समाचारमा बालबालिका

जुत्ता सिलाएर पढाइ खर्च

छायानाथरारा नगपालिकाको चरापगाउँका १२ वषर्ीय रामबहादुर विकले गमगढी बजारमा जुत्ता सिलाएर आफ्नो पढाइ खर्च धानिरहेका छन् । गमगढी बजारको सालिक नजिकै सानो टहरोमा उनी बाबुसँगै जुत्ता सिउँछन् । साँझ-बिहान जुत्ता सिलाउनेउनी समता स्कुलमा कक्षा १ मा अध्ययन गर्छन् । उनी बाबुसँगै गमगढीमै बस्छन् । बाबुको दुःख सम्झेर आफूले पनि जुत्ता सिलाउन थालेको उनले बताए । सुरुमा जुत्ता सिलाउँदा सियोले औंलामा घाउ भयो, उनले भने, हिजोआज त बानी परिसकेको छु । सबैखाले जुता बनाउन आउँछ मलाई । विद्यालय समयबाहेक उनी बिहान सबेरैदेखि राति अबेरसम्म जुत्ता बनाउने र मर्मत गर्ने काममा व्यस्त रहन्छन् । एक जोर छालाको जुत्ता बनाएवापत ९ सय रुपैयाँसम्म कमाउने गरेको उनको भनाइ छ । जुत्ता मर्मत गरेको २ सय रुपैयाँसम्म लिने गरेको उनले जनाए । बुवालाई सघाउँदै गर्दा सीपसमेत सिकेको छु, उनले भने, जुत्ता बेचेर कमाएको रकम बुबालाई राख्न दिन्छु, यसैबाट पढाइखर्च चलाइरहेको छु । घरको आर्थिक अवस्था कमजोर भएकाले आफूले एक वर्षदेखि जुत्ता सिलाइरहेको उनले सुनाए । छोराले सानै उमेरमा सीप सिकेर केही कमाउन थालेको उनका बाबु कर्मसिंहले बताए । आफूले लामो समयदेखि गमगढी बजारमा पुख्यौली पेसालाई निरन्तरता दिइरहेको उनको भनाइ छ । घरको आर्थिक अवस्था कमजोर भएपछि छोरालाई पनि जुत्ता सिलाउने काममा लगाएको हुँ, उनले भने, छोराले सघाउँदा कामका केही सहज भएको छ, आम्दानी पनि बढिरहेको छ । उनले समय मिलाएर छोरालाई गृहकार्य गराउने र घरमा पढाउने गरेको जनाए । रामबहादुरकी आमा बाँचकलीसहित दुई दिदी र दाइ गाउँमै बस्छन् । पर्याप्त जग्गा जमिन नहुँदा घरमा खान नपुग्ने समस्या रहेको कर्मसिंहले गुनासो गरे । गाउँमा कुनै रोजगारी नपाइएपछि सदरमुकाम आएर जुत्ता सिलाउने काममा लागेको उनले बताए । हामी बाबुछोराले कमाएको रकम घरखर्चका लागि गाउँमा पठाउने गरेका छौं, उनले भने, दुवैजनाले जुत्ता सिलाउन थालेपछि घरखर्च कटाएर केही रकम जम्मा हुन थालेको छ । उनले छोरालाई उच्च शिक्षा अध्ययन गराउने आफ्नो रहर रहेको सुनाए । छोराको लागिसमेत केही रकम जम्मा गर्न थालेको उनले जानकारी दिए।

२०७६ बैशाख २६ गते १०:३१ मा प्रकाशित