समाचारमा बालबालिका

फर्किए १९ बालबालिका

गौमुल गाउँपालिकाबाट घरेलु कामदारका रूपमा बाहिर लगिएका २२ बालबालिका घर फर्किएका छन् । गाउँपालिका गठन र स्थानीय तहको निर्वाचन सम्पन्न भएपछि सो गाउँपालिकाका वडा नं. ४ र ५ का वडाध्यक्षसहित गाउँपालिका अध्यक्ष र उपाध्यक्षले आफ्ना गाउँपालिकाका बालबालिका कहाँ कहाँ छन् भनेर खोजी गरी घर फर्काउन दबाब दिएपछि ती बालबालिकाले घर फर्कन पाएका हुन् । २०७४ असारमा सम्पन्न स्थानीय तह चुनावमा जिल्लाको गौमुल गाउँपालिकाका थुप्रै बालबालिकालाई सुदूरपश्चिमका विभिन्न जिल्लामा र केहीलाई घरेलु कामदारका रूपमा काठमाडौं पु¥याइएको चर्चा चलेको थियो । बीचैमा पढाइ छाडेर गएका गौमुल–५ का १४ वर्षीय मुकेश घर आएपछि अहिले गाउँकै थला माविमा कक्षा नौमा भर्ना भएका छन् । पढाइ दिने भन्दै काठमाडौंका एक सैनिक अधिकारीको घरमा पु¥याइएका उनी त्यहाँ पढ्न नपाएपछि भागेर गाउँ आएको उनले बताए । गौमुल गाउँपालिकाके ४ र ५ वडाबाट ५२ जना बालबालिका घरेलु कामदारका रूपमा बाहिर लगिएको बताइएको छ । त्यसमध्ये १९ बालबालिका बाजुराबाट घरेलु कामदारका रूपमा बाहिर लगिएको समाचार प्रकाशन भएपछि उनीहरूले घर फर्कन पाएका हुन् । घर फर्किएकाहरूमध्ये थला माविका मानाकोटमा ६ जना भर्ना भएको वडा नं। ५ का वडाध्यक्ष गणेश रोकायाले जानकारी दिए । यसैगरी, कृतिचौर माविमा १३ बालबालिका फर्केर आएर भर्ना भएको वडा नं। ४ का वडाध्यक्ष वीरेन्द्र रोकायाले बताए । आर्थिक अवस्था कमजोर भएका परिवारका बालबालिकालाई सहरका राम्रा स्कुल पढाइ दिने आश्वासन दिएर घरेलु कामदार बनाउने थुप्रै व्यक्ति बाजुरामा अहिले पनि सक्रिय रहेको बताइएको छ ।

गाउँपालिकाको विवरणअनुसार आर्थिक रूपमा विपन्न अभिभावकलाई प्रलोभनमा पारेर बालबालिकालाई घरेलु कामदारका रूपमा ‘सप्लाई’ गर्ने व्यक्तिहरूमा धेरैजसो विद्यालयका शिक्षक र गाउँका केही व्यापारी पनि सहरका ‘हुनेखाने’लाई बालबालिका ‘मिलाइदिने’ यो अपराधमा संलग्न रहेको उल्लेख छ । सामाजिक प्रभाव हुने शिक्षक र व्यापारीबाहेक परिवारलाई सहमत गराएर कुरा मिलाउने बिचौलियाहरूमा बालबालिकाकै नातेदार पनि छन् । घरेलु नोकरको खोजीमा रहेका व्यक्तिलाई भनेजस्तो बालबालिका उपलब्ध गराएमा ‘लाभ’ लिन सकिने आसमा बिचौलियाहरू यो काम गर्छन् । बाल श्रम (निषेध र नियमित गर्ने) ऐन, २०५६ ले १४ वर्ष उमेर पूरा नगरेका बालबालिकालाई काममा लगाउन रोक लगाएको छ । ऐनको दफा ४ मा ‘कसैले पनि बालकलाई ललाइ, फकाइ वा झुक्याएर वा प्रलोभनमा पारेर वा डर, त्रास वा दबाबमा पारी वा अन्य कुनै तरिकाले काममा लगाउनुहुँदैन’ भन्ने उल्लेख छ । यदि यसो गरेमा ‘निजलाई एक वर्षसम्म कैद वा ५० हजार रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुने’ ऐनमा उल्लेख छ । २०७४ पुसयता गौमुल गाउँपालिकाका दुईवटा वडाका ९ बालबालिका घर आएका छन् । अहिलेसम्मको सार्वजनिक विवरणअनुसार यो गाउँपालिकाका दुईवटा वडाका मात्रै ४३ जना बालबालिका अझै पनि राजधानीलगायत विभिन्न जिल्लामा घरेलु कामदार छन् । गाउँपालिकाका अनुसार वडा नं. ४ बाट २३ र वडा नं. ५ बाट २० जना अहिले पनि घरेलु श्रमिक छन् । गौमुलको गाउँ बाल संरक्षण समितिको विवरणअनुसार कामदार बनाइएका सबै बालबालिका १८ वर्षभन्दा कम उमेरका छन् ।

२०७५ जेठ ११ गते प्रकाशित