समाचारमा बालबालिका

शंकास्पद रोगले दुई बालकको मृत्यु

सप्तरीको कञ्चनरूप नगरपालिकामा शंकास्पद रोगका कारण दुई बालकको मृत्यु भएको छ । ज्वरो आउने, बान्ता हुने, टाउको दुख्ने तथा रगत बान्ता हुने लक्षण देखिएर दुई बालकको मृत्यु भएको कञ्चनरूप नगरपालिकाका स्वास्थ्य संयोजक सिअहेब डम्बरप्रसाद गुप्ताले जानकारी दिए । मृत्यु हुनेमा कञ्चनरूप ७ का केशव कटुवालका ६ वर्षीय छोरा कृषजंग र कञ्चनरूप ५ का देवनारायण सदाका १३ वर्षीय छोरा कृष्ण रहेको गुप्ताले जनाए । कटुवालको कात्तिक ७ तथा सदाको ६ गते मृत्यु भएको हो । महिनादिनअघि कञ्चनरूपमै स्वाइन फ्लु र हङकङ फ्लुको प्रभावले २ बालकसहित ४ को मृत्यु भएको थियो भने २ हजार बढी सर्वसाधारण ज्वरो आउने, टाउको दुख्नेलगायत समस्याबाट पीडित थिए । पछिल्लो समय शंकास्पद ज्वरोका कारण २ बालकको मृत्यु भएसँगै यो क्षेत्रका सर्वसाधारणमा त्रास फैलिएको छ । कटुवाल र सदा अध्यनरत भृकुटी माविका अन्य विद्यार्थी त्रासकै कारण विद्यालय जान छाडेका छन् । कञ्चनरूप नगरपालिका प्रमुख वसन्तकुमार मिश्रका अनुसार मृत्यु भएका सदाले रगत बान्ता गरेका थिए । यी दुवै बालक मृत्युको कारण स्थानीय स्वास्थ्यकर्मीले पत्ता लगाउन सकेका छैनन् । नगरपालिकाले प्रदेश २ को सामाजिक विकास मन्त्रालय, महामारी तथा सरुवा रोग नियन्त्रण महाशाखा टेकु काठमाडौं र जिल्ला जनस्वास्थ्य कार्यालय पत्राचार गरी रोगबारे अनुसन्धानका लागि आग्रह गरेको छ ।

स्वाइन फ्लु र हङकङ फ्लु फैलिएको एक महिना नबित्दै पुनस् शंकास्पद रोग लागेर २ बालकको मृत्यु भए पनि स्थानीयबाहेक कुनै पनि स्वास्थ्यकर्मीको टोली त्यहाँ पुगेको छैन । ‘हाम्रो स्तरबाट दिइने सेवा दिइरहेका छौं, खोज अनुसन्धान र थप सहयोगका लागि जिल्ला जनस्वास्थ्यदेखि प्रदेश सरकार र केन्द्र सरकारलाई पत्राचार गरिसकेका छौं,’ नगरप्रमुख मिश्रले भने, ‘विशेषज्ञ चिकित्सकको टोली नआउन्जेल मृत्यु भएका बालकहरूबारे केही भन्न सकिँदैन । जिल्ला जनस्वास्थ्य कार्यालय प्रमुख निरञ्जन यादवले शंकास्पद रोगका कारण २ जनाको मृत्यु सम्बन्धमा आफूले शुक्रबार साँझ मात्र थाहा पाएको बताए । ‘मैले शुक्रबार साँझ मात्र थाहा पाएको छु, आवश्यक व्यवस्थापनको प्रयासमा छु ।’ प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले शंकास्पद रोग लागेर बालकहरूको मृत्युबारे आफूलाई जानकारी नभएको बताए । उनले उक्त विषयमा जानकारी लिई नियन्त्रणका लागि आवश्यक व्यवस्था मिलाउने बताए ।

२०७५ कार्तिक ११ गते ७:४७ मा प्रकाशित