समाचारमा बालबालिका

१७ दिनमा १२ बालविवाह रोकिए

चौरजहारी नगरपालिकाका विभिन्न ठाउँमा गरी १७ दिनमा १२ वटा बाल विवाह रोकिएका छन् । बाल क्लव, वडा बाल सञ्जाल, वडा बाल संरक्षण समिति, नगर बाल सञ्जाल, नगर बाल अधिकार संरक्षण तथा सम्बद्र्धन समिति र प्रहरीको सक्रियतामा बाल विवाह रोकिएको हो । जेठ २६ गते १६ वर्षीया बालका र १८ वर्षको बालकको विहे हुनबाट प्रहरीले रोक्यो । चौरजहारी नगरपालिका–१४ का दुवै जनाले उमेर नपुग्दै विहे गरेको खबर बाल क्लव गरेपछि प्रहरी चौकीले दुवैजनालाई सम्झाई बुझाई अभिभावकलाई जिम्मा लाएको थियो । त्यस यता ५ वटा वडामा भएका तथा हुने तयारीमा रहेका १० वटा बाल विवाह प्रहरीले रोकेको हो । बुधबार नगर बाल सञ्जालको सक्रियतामा चौरजहारी नगरपालिका–५, मा हुन लागेको विहे रोकेको छ । कानूनी रुपमा पनि अबैधानिक हुने र सानै उमेरमा बाल विवाह गर्दा चौतफी विकास बन्द हुने भन्दै बालबालिका आफैले बाल विवाह रोक्ने अभियान चलाइरहेका छन् । बुधबार विहेको अन्तिम तयारीमा रहेका १७ वर्षीया बालिका र १८ वर्षको केटाको विहे रोकिएको नगर बाल सञ्जालका अध्यक्ष जनक आचार्यले बताए । ‘कतिपय अवस्थामा अभिभावक र कतिपय अवस्थामा बालबालिका आफैले विहे गर्ने गरेका छन्, हामी सकेसम्म बाल विवाह अन्त्य गर्ने अभियानमा छौं,’ आचार्यले भने ।

यसैगरी, चौरजहारी–१०, का १८ वर्षीय बालक र १४ की १७ वर्षीया बालिकाबीच भएको विहे पनि प्रहरी चौकी नुवाकोटले रोक्यो । चौरजहारी–१३, की १५ वर्षीया बालिका र १७ वर्षीय बालक, चौरजहारी नगरपालिका–१०, १७ वर्ष उमेरका बालक तथा बालिका, चौरजहारी नगरपालिका–१४, की १६ वर्षीया बालिका र १८ वर्षीय बालकको विहे रोकिएको छ । चौरजहारी नगरपालिका–१४, कि १६ वर्षीया बालिका र १८ बर्षको बालकबीच हुन लागेको विहे बालबालिका र अभिभावकलाई सम्झाई बुझाई रोकिएको छ । सोही वडाको १७ वर्षीया बालिका तथा १७ वर्षकै बालकबीचको विहे, चौरजहारी–१४ कै १८ वर्षीय बालक र सानीभेरी गाउँपालिका–२, १७ वर्षीया बालिकाबीचको विहे, चौरजहारी नगरपालिका–१३, का १७ वर्षीय बालक र सल्यान दार्मा गाउँपालिकाकी १८ वर्षीया बालिकाबीचको विहे रोकियो । यस्तै गरी चौरजहारी नगरपालिका–१४ का १७ वर्षीय बालक र सानीभेरी गाउँपालिका–८, की १९ वर्षीया बालिकाबीच र त्रिवेणि गाउँपालिका–९, १९ वर्षको बालक र १९ वर्षीया बालकबीचको विहे रोकिएको हो ।

२०७५ असार १४ गते ११:१६ मा प्रकाशित