घटना, सूचना र समाचार

राष्ट्रिय बाल अधिकार परिषद्को समुद्घाटन समारोह

मिति २०७६/३/१ गते बुधबारका दिन एक भव्य समारोहका बीच माननीय मन्त्री श्री थममाया थापाज्यूबाट राष्ट्रिय बाल अधिकार परिषद्को समुद्घाटन कार्यक्रम सम्पन्न भएको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सचिव श्री चन्द्र कुमार घिमिरेज्यूको अध्यक्षतामा सम्पन्न कार्यक्रममा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका माननीय मन्त्री श्री थममाया थापाज्यूको प्रमुख आतिथ्यता, राष्ट्रिय मानव अधिकार आयोगका माननीय सदस्य श्री मोहना अन्सारीज्यू, नागरिक समाजका प्रतिनिधि एवम् बालअधिकारकर्मी श्री गौरी प्रधानज्यू, महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सह सचिव श्री बीर बहादुर राईज्यू, प्रहरी प्रधान कार्यालयका प्रहरी नायब महानिरिक्षक श्री पिताम्बर अधिकारीज्यू, केन्द्रीय बाल कल्याण समितिका पूर्व अध्यक्ष श्री डिल्लीराम गिरीज्यू, केन्द्रीय बाल कल्याण समितिका कार्यकारी निर्देशक श्री कृष्ण प्रसाद भुसालज्यू  लगायतको आतिथ्यतामा सञ्चालन भएको कार्यक्रममा सरकारी तथा गैरसरकारी निकायका प्रतिनिधिहरु, बालबालिका, बालअधिकारकर्मी एवम् पत्रकारहरुको उल्लेखनीय उपस्थिति रहेको थियो ।

कार्यक्रमको सुरुवात राष्ट्रिय गानबाट गरिएको थियो भने स्वागत मन्तव्य केन्द्रीय बाल कल्याण समितिका कार्यकारी निर्देशक श्री कृष्ण प्रसाद भुसालज्यूले राख्नुभयो । उहाँले समितिको तर्फबाट सबैलाई स्वागत गर्दै राष्ट्रिय बाल अधिकार परिषद् गठन भएकोमा खुशी व्यक्त गर्नुका साथै बालबालिका सम्बन्धी ऐन २०७५ का बारेमा संक्षिप्तमा जानकारी गराउनु भएको थियो । परिषद्ले आगामी दिनमा बाल अधिकारको क्षेत्रमा अझ संवेदनशील भएर काम गर्ने र यसले बाल अधिकारको मुलभूत पक्षलाई आत्मसात् गर्दै अघि बढ्ने भएकोले सो का लागि सबै सरोकारवालाहरुको साथ र सहयोग आवश्यक रहने बताउनु भयो । उक्त स्वागत मन्तव्य पश्चात माननीय मन्त्रीज्यूबाट राष्ट्रिय बाल अधिकार परिषद्को व्यानर अनावरण गर्नुका साथै बालबालिका खोज तलास समन्वय केन्द्र १०४ लाई जोखिमपूर्ण अवस्थामा रहेका बालबालिकाको उद्दार, पुनस्र्थापना तथा पुनर्मिलन कार्यका लागि मिनीबस हस्तान्तरण गर्नु भएको थियो  ।
शुभकामना मन्तव्यकै क्रममा केन्द्रीय बाल कल्याण समितिका पूर्व अध्यक्ष श्री डिल्लीराम गिरीज्यूले बालबालिकाको विषय सबैको सरोकारको विषय भएको हुँदा सबैको जिम्मेवारी, प्रतिवद्धता, क्रियाशीलता र संवेदनशीलताको लागि अनुरोध गर्दै बालअधिकार सम्मत कार्यक्रमहरुको व्यवहारिक कार्यान्वयनको पूर्ण सफलताको कामना व्यक्त गर्नुभयो । यसैगरी नागरिक समाजका प्रतिनिधि श्री गौरी प्रधानज्यूले विद्यमान कानून तथा नीतिहरु स्रोत र साधनको अभावमा बाल हित सम्बन्धी जति राम्रो योजना, कार्यक्रम बनाएता पनि प्रभावकारी हुन नसक्दा बाल यौन दुव्र्यवहार, हिंसा, शोषण जस्ता आदि समस्याहरु जल्दोबल्दो रुपमा रहेको बताउँदै यी र यस्ता समसामयिक विषयहरुलाई तत्काल सम्बोधन गर्नुपर्ने र बालबालिका सम्बन्धी ऐन २०७५ लाई परिमार्जन गर्न आवश्यक रहेको बताउनु भयो । राष्ट्रिय मानव अधिकार आयोगका माननीय सदस्य श्री मोहना अन्सारीज्यूले शुभकामना दिदै सरोकारवालाहरुले नीति, नियम र कानुन बनाउँदा बालसंवेदनशील भएर बनाउन आग्रह गर्नुभयो ।

यसैगरी माननीय मन्त्री श्री थममाया थापाज्यूले विगतमा भएका बाल अधिकारको सम्मान, संरक्षण, परिपुर्ति र पालनाको क्रममा हासिल गरिएका राम्रा अभ्यासलाई निरन्तरता दिँदै बालबालिका लक्षित आगामी प्रयासलाई अझ बढी नतिजामुखी बनाउन केन्द्रीय बाल कल्याण समितिलाई रुपान्तरण गरी बालबालिकासम्बन्धी ऐन, २०७५ मा व्यवस्था भएबमोजिम राष्ट्रिय बाल अधिकार परिषद्को उद्घाटन भएको जानकारी गराउँदै मुलुकमा बाल अधिकार र संरक्षणको विषयमा संघ, प्रदेश र स्थानीय तह लगायत विकासका साझेदार संस्थाहरुबीच यस परिषद्ले समन्वय, सहजीकरण र विज्ञ निकायको भूमिका निर्वाह गर्ने विषयमा आफू विश्वस्त रहेको तथा परिषद्को लागि आवश्यक पूर्वाधार र क्षमता विकास गर्न नेपाल सरकार सदैव तत्पर रहने जानकारी गराउनु भयो । कार्यक्रममा समापन मन्तव्य राख्दै महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सचिव श्री चन्द्र कुमार घिमिरेज्यूले पूर्ववक्ताहरुबाट उठाएका केही सवालहरुलाई सम्बोधन गर्नुका साथै बालबलिकाको जीवनमा सकारात्मक परिवर्तन ल्याउने कार्यमा सबैलाई सहयोगको लागि आव्हान गर्दै बाल अधिकार सुनिश्चिततातर्फ अझ सशक्त रुपमा अग्रसर हुन सबै तहका सरकार, विकासका साझेदारहरु लगायत आम नागरिकलाई आ–आफ्नोतर्फबाट सहयोग गर्न आह्वान गर्नुभयो ।

0 Comments

Leave your comments

Make sure you enter the(*)required information where indicate.HTML code is not allowed