयोग गरेर विशिष्ट व्यक्ति र कर्पोरेट क्षेत्रका करिब ९ हजारलाई मेसेज पठाएका थिए । सो समूहलाई पक्राउ गर्न व्यूरोले विशेष अप्रेशन ‘ह्याकर हन्ट’ संचालन गरेको एसएसपी अर्यालले बताए ।
उनीहरुमाथि विद्युतीय कारोबार ऐन–०६३ अनुसार अदालतबाट म्याद लिएर ब्यूरोले अनुसन्धान गरिरहेको छ ।