सुधारगृह सारिँदै नाबालिग
नयाँ मुलुकी ऐनबमोजिम नाबालिग ठहर भएका २ सय ८७ बालबालिकालाई कारागारबाट सुधारगृह सारिने भएको छ । कारागार व्यवस्थापन विभागले देशभरिका कारागारमा कैद भुक्तान गरिरहेका १६ वर्षमाथि र १८ वर्षमुनिका बालबालिकालाई सुधारगृहमा सार्ने तयारी गरेको हो । पुर्पक्षका लागि थुनामा रहेका नाबालिग पनि सुधारगृह पुग्नेछन् । मुलुकी अपराध (संहिता) ऐन, २०७४ ले व्यवस्था गरेअनुसार नाबालिगलाई कैदमा राख्न मिल्दैन । यसअघिको ऐनले १६ वर्षसम्मकालाई मात्रै नाबालिग मान्दै आएको थियो । विभागका निर्देशक कृष्णबहादुर कटुवालले ती नाबालिगलाई देशका विभिन्न पाँच सुधारगृहमा पठाउने तयारी गरेको बताए । उनका अनुसार प्रदेश १ का नाबालिगलाई मकवानपुर, प्रदेश २ कालाई पर्सा, प्रदेश ३ का धादिङ र चितवन बाहेकका जिल्लाकालाई नेपालगञ्ज राखिने छ । धादिङ, चितवन र गण्डकी प्रदेशका नाबालिग रूपन्देहीमा रहेको बाल सुधार गृहमा राखिनेछन् । प्रदेश ५ का दाङ कारागारबाहेकमा रहेकालाई पनि रुपन्देही नै राखिने छ । दाङ र कर्णाली प्रदेशका कारागारमा रहेका नाबालिगलाई डोटी पुर्याइनेछ । सबै कारागार रहेका जिल्ला प्रशासनमा नाबालिगलाई सुधार गृह पठाउन परिपत्र गरिसकेको निर्देशक कटुवालले जनाए । अहिले अन्दाजी उमेरको आधारमा प्रारम्भिक संख्या पत्ता लागेको छ, उनले भने, उमेर एकिन गर्ने प्रक्रिया सकिएपछि थपघट पनि हुनसक्छ । उमेर यकिन गर्नेबित्तिकै एक–दुई दिनभित्र सुधार गृह पठाइसक्ने जानकारी उनले दिए । सबैभन्दा धेरै जबर्जस्ती करणीमा सजाय काटिरहेका बालबालिकाको संख्या भएको उनले बताए । त्यसपछि लागूऔषध, डाँकाचोरी, हाडनाता करणीका मुद्दामा सजाय काट्नेको संख्या धेरै छ ।
मकवानपुर, पर्सा, रूपन्देही, नेपालगन्ज र डोटीमा साविकका महिला तथा बालबालिका कार्यालयलाई नै बाल सुधार गृहमा परिणत गरिएको हो । साउन २२ को मन्त्रिपरिषद्को बैठकले यी स्थानमा बाल सुधार गृह सञ्चालन गर्ने अनुमति दिएको थियो । यसअघि नै न्यूनतम सुविधाविहीन बालबालिकाका लागि शैक्षिक कार्यक्रम (युसेप)को व्यवस्थापनमा पोखरा, भक्तपुर र विराटनगरमा बाल गृह सञ्चालनमा छन् ।२ सय क्षमता रहेको ती बाल गृहमा हाल १ सय ८२ नाबालिग छन् । नेपालगन्जको बाल सुधार गृह व्यवस्थापनको जिम्मा पनि युसेपले पाएको छ । अन्य स्थानका सुधार गृह भने महिला तथा बालबालिका र गृह मन्त्रालयको संयुक्त व्यवस्थापनमा सञ्चालन हुनेछन् । १८ वर्षमुनिकालाई बालबालिका मानेसँगै सजायमा पनि फरक पर्ने भएको छ । भदौ १ अघि उमेर पुगेको व्यक्तिसरह सजाय काटिरहेकाले नाबालिग भएलगत्तै कम सजाय काट्नुपर्छ । मुलुकी अपराध (संहिता) ऐन, २०७४ को दफा ४५ मा बालबालिकालाई हुने सजाय तोकिएको छ । दफा ४५ को उपदफा ४ मा १६ वर्ष वा १६ वर्षभन्दा माथि र १८ वर्षभन्दा कम उमेरको व्यक्तिलाई हुने सजायको व्याख्या गरेको छ । कुनै व्यक्तिले कैदको सजाय हुने कुनै कसुर गरेमा निजलाई उमेर पुगेको व्यक्तिलाई कानुनबमोजिम हुने सजायको दुई तिहाइ सजाय हुनेछ । उक्त उपदफाअनुसार भदौ १ अघि उमेर पुगेका व्यक्तिसरह कैद भुक्तान गरिरहेको नाबालिगले अब दुई तिहाइ मात्रै सजाय काटे पुग्छ । उदाहरणको लागि १६ वर्षमाथि र १८ वर्षमुनिको कुनै व्यक्तिले भदौ १ अगाडि १२ वर्ष कैद तोकिएर सजाय भुक्तान गरिरहेको छ भने उसले अब कुल ८ वर्षमात्रै सजाय भोगे हुन्छ । त्यसमध्ये कारागारमा बसेको समय कटाएर बाँकी समय सुधार गृहमा बस्नुपर्छ । दफा ४५ ले दस वर्षमुनिकालाई कुनै सजाय नहुने व्यवस्था गरेको छ । दस वर्ष वा दस वर्षभन्दा माथि र चौध वर्षभन्दा कम उमेर भएको व्यक्तिलाई बढीमा ६ महिना मात्रै कैदको सजाय तोक्न मिल्छ । बढीमा ६ महिना कैद सजाय तोकिए बढीमा एक वर्ष वर्षसम्म सुधार गृहमा राख्न सकिने व्यवस्था छ । १४ वर्ष वा १४ वर्षभन्दा माथि र १६ वर्षभन्दा कम उमेरको व्यक्तिले कैदको सजाय हुने कुनै कसुर गरेमा निजलाई उमेर पुगेको व्यक्तिलाई कानुन बमोजिम हुने सजायभन्दा आधा सजाय हुन्छ । दफा ४६ मा जरिवानाबापत गरिने कैदमा पनि बालबालिकालाई छुट्टै व्यवस्था गरिएको छ । ऐनमा जरिवाना मात्र हुने वा कैद वा जरिवानामध्ये कुनै एक सजाय हुने कसुरमा जरिवाना नतिरेकोमा कैद नगरी नरिवाना मिनाहा गर्नुपर्ने व्यवस्था छ । कैद वा जरिवाना वा दुवै सजाय हुने कसुरमा जरिवाना मात्र सजाय भएकोमा त्यस्तो जरिवाना नतिरेबापत कैद सजाय निर्धारण गर्नुपर्दा तीन महिनाभन्दा बढी नहुने गरी कैद गर्नुपर्ने छ । १४ वर्ष उमेर पुगेको तर १८ वर्षभन्दा कम उमेर भएको व्यक्तिलाई जरिवाना सम्बन्धी सजायमा कैद तोक्दा उमेर पुगेकाको भन्दा आधामात्रै तोक्नुपर्छ । सुधार गृहको वातावरण विद्यालयको होस्टेलजस्तै हुन्छ । बाल सुधार गृहमा खटिएका सुरक्षाकर्मीले बर्दी लगाउन पाउँदैनन् । बालबालिकालाई हतकडी लगाउन पाइँदैन । अदालतमा पनि बालबालिका स्वयं उपस्थित हुनुपर्दैन । उनीहरूका वकिल भए पुग्छ । सुधार गृहमै पढ्ने र परीक्षा दिने व्यवस्था गरिएको हुन्छ । कानुनअनुसार बालबालिकाले पाउने सुविधा बाल सुधार गृहमा हुन्छ । कास्की कारागार प्रमुख हरिप्रसाद गौतमले नयाँ ऐन लागू भएपछि ७ नाबालिग थपिएको बताए । तीमध्ये ५ ले विभिन्न अपराधमा कैद सजाय काटिरहेको र २ थुनुवा हुन् । सातैजना बालक भएको उनले जनाए ।पाँच बालकको जन्मदर्ताका आधारमा उमेर किटान भएको छ, उनले भने, दुई जना सडक बालक भएकाले कुनै कागजात छैन । त्यस्तो अवस्थामा हामीले व्यवहारिकताका आधारमा निर्णय लिन्छौं । कतिपयले उमेर ढाँटेर नाबालिगको सुविधा लिइरहेको उनले स्विकारे । शरीरको विभिन्न अंगको परीक्षणबाट उमेर पत्ता लगाउने विधि भए पनि त्यस्तो अभ्यास कास्कीमा नभएको उनले उल्लेख गरे ।
२०७५ भदौ ३ गते १०:११ मा प्रकाशित