समाचारमा बालबालिका

छोरीको हत्या आरोपमा आमा पक्राउ

डेढ वर्षीया छोरीलाई हत्या गरेको आरोपमा प्रहरीले आमालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा राइनास नगरपालिका ३ ढाँडखर्ककी ३० वर्षीया सम्झना विक हुन् ।धेरै रोएपछि उनले १८ महिने छोरी मञ्जिलाको घाँटीमा सल बेरेर कसिदिएकी थिइन् । उपचारका क्रममा गत सोमबार बालिकाको मृत्यु भएपछि उनलाई प्रहरीले पक्राउ गरेको हो । उपचारमा संलग्न चिकित्सक र प्रहरीसँगको प्रारम्भिक बयानमा उनले कसुर स्वीकार गरेको प्रहरी निरीक्षक राजेन्द्र अधिकारीले बताए । बालिकालाई उपचारार्थ राजधानीको कान्ति बालअस्पताल लगिएको थियो । काठमाडौं लानुअघि उनको स्थानीय मेडिकलमा उपचारको प्रयास गरिएको थियो । असार ११ मा भएको घटनामा उपचार सम्भव नभएपछि आफन्तले ती बालिकालाई काठमाडौं लगेका थिए । आफ्नै छोरीलाई सलले बाँधेर गम्भीर घाइते बनाएको र उपचारको क्रममा मृत्यु भएपछि सम्झनालाई महानगरीय प्रहरी वृत्त महाराजगन्जले तत्काल पक्राउ गरेको थियो । काठमाडौं र यहाँ (लमजुङ) को प्रारम्भिक बयानको आधारमा ती महिलाले रिसको झोंकमा आफ्नै छोरीलाई सलले बाँधिदिँदा घटना घटेको स्विकारेकी छन्,’ अनुसन्धान अधिकृत अधिकारीले भने । उपचारका क्रममा बालिकाको घाँटीमा नीलडाम देखेपछि आमासँग चिकित्सकले सोधपुछ गरेका थिए । यसअघि दुई छोरी रहेको र दुई छोरा खेर गएपछि मनमा असन्तोष पलाउँदा उक्त घटना घटेको उनले प्रारम्भिक बयानमा बताएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय लमजुङ ल्याएर बिहीबार उनीविरुद्ध कर्तव्यज्यान मुद्दा चलाउन प्रहरीले अदालतबाट १२ दिनको अनुसन्धान म्याद लिएको छ । विकका श्रीमान् वैदेशिक रोजगारीका लागि मुलुकबाहिर छन् ।

२०७५ असार २४ गते ९:२२ मा प्रकाशित