समाचारमा बालबालिका

१८ वर्षे किशोरीको स्थायी बन्ध्याकरण : १३ मा बिहे, १४ मा पहिलो र १७ वर्षमा दोस्रो सन्तान

कानुनले विवाहका लागि न्यूनतम उमेर २० वर्ष तोकेको छ । तर, डोटीकी एक किशोरीले १८ वर्षमै दुई सन्तान जन्माएर स्थायी बन्ध्याकरण पनि गरेकी छिन् । बोगटान गाउँपालिका–१ सिमचौरकी मनीषा बोहराले ६ फागुनमा बन्ध्याकरण गराएकी हुन् । जिल्ला अस्पतालले उनकै गाउँमा शिविर चलाएको थियो । १३ वर्षमै उनको विवाह भएको थियो । १४ वर्षमा पहिलो र १७ वर्षमा दोस्रो सन्तान भएको उनले बताइन् । ‘सानो उमेरमै दुई सन्तान भइसके, त्योभन्दा बढाउन डर लाग्यो, त्यसैले अप्रेसन गराएँ,’ उनले भनिन् । सानै उमेरमा बिहे गर्नुहुँदैन भन्ने थाहा नभएको उनले बताइन् । आमा बनेपछि मात्रै छिटो बिहे गरेको महसुस भएको उनले सुनाइन् । ‘सानैमा विवाह गरेर एउटा गल्ती त भइहाल्यो,’ मनीषाले भनिन्, ‘धेरै बच्चा जन्माएर अर्को गल्ती नहोस् भनेर समयमै बन्ध्याकरण गरेकी हुँ । सानै उमेरमा बन्ध्याकरणका लागि आएको देख्दा जिल्ल परेको जिल्ला अस्पताल डोटीका डा। गिरिश अवस्थीले बताए । सुरुमा त आफन्तको बन्ध्याकरणका लागि साथमा आउनुभएको होला जस्तो लागेको थियो,’ डा। अवस्थीले भने, उहाँले आफ्नै बन्ध्याकरण गराउन आएको बताएपछि अचम्म लाग्यो ।

 बन्ध्याकरण गर्नेमा महिला धेरै 

डोटीमा सञ्चालन गरिएको शिविरमा बन्ध्याकरण गर्ने पुरुषभन्दा महिला धेरै रहेको अस्पतालको तथ्यांक छ । जिल्लाका १२ स्थानमा भएको शिविरमा एक सय ५९ महिला तथा ६५ पुरुषले स्थायी बन्ध्याकरण गरेको जिल्ला स्वास्थ्य कार्यालय डोटीका परिवार नियोजन सुपरभाइजर कपिलदेव जोशीले बताए । बन्ध्याकरण गर्ने अधिकांश महिला ३० देखि ३५ वर्षको रहेको उनले बताए । पुरुषहरू इच्छा नदेखाउने भएकाले महिलाले बन्ध्याकरण गर्ने गरेको उनको भनाइ छ । शिविरमा आएका महिलाका भनाइ उद्धृत गर्दै जोशीले भने, ‘श्रीमान् भारतमा काम गर्न जाने र बलियो काम गर्नुपर्ने भएका कारण बन्ध्याकरण गर्न मान्नुहुन्न, त्यसैले हामी आएका हौँ भन्ने गरेका छन् ।

२० वर्षमुनिका एक हजार गर्भवती

डोटीमा २० वर्षमुनिका एक हजार १६ जना महिला गर्भवती रहेको जिल्ला स्वास्थ्य कार्यालयको तथ्यांक छ । गत वर्ष तीन हजार सात सय ३६ जना महिला गर्भवती भएका थिए । सानै उमेरमा विवाह गरेका उनीहरूका स्वास्थ्य समस्याको जोखिम उच्च रहेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख सतिश विष्टले बताए । उनले भने, ‘बालविवाह ठूलो चुनौतीका रूपमा रहेको छ । यसले महिलाको स्वास्थ्यमा मात्रै नभएर सामाजिक तथा आर्थिक रूपमा पनि असर पारिरहेको उनले बताए ।

२०७४ फागुन ११ गते प्रकाशित