समाचारमा बालबालिका

गोल्फुटारको एक होस्टलबाट १९ जना बालबालिका उद्धार

काठमाडौंको गोल्फुटारस्थित न्यू कर्णाली होस्टलबाट प्रहरीले १९ जना नाबालकलाई उद्धार गरेको छ । सुदूर र मध्य पश्चिमबाट अभिभावकलाई ललाइफकाई नाबालक बच्चाहरुलाई छात्रवृत्तिमा पढाउन र लालनपालन गर्न भनि ल्याएर अलपत्र पारेको उजुरी प्राप्त भएपछि नेपाल प्रहरीको महाराजगञ्ज वृत्तले उद्धार गरेको हो । प्रहरीका अनुसार होस्टलका सञ्चालक जयबहादुर बिक विगत केही महिनादेखि सम्पर्क विहिन भएपछि बालबालिकालाई खाना खानदिनै मुस्किल परेपछि होस्टलमै कार्यरत एक कर्मचारीले प्रहरीमा उजुरी गरेका हुन् । होस्टलमा कालिकोटबाट १४ जना, हुम्लाबाट ३ जना, डोल्पा र बाँकेबाट १–१ जना गरी जम्मा १९ जना बालबालिका बस्ने गर्थे । त्यहाँ ३ वर्षदेखि १४ वर्ष उमेर समूहका बालबालिकाहरु बस्ने र त्यसमध्ये अधिकांश ४र५ वर्ष उमेरका रहेका छन् । महाराजगञ्ज वृत्तका डिएसपी फणिन्द्र प्रसाईंका अनुसार अहिले उद्धार गरिएका बालबालिकालाई अन्य बालगृह तथा अभिभावकको जिम्मा लगाउने काम भइरहेको छ । डीएसपी प्रसाईंका अनुसार होस्टल स‌ंचालक बिकले ग्रामिण भेगबाट विदेशीले पढाइदिने भन्दै बालबालिका बटुलेर ल्याएर राखेको देखिएको छ।

२०७६ बैशाख २३ गते ११:४४ मा प्रकाशित