समाचारमा बालबालिका

डुंगा खियाउँदै किशोरहरू

घर खर्च जुटाउन र अभिभावकलाई सघाउन सातामा दुई दिन डुंगा चलाउने किशोरहरूको संख्या फेवातालमा बढ्दै छ । विद्यालयमा अध्ययन गर्ने किशोरहरू शुक्रबार र शनिबार डुंगा खियाउनमा व्यस्त हुन थालेका हुन् । ओखलढुंगा घर भई लेकसाइडमा बस्दै आएका १६ वर्षीय टेक माझी बाराही माविको ७ कक्षाका विद्यार्थी हुन् । उनी पढ्ने खर्च जुटाउन डुंगा चलाउँदै आएको बताउँछन् । ‘दुई वर्षअघि पाइडल बोटबाट चलाउन सुरु गरेको हुँ,’ उनले भने, ‘अहिले अरू डुंगा पनि सजिलै चलाउन सक्छु ।’ शुक्रबार र शनिबार डुंगा चलाउने गरेको उनले सुनाए । ‘आएको पैसा आमालाई दिन्छु,’ उनले भने । माझीले काम राम्रो भएका दिन १७ सय रुपैयाँसम्म कमाउने सुनाए । बाबुले गरिआएको पेसा भएकाले तालमा आउँदा आउँदै सिकेको उनले बताए । उदयपुरमा ३ कक्षासम्म पढेर पोखरामा आएपछि राजकुमार राईले फेरि १ कक्षादेखि पढ्न सुरु गरेका हुन् । उनी अहिले १६ वर्षका भए । छोरेपाटन मावि ८ कक्षामा पढ्ने उनी आफूखुसी डुंगा चलाउन आएको बताउँछन् । ‘पढाइ खर्च जुटाउन सके बुबाआमालाई हल्का होला भनेर चलाउन थालेको,’ उनले भने, ‘सिक्न खासै समय लागेन ।’ उनका बुबा घर निर्माणका लागि डिजाइन बनाउने काम गर्छन् ।

सिन्धुली घर भई लेकसाइड बस्दै आएका चन्द्र मगर आठ महिनादेखि साताको दुई दिन डुंगा चलाउने काम गर्छन् । एसईई दिएर नतिजाको पर्खाइमा रहेका उनी फुर्सदको समय खर्च जुटाउन काम गरेको बताउँछन् । ‘आफ्ना लागि आपंैm खर्च जुटाए घरमा भार पर्दैन,’ उनले भने । उनका बुबाले पनि डुंगा चलाउने काम गरेका थिए । तर, हाल सवारीचालकको काम गर्छन् । फेवातालमा डुंगा खियाउने पेसा गरिरहेकामा अधिकांश पूर्वका जिल्लाबाट आउने छन् । फेवा डुंगा व्यवसायी समितिका अनुसार फेवातालका फेवा, गौरी, पहारी र बलांघीलगायत आठ घाट छन् । दर्ता भएका डुंगाको संख्या ७ सय २६ पुगेको छ । यिनमा डुंगा चलाउने करिब तीन सय हाराहारी जनशक्ति छ । फुर्सद मिलाएर डुंगा चलाउन आउने विद्यार्थी २२ जना पुगेका छन् । समितिले १६ वर्ष पुगेकालाई मात्र डुंगा चलाउन दिन्छ । तर, फेवातालपारिका गाउँबाट पढ्न आउने स्कुलेहरू भने आफ्ना डुंगा सानै उमेरदेखि आफैं चलाएर वारिपारि गर्छन् ।

२०७५ असार १३ गते १०:५६ मा प्रकाशित