समाचारमा बालबालिका

१७ प्रतिशत किशोरी आमा

मुलुकमा १५ देखि १९ वर्ष उमेरका १७ प्रतिशत किशोरीहरू आमा बन्ने गरेको एक अध्ययनले देखाएको छ । नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षणले यो दर सहरी क्षेत्रभन्दा ग्रामीण क्षेत्रमा बढी रहेको औंल्याएको हो । स्वास्थ्य मन्त्रालयका लागि ‘न्यु एरा’ ले गरेको सर्वेक्षणअनुसार किशोरावस्थामै गर्भवती हुनेमा सहरमा १३ र ग्रामीण क्षेत्रमा २२ प्रतिशत किशोरी छन् । सबभन्दा कम प्रदेश ३ मा १०, प्रदेश २ मा सबैभन्दा बढी २७ प्रतिशत किशोरी गर्भवती हुने गरेको पाइएको छ । स्वास्थ्य सेवा विभागका वरिष्ठ डेमोग्राफर डा। शरद शर्माका अनुसार शिक्षाको स्तर बढदै जाँदा कम उमेरमै विवाह गर्नेको संख्या भने घटदै गएको देखिएको छ । अशिक्षित किशोरीमध्ये ३३ प्रतिशतले विवाहलगत्तै बच्चा जन्माउने गरेका छन् । एसईई (एसएलसी) भन्दा माथि शिक्षा पाएका ७ प्रतिशतले किशोरावस्थामै बच्चा जन्माउने गरेका छन् । कम उमेरमा बच्चा जन्माउनेमा अति गरिब, गरिब र मध्यम आर्थिक अवस्था भएकाको संख्या सम्पन्नको तुलनामा बढी सर्वेक्षणले औंल्याएको छ । ‘यो समस्या सबैतिर छ,’ स्वास्थ्य सेवा विभागकी स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा। पुण्या पौडेलले भनिन्, ‘त्यसमा पनि प्रदेश २ मा बढी हुनुमा त्यहाँ जनसंख्या बढी छ, छिट्टै विवाहगर्ने चलन छ, शिक्षाको कमी छ ।’

पौडेलका अनुसार चाँडै उमेरमा विवाह हुनेहरू बच्चा जन्माउने र हुर्काउनेबारे जानकार हुँदैनन् । ‘शरीरका सबै अंगको पूर्ण विकास भइसकेको हुँदैन,’ उनले भनिन्, ‘कम उमेरमै आमा बन्दा बच्चा कसरी हुर्काउने भन्ने ज्ञान हुँदैन । उनका अनुसार छिटोछिटो बच्चा जन्माउनेमा पछि पाठेघर खस्ने र पाठेघरको मुखको क्यान्सर हुने खतरा बढी हुन्छ । सर्वेक्षणले प्रदेश २ मा किशोरी उमेरमै आमा बन्नेको संख्या बढी रहेको देखाए पनि यसले त्यसका कारण भने खुलाएको छैन । ‘हामीले यसबारे विश्लेषण गरिरहेका छौं,’ डेमोग्राफरशर्माले भने । महिलाको चाँडै विवाह हुने गरेको पाइए पनि सर्वेक्षणले पुरुषमा विवाहको औसत उमेर बढी देखाएको छ । २५ देखि ४९ वर्षका महिलाको विवाहको औसत उमेर १७–१८ वर्ष छ भने पुरुषको २१–२२ । औपचारिक शिक्षा हासिल नगरेका महिलाको विवाहको औसत उमेर १६–१७ वर्ष छ भने एसईई वा त्यसभन्दा बढी शिक्षा पाएकामा यो उमेर साढे २१ वर्षजति छ । सर्वेक्षणले ११ प्रतिशत महिलाको पहिलो यौनसम्बन्ध १५ वर्षअघि नै भइसक्ने देखाएको छ । ५१ प्रतिशत महिलाले १८ वर्षअघि पहिलो यौनसम्बन्ध कायम भएको सर्वेक्षणका क्रममा बताए ।

२०७४ फागुन २८ गते ७:१४ मा प्रकाशित