समाचारमा बालबालिका

१४२ बालबालिकामा सिकलसेल

कोहलपुर नगरपालिकाका आधा दर्जनभन्दा बढी विद्यालयमा अध्ययनरत थारू बालबालिकाको रगत परीक्षण गर्दा १ सय ४२ मा सिकलसेल एनिमिया संक्रमण पाइएको छ । ती विद्यालयका १ हजार ३ सय ५३ बालबालिकाको रगत परीक्षण गरिएको थियो । थारू समुदायमा महामारीका रूपमा फैलिएको सिकलसेल (रक्त अल्पता) का बिरामी पहिचान गर्न नगरपालिकाले रगत जाँच्न थालेको हो । बालबालिकाको रगत परीक्षणका लागि नगरपालिकाले विद्यालयमा स्वास्थ्यकर्मी परिचालन गरेको थियो । रोग पहिचान नहुँदै सिकलसेल लागेकाको मृत्यु हुने गरेकाले रगत परीक्षण गरिएको नगरपालिकाले जनाएको छ । यस्ता बिरामीमा रगतको कमी भई जन्डिस देखिने, पीडा खप्न नसक्ने गरी शरीरका विभिन्न भाग दुख्ने लक्षण देखिने स्वास्थ्यकर्मीले बताए । उनीहरूका अनुसार यस्तो संक्रमण जाँच नगरी जन्डिस, बाथरोग लागेको शंकामा उपचार गरिंदा थुप्रैको ज्यान जाने गरेको छ । ‘समयमै यसबाट पीडित बालबालिकाको पहिचानका लागि रगत परीक्षण गरिएको हो । संक्रमण देखिएका बालबालिकालाई उपचारका लागि अस्पताल जान सुझाव दिइएको छ,’ नगरपालिका उपप्रमुख सञ्जुकुमारी चौधरीले भनिन् । उनका अनुसार कोहलपुरस्थित लक्ष्मी माविका ३ सय २२ बालबालिकाको रगत परीक्षण गर्दा ३३ मा संक्रमण पाइयो । त्रिभुवन उमाविका १ सय ८९ को रगत परीक्षण गर्दा १५, ज्ञानज्योति मावि चप्परगौडीका १ सय ६१ मा १२, जनता मावि मैटहवाका २ सय २५ मा २५ मा सिकलसेल एनिमिया संक्रमण पाइएको छ । श्रीराम मावि बैजनाथपुरका १ सय ६८ मा ११, सगरमाथा माविका १ सय २६ मा १३ र सिद्धार्थ आधारभूत माविका १ सय ६२ मा ३३ बालबालिकामा सिकलसेल भेटिएको हो । 

वंशाणुगत उक्त रोगको पहिचान समयमै नहुँदा बिहेबारीपछि जन्मिने सन्तानमा सर्ने गरेको छ । उक्त रोगका बिरामीको शरीर, हाडजोर्नी दुख्ने, पटकपटक जन्डिस, रक्त अल्पता र निमोनियाको समस्या देखिने चिकित्सक बताउँछन् । सिकलसेलको पहिचान हुन नसक्दा अधिकांश पीडितले बाथ, युरिकएसिड, हाडजोर्नी र नसा रोगको औषधि सेवन गर्न बाध्य छन् । जानकारी नहुँदा रोग पत्ता नलागी थुप्रैले ज्यान गुमाइसकेका छन् । सरकारले सिकलसेल एनिमियालाई महामारीका रूपमा स्वीकार गरी थारू समुदायका लागि विशेष कार्यक्रम ल्याएको छ । सरकारले यस रोगका बिरामीलाई १ लाख रुपैयाँसम्मको निस्शुल्क उपचार गर्ने घोषणा पनि गरेको छ । त्यसका लागि परिचयपत्र जारी गरेको छ । रूपन्देही पश्चिमका दाङ, बर्दिया, कञ्चनपुर र कैलालीमा पुस्तौंदेखि एकै स्थानमा बस्दै आएका थारू समुदायमा उक्त रोगको संक्रमण देखिएको चिकित्सकले बताए । उक्त रोग पुस्तान्तरण हुँदै सर्दै गएपछि महामारी मानिएको हो । स्वास्थ्य अनुसन्धान परिषद्सँग त्रिभुवन विश्वविद्यालय ट्रफ अनुसन्धान प्रयोगशालाले थालेको अध्ययनमा पश्चिम नेपालका अविवाहित थारू समुदायका महिलाको डीएनए परीक्षण गर्दा १८ प्रतिशत व्यक्तिमा सिकलसेल हेटेरोजाइगोस ट्रेट पाइएको जनाएको छ । उक्त अनुसन्धानले ३ लाखभन्दा बढी थारू समुदायका व्यक्तिमा सिकलसेल रोगको गुण पाइएको र समयमै डीएनए परीक्षण गरी जेनेटिक परामर्शको व्यवस्था नगर्ने हो भने मुलुकले ठूलो क्षति बेहोर्नु पर्ने चेतावनी दिएको छ । भेरी अञ्चल अस्पतालमा हालसम्म ५ सयभन्दा बढी सिकलसेलका बिरामी फेला परिसकेका छन् । तीमध्ये अझै डेढ सय अस्पतालको सम्पर्कमा छन् । पीडित बिरामी दैनिक फेला पर्न थालेपछि रगत जाँचमा जोड दिइएको हो । भेरी अञ्चल अस्पतालमा सिकलसेलको नमुना परीक्षण व्यवस्था छ । उक्त जाँचका लागि निजी प्रयोगशालाले २ हजार रुपैयाँसम्म शुल्क लिने गरेका छन् । नवलपरासीमा पनि परीक्षण सुरुपरासी– थारू समुदायमा देखिने सिकलसेल एनिमिया रोगको पहिचानका लागि बर्दघाट नगरपालिकामा रगत जाँच गरिएको छ । वडा ४ मा बसोबास गर्ने थारू समुदायका व्यक्तिको रगत परीक्षण गरेर कार्यक्रम सुरु गरिएको हो । राता रक्तकोषको आकार असामान्य भई देखिने एक किसिमको मेडिकल जटिलतायुक्त समस्या नै सिकलसेल भएकाले थारू समुदायमा यो कार्यक्रम सञ्चालन गरिएको हो । वडाका ३ सय १८ ले रक्त परीक्षण गराएका छन् । बर्दघाट नगरपालिकाको आयोजना, चिसापानी अस्पताल र नेसनल प्याथ ल्याब बुटवलको प्राविधिक सहयोगमा रगत परीक्षण गरिएको थियो । सिकलसेल एनिमिया लागेमा मानिसमा रक्त अल्पता, जन्डिस, जोर्नी दुख्ने, फियो सुन्निने, एक्कासि छाती तथा पेट दुख्ने समस्या देखापर्छ । चिसापानी अस्पतालका सुपरिन्टेन्डेट डा। नुरुल होदाले स्थानीय तहमा कार्यरत स्वास्थ्यकर्मीलाई पनि यस रोगका बारेमा जानकारी गराएर सचेतना फैलाउनुपर्ने बताए ।

 २०७५ असार २६ गते १०:१८ मा प्रकाशित