समाचारमा बालबालिका

बन्यजन्तु तस्करको एम्बुसमा एक बालकको मृत्यु, ३ घाइते

मोहना कारिडोरमा पर्ने शिवशक्ति सामुदायिक वन भित्र वन्यजन्तु चोरीतस्करी गर्ने समुहले थापेको विद्युतीय एम्बुसमा एक बालकको मृत्यु भएको छ । ३ बालक घाइते भएका छन् । गम्भीर अवस्थामा रहेका २ घाइतेलाई उपचारका लागि काठमाडौं लगिएको छ । धनगढी उपमहानगरपालिका- ११ बेला गाउँमा गएको शुक्रबार भएको घटनामा परि स्थानिय बाबुराम चौधरीको १२ वर्षीय छोरा अमन चौधरीको घटनास्थलमै मृत्यु भएको हो। उनीसँगै एम्बुसमा परेर सोही गाउँका तेजबहादुर खडायतका १३ वर्षीय छोरा अर्जुन, भक्तबहादुर पनेरुका १२ वर्षका छोरा सागर, र कर्णबहादुर कठायतका १२ वर्षका छोरा नविन घाइते भएका थिए। घाइते सागर र अर्जुनको अवस्था चिन्ताजनक छ। आइतवार दुवैजनालाई थप उपचारका लागि काठमाडौं लगिएको हो। जिल्ला प्रहरी कार्यालयका नायब उपरीक्षक बीरबहादुर बुढाले जंगलमा विद्युत पोलबाट तार तानेर करेन्ट विछ्याएका कारण उक्त घटना भएको बताए। ‘बेला गाउँबाट जंगल हुँदै शेहेयरी लगिएको हाइभोल्टेज विद्युतीय लाइनबाट चोरी गरि तानेको तारमा बालकहरु अल्झिन पुग्दा घटना भएको हो,’ डीएसपी बुढाले भने। घटनाको अनुसन्धान भइरहेको बुढाले बताए। वनखेतको जंगलमा सुगाको गुँड निकाल्न खोज्दा अमनको खुट्टा स्याउँला मुनि छोपिएको तारमा अल्झिँदा घटना भएको घाइते नविन कठायतले बताए। ‘अमनले खुट्टा अट्कियो भनेर हातले झिक्न खोज्दै थियो। स्याँउलामा झल्ल आगो बल्यो, उ ढल्यो,’ नविनले भने, ‘तानेर बचाउन खोज्दा सबैलाई करेन्टको झट्का लागेर पछारियौं,’ आफनो होश खुलेपछि रुँदै घरतिर आउँदा अरुले आएर अस्पताल पुर्‍याएको उनले बताए।

खेतमा गहुँ काटिरहेकाले घाइते तीनै जना रगताम्य भएर कराउँदै आइरहेको खेतमा देखे पछि उद्धार गरिएको सामुदायिक मेलमेलाप केन्द्रकी सहजकर्ता पुष्पा भट्टले बताइन्। घटनास्थलको करिब एक बिगाहा क्षेत्रमा आगो लागेको भट्टले बताइन्। मृतक अमनको पुरै शरीर डढेको थियो। उनले वन्यजन्तु तस्करीले थापेको एम्वुसमा बालकहरु परेको दाबी गरेकी छन्। भट्टका अनुसार त्यँही ठाउँमा एक साता अघि एउटा कुकुर पनि करेन्ट लागेर मरेको र केहि महिना अघि स्याउला बटुल्न गएकी शेहरीगाउँकी एक महिला करेन्ट लागेर घाइते भएकी थिइन्। गम्भीर अवस्थामा रहेका सागर र अर्जुनको काठमाडौंमा उपचार भइरहेको आफन्तले बताएका छन्। नविनलाई उपचार पछि घर लगिएको छ। ‘डाक्टरले भित्री असर छैन, बाहिर जिउमा मात्रै घाउ हुन, बिस्तारै ठिक हुन्छ भनेपछि घरमा ल्यायौं,’ नविनका बुवा कर्णबहादुरले भने। वडा नम्बर ११ का सदस्य उत्तम जोशीले बन्यजन्तु चोरी सिकारी हुने गरेको बताए। ‘उनीहरुलेनै थापेको एम्वुसमा परि गाउँका बच्चाको मृत्यु भयो’उनले भने, ‘ प्रहरी प्रशासन र सरोकार निकायले चोरसिकारीहरु खोजी गरेर कठघरामा उभ्याउनु पर्छ।’ उनले घटना भएको ३ दिनसम्म घटनामा संलग्नको पत्ता नलागेको बताएका छन। जिल्लाका प्रहरी प्रमुख बिनोद घिमिरेले विद्युतीय तार जंगलमा बिछ्याएर वन्यजन्तु तस्करी गर्नेको खोजी भइरहेको बताए। सामुदायिक उपभोक्ता समितिले आफ्नो वन क्षेत्रमा भइरहेको यस्ता गतिविधि नियन्त्रणका लागि बिशेष योजना बनाएर अघि बढ्नु पर्ने घिमिरेले बताए। सामुदायिक वनका अध्यक्ष जीतबहादुर रानाले चोरी सिकारी नियन्त्रणका लागि उपभोक्ता समितिले मात्रै नसक्ने हुँदा वन र प्रहरी प्रशासनको सहयोग चाहिने बताए।

 २०७४ चैत्र २६ गते १:११ मा प्रकाशित