समाचारमा बालबालिका

बलात्कार आरोपमा ट्राफिक प्रहरीसहित २ पक्राउ

https://ekantipur.com/pradesh-5/2021/01/24/16114915338835301.html   माघ ११, २०७७

रूपन्देही — सामूहिक बलात्कारमा संलग्न भएको आरोपमा रूपन्देही प्रहरीले ट्राफिक प्रहरीसहित दुई जनालाई पक्राउ गरेको छ ।

रूपन्देहीको कञ्चन गाउँपालिकामा डेढ महिनाअघि एक किशोरीलाई सामूहिक बलत्कार गरेको र एक किशोरीको नग्न तस्बिर सार्वजनिक गरेको आरोपमा प्रहरीले कपिलवस्तुका दुई जनालाई आइतबार पक्राउ गरेको हो ।

रूपन्देहीका प्रहरी प्रमुख एपी प्रविण पोखरेलले कात्तिक २३ गते कञ्चन गाउँपालिका–५ भैसाहीमा १८ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार भएको र अर्की किशोरीको नग्न फोटो सार्वजनिक गरेको भन्दै चार जनाविरुद्ध उजुरी परेको बताए ।

त्यही उजुरीका आधारमा कपिलवस्तुको वाणगंगा नगरपालिका घर भएका रूपन्देहीमा कार्यरत प्रहरी जवान विशाल शर्मा र सोही ठाउँका गुरुचरण चौधरीलाई पक्राउ गरी अनुसन्धान थालिएको हो । बलत्कारमा पर्ने र नग्न तस्बिर सार्वजनिक हुने दुवै किशोरी कपिलवस्तुकै हुन् । भैसाहीमा बिरामी आफन्त भेट्न गएका बेला बलात्कृत भएको किशोरीको उजुरीमा उल्लेख छ ।

एसपी पोखरेलले घटनामा कपिलवस्तुकै चार जनाविरुद्ध जाहेरी परेको र तीमध्ये दुई जनालाई पक्राउ गरी अनुसन्धान सुरु गरिएको बताए । ‘तीमध्ये ट्राफिक प्रहरी जवानसहित दुई जनालाई पक्राउ गरेर अनुसन्धान सुरु गरेका छौं,’ उनले भने, ‘अन्यको खोजी भइरहेको छ ।’