समाचारमा बालबालिका

रौतहटमा जलेर २ बालबालिकाको मृत्यु

https://ratopati.com/story/212370/2021/12/22/dead- पुस ७, २०७८

रौतहटमा आगलागीमा परेर दुई बालबालिकाको मृत्यु भएको छ । जिल्लाको फतुवा बिजयपुर नगरक्षेत्रभित्र  आगलागी हुँदा  जलेर २ बालबालिकाको ज्यान गएको हो । । मृत्य हुनेमा फतुवा बिजयपुर १ बरगिनिया गाउँका जोखु यादवका ३ वर्षीया छोरी आराध्य यादव  र सन्दीप साहका ५ वर्षीय छोरा रोहित साह रहेका छन्।

बरगिनिया गाउँमा मदन यादवको फुसको छाना रहेको घरमा  मंगलबार दिउँसो २ बजे अचानक भएको आगलागीबाट जलेर ४ बर्षीया बालिका आराध्यको घटनास्थलमै मृत्यु भएको थियो । आगलागीबाट शरीरको अधिकांश भाग जलिसकेका ५ बर्षिय बालक रोहितको उपचारको क्रममा आज बिहान टिचिङ अस्पताल काठमाडौमा  मृत्यु भएको ईलाका प्रहरी कार्यालय बिजयपुरका प्रमुख इन्स्पेक्टर बिष्णु विश्वकर्माले बताए । 

मदन यादवको घरमा लागेको आगो छेउमै दाँईँ गर्न राखिएको  धानमा सल्कएको थियो ।  सो क्रममा खेलिरहेका बालबालिका आगलागीमा परेका थिए । आगलागीबाट मदन यादवको घर तथा घरमा रहेको अन्न, लत्ताकपडा लगायत सबै सामान जलेर नष्ट भएको पीडित परिवारले जनाएको छ । त्यसैगरी रामबिश्वास यादवको १६० भन्दा बढी धानको भारी जलेर ५० हजार भन्दा बढिको क्षति भएको अनुमान गरिएको छ ।

यसैबीच फतुवा बिजयपुर,कटहरिया, बौधीमाई,राजपुर,परोहा लगायत  नजिकको कुनै स्थानीय तहमा आगो निभाउने  दमकल उपलब्ध छैन । प्रहरीको अनुरोधमा जिल्ला सदरमुकाम गौरबाट आएको दमकल आगलागी भएको झन्डै डेढ घन्टा पछि साढे ३ बजे घटनास्थल फतुवा बिजयपुर १ बरगिनिया गाउँमा पुगेको थियो ।
रौतहटको १८ वटै स्थानीय तह मध्ये प्रायः सबै तहका प्रमुख   उपप्रमुखलाई चढ्न करोडौंको लगानीमा बिलासी गाडीहरु खरिद भएको छ । तर कुनै पनि स्थानीयतहका प्रमुखहरुले दमकल खरिद नगरेको कारण सो क्षेत्रमा आगलागीको घटना हुँदा दमकलको लागि घन्टौ कुर्नुपर्ने बाध्यता रहेको छ ।