समाचारमा बालबालिका

न्याय खोज्दै नगरपालिका पुगेकी किशोरीले न्याय पाईन्

न्याय माग्दै चन्दननाथ नगरपालिकामा पुगेकी गुठिचौर गाउँपालिका १ की १७ वर्षीया किशोरी रमिता महताराले न्याय पाएकी छिन्। जन्मेको ११ दिनमै आमा छोरीलाई घर निकाला गरेको र हाल घरमा आउँदा बेवास्ता गर्ने गरेको भन्दै रमिता न्यायको खोजीमा बुधवार चन्दननाथ नगरपालिकाको कार्यालयमा पुगेकी थिईन्। जाजरकोट स्थित मामाको घर देखि बाल नागरिकता र जन्मदर्ता बनाउन चार दिनको पैदल हिडेर खलंगा पुगेकी रमितालाई चन्दननाथ नगरपालिकाले न्याय प्रदान गरेको हो। न्यायिक समिति संयोजक उपप्रमुख अप्सरादेवि न्यौपानेले गुठिचौर गाउँपालिका अध्यक्ष हरीवहादुर भण्डारीसँग समन्वय गरेर रमिताका बुवालाई चन्दननाथ नगरपालिकामा बोलाएर छलफल गरेकी हुन्। उपमेयर न्यौपानेले पीडित किशोरीका बुबा फुर्वा छिरिङ महतारासँग करिव १ घण्टाको छलफल पश्चात सहमती भएको बताइन्। किशोरीको बुबाले जन्म दर्ता, बाल नागरिकता बनाई दिनुका साथै सम्पती समेत दिलाईदिने सहमति पछि किशोरीलाई बुवाको जिम्मामा लगाइएको छ। आफुले सकेजतिको पढाइदिने, घरमा सम्पती दिएर राख्ने, घर वाहिर बस्न नदिने गरी सहमती भएको  न्यौपानेले बताइन्। चन्दननाथ नगरपालिकाले महिला अधिकारकर्मी, मानव अधिकारकर्मी र सञ्चारकर्मीलाई रोहवरमा राखेर न्याय प्रदान गरेपछि रमिता निकै खुसि छिन्। मामाको घरदेखि रित्तो हात जुम्ला पुगेकी रमिता चार दिन सम्म चन्दननाथ नगरपालिकाका सवारी चालक लेखराज न्यौपानेको घरमा वसेकी थिईन्।

२०७५ असोज १८ गते २:४१ मा प्रकाशित