समाचारमा बालबालिका

​पराल हाल्न गएकी बालिका बलात्कृत

गाईलाई गोठमा पराल हाल्न गएकी सिरहा नगरपालिका –३, की ११ वर्षीया बालिका बलात्कृत भएकी छिन् । गाउँमै मिलापत्र गरी घटना गुपचुप गर्न लागे पनि बालिकाको रक्तश्राव नरोकिँदा घटना दुई दिनपछि सार्वजनिक भएको हो । बिहीबार बेलुका घर नजिकै रहेको गोठमा गाईवस्तुलाई पराल हाल्न गएकी बालिकालाई मदिराले लठ्ठिएका गाउँकै २४ वर्षीय सुरेश ठाकुरले मुख थुनेर बलात्कार गरेको प्रहरीले जनाएको छ । बलात्कारपछि अत्यधिक रक्तश्रावपछि उनलाई उपचारका लागि जिल्ला अस्पताल सिरहा ल्याइएको थियो । सिरहा अस्पतालमा उपचार सम्भव नभएपछि लहानको एक निजी अस्पतालमा उपचार भइरहेको जनाएको छ । बालिकाको उपचार भइरहेको भए पनि अवस्था अझै गम्भीर रहेको जनाएको छ । जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख प्रहरी एसपी शेखर कोइरालाका अनुसार बलात्कारमा संंलग्न ठाकुर फरार रहेकाले पक्राउ गर्न प्रहरी परिचालन गरिएको जानकारी दिनुभयो । एसपी कोइरालाले पीडित परिवार बालिकाको उपचारमा लागेकाले ढिलो गरी मात्र किटानी जाहेरी परेकाले चाँडै नै फरार ठाकुरविरुद्ध मुद्दा दर्ता प्रक्रिया सुरु गरिएको बताउनुभयो । घटनाको सूचना पाएलगत्तै ठाकुरलाई पक्राउ गर्न प्रहरी टोली गाउँ पुगे पनि बाबु रामलखन ठाकुर र दाजु जमिन ठाकुरले आरोपीलाई भगाएको प्रहरी उपरीक्षक कोइरालाले  बताउनुभयो । उहाँले भने ‘मुख्य आरोपी फरार गराइएपछि तत्काल अनुसन्धानका लागि मतियारको काम गर्ने बाबु र दाजुलाई नियन्त्रणमा लिएका छौं ।

२०७४ माघ २७ गते १:५१ मा प्रकाशित